बादल खोइ ?

बादल खोइ ?

धेरै दिनदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षायाममा वर्षा हुनु कुनै अनौठो कुरो त होइन । वर्षा भनेकै वर्षा याममै हुने हो । वर्षा याम लागेकै कारणले नेपालमा पनि वर्षा भइरहेको होला । यसमा कुनै शंका रहेन ।

अब अनौठो के भइदियो भने देशमा यत्रो वर्षा भइरहेको छ, तर ‘बादल’ भने कहीँ देखिँदैन । अचेल कता छ हँ ‘बादल’ ? अरु बेला त बादल देखिँदैन, त्यो ठीकै हो । बादल लाग्नुपर्ने वर्षा याममै बादल देखिँदैन भने त्यो त अनौठै भयो ।

यदि आकाशमा बादलै छैन भने वर्षा कसरी हुन्छ ? यो सम्भव छैन । तर असम्भव भए पनि भइरहेको यही हो । वर्षा भइरहेको छ, तर ‘बादल’ कहीं देखिँदैन । पहिले पहिले यो वर्षाको बेला टाइम टाइममा बादल गर्जने गथ्र्याे । अहिले बादलै छैन त गर्जन कसरी ?

बादल लागेपछि आकाश सफा देखिँदैन । आकाश सफा भएन भने सूर्य छेकिने सम्भावना हुन्छ । शायद सूर्य स्पष्ट देखियोस् भनेर पो कसैले ‘बादल’ हटाइदिएको हो कि ?

यदि आकाशमा कुनै बादलले सूर्य नै छेक्दैन भने त्यो बादलको के काम ? त्यसलाई त हटाउने नै हो । अहिलेसम्म कसैले बादल हटाइसक्यो भनेको त सुन्न पाइएको छैन । तै पनि बादल देखिएको पनि छैन । कता छ हँ अहिले ‘बादल’ ?

टिप्पणीहरू