माओवादीमा पनि अन्तर्घातको महाभारत

माओवादीमा पनि अन्तर्घातको महाभारत

गत स्थानीय तह निर्वाचनताका देशका विभिन्न स्थानमा भएको अन्तर्घातबारे माओवादी कार्यदलले हेडक्वार्टरलाई रिपोर्ट पेश गर्नै लागेको छ । टंक राई, मुक्ति प्रधान र खिमलाल देवकोटा सम्मिलित कार्यदलले पूर्वमा सिराहादेखि पश्चिममा बर्दियासम्म पुगी अन्तर्घातको अध्ययन गरेको हो । असार २७ गते बनेको उक्त कार्यदलले १५ दिनभित्र रिपोर्ट पेश गर्नुपर्ने समयसीमा थियो । तर, बल्ल भोलि–पर्सितिर रिपोर्ट जाने भएको एक सदस्यले जनआस्थालाई बताए ।
निर्वाचनमा महोत्तरी जिल्लाबाट गिरिराजमणि पोखरेलका मान्छेले उनैका अर्का विश्वासिलालाई हराएको आरोप छ । मेयरका उम्मेदवार राजु खड्का थिए । उनले आफूलाई गिरिराजको नातेदारसमेत रहेका प्रकाश पोखरेलले हराएको उजुरी दिए । बर्दिबासमा माओवादीले पहिला एकलौटी जितेको थियो । त्यहाँ ‘आधारशीला’ नामक कम्युन पनि चलाइएको छ । अहिले ‘कम्युन’ भित्रै कचिंगल छ । राजुले स्वतन्त्र उम्मेदवार प्रल्हादकुमार क्षेत्रीसँग ५ हजार आठ सय ८७ मतले हारेका छन् ।

सिराहामा नेता विश्वनाथ साहका दाइ देवनाथ मेयरमा उठेका थिए । त्यहाँ पहिला पनि माओवादीले नै जितेको हो । अहिले एमालेका श्यामकुमार श्रेष्ठसँग देवनाथले २२ सय ७ मतले हारे । देवनाथलाई हराउन रामचन्द्र महतोलाई बागी बनाइएको थियो । तर, उनले पनि ९ सय ७५ मतमात्रै ल्याए । यही झगडामा गठबन्धन भाँडियो । कांग्रेसले अलग्गै उम्मेदवार उठाएर ४ हजार ६ सय ५९ मत ल्यायो भने जसपाले ३ हजार ९ सय २१ मत पायो ।

यदि गठबन्धन कायम भएको भए माओवादीकै बागीबाट हार नहुने स्थिति थियो । बर्दियामा पनि माओवादीले धेरै ठाउँ गुमाएको छ । कार्यदलले सोधपुछ गरेलगत्तै राजापुरका निवर्तमान मेयर शिव थारुसहितका कार्यकर्ता एमालेमा गए । जित्ने मेयर पनि माओवादीकै हुन्, दिपेश थारु । उनलाई प्रदेशसभा सदस्यबाट राजीनामा दिन लगाएर मेयरमा उठाइएको थियो । पहिलाका मेयर शिवले ‘भएको मेयरलाई नदोहो¥याउने हो भने सांसद रहिरहेको मान्छेलाई चाहिँ यता ल्याएर कसरी टिकट दिइयो त ?’ भन्ने प्रश्न उठाउँदै आएका थिए ।

टिप्पणीहरू