नागरिकता माग्दै राष्ट्रपतिलाई चिठी

नागरिकता माग्दै राष्ट्रपतिलाई चिठी

संघीय संसद्को दुबै सदनबाट पारित भएर राष्ट्रपति कार्यालय पुगेको नागरिकता विधेयक रोक्न शीतल निवासमा दिनहुँ भीड लागिरहेका बेला तराईबासी चार जना नागरिकताविहीनहरुले तत्काल विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।

अर्जुन साह, सुरज चौधरी, बादलकुमार र त्रिभुवन सिंह नाम गरेका चार जना युवाले राष्ट्रपतिलाई आज पत्र लेख्दै नागरिकता ऐन २०६३, संशोधन विधेयक अविलम्ब प्रमाणीकरण गर्न अनुरोध गरेका हुन् । नागरिकता नहुँदाको पीडा पोख्दै उनीहरुले विधेयक प्रमाणीकरण गरी जारी गरेर नागरिकता पाउने आफूहरुको अधिकारको सम्मान गर्न आग्रहसमेत गरेका छन् ।

संविधानले सम्पूर्ण नागरिकले नागरिकता पाउने हक सुनिश्चित गरे पनि हालसम्म नागरिकता पाउन नसकेको उनीहरुको दुःखेसो छ । पत्रमा भनिएको छ, ‘संविधानबमोजिम नागरिकतासम्बन्धी संघीय कानुन नबनेका कारण हामीजस्ता असंख्य नागरिकहरु नागरिकता पाउनबाट वञ्चित भएका छौं ।’नागरिकता नहुँदा रोजगारी, उच्च शिक्षा, बैंक खाता खोलुन्, मताधिकारजस्ता आधारभूत अधिकार खोसिएको पत्रमा उल्लेख छ । नागरिकता ऐन संशोधन विधेयकले थुप्रै नागरिकको समस्या सम्बोधन गर्ने आशा पलाउन नपाउँदै निमोठ्न खोजेको आरोपसमेत उनीहरुले लगाएका छन् ।

कतिपय व्यक्तिहरुले नागरिक समाजको नाममा राष्ट्रपति कार्यालयबाट विधेयक प्रमाणीकरण नगरीका संसदमा फिर्ता पठाउन जोडबल गरेको समाचार प्रकाशित भइरहँदा नागरिकताविहीनहरु हारगुहार गर्दै बाहिर आउन थालेका हुन् । अदालतले विभिन्न व्यक्तिको नाममा नागरिकता दिनु भनेर आदेश जारी गर्दा पनि जिल्ला प्रशासन कार्यालयहरुले अटेर गरेको पनि उनीहरुको गुनासो छ ।

नागरिकता विधेयक अनुमोदन भएमा वर्षौंदेखि जकडिएको समस्या समाधान हुने उल्लेख गर्दै युवाहरुले राष्ट्रपति भण्डारीको गम्भीर ध्यानाकर्षण गराएका छन् । विधेयक राष्ट्रको हितमा भएकाले तत्काल प्रमाणीकरण गरी जारी गर्न उनीहरुको सुझाव छ ।

टिप्पणीहरू