ए पुरुष, हामी तिम्रो गुडिया हैनौं

ए पुरुष, हामी तिम्रो गुडिया हैनौं

तिम्रा लागि नारी को हुन् ?
घरपरिवारको बोझ ?
पोइल जाने जात ?
बाबुआमाको इज्जत ?
कुनै पुरुषको खुट्टाको धूलो ?
सन्तान पैदा गर्ने मेसिन ?
घरपरिवार र सन्तान थामिराख्ने पर्खाल ?
कि देवी ?
कि तिम्रो घरकी लक्ष्मी ?
कि आमा ?
कि ममताकी खानी
कि को ??

नारी–यो शब्दलाई मात्रै २–३ पटक उच्चारण गर्नु त, कस्तो अनुभूति हुन्छ ! नारी नारी नारी, मन्द मन्द मुस्कुराउन मन लाग्दैन ? लाग्छ नि है ? खै खै एकपल्ट उच्चारण त गरी हेर्नु, पक्कै मुस्कुराउनु हुनेछ । तिमीलाई जन्म दिने नारी । तिमी जन्मिएको कोखबाट जन्म लिएकी दिदीबहिनी नारी । तिमीलाई जीवनकालसम्म पवित्र साथ र प्रेम दिने नारी । विद्याकी देवी सरस्वती माता नारी । धनकी माता लक्ष्मी पनि नारी । यत्र तत्र सर्वत्र नारी नै नारी । जीवनमा उन्नति, प्रगति अनि सफलतामा गर्व गर्न त्यति धेरै ठाउँ नभए पनि म खुशी नै छु, किनकि प्रकृतिले नै मलाई गर्व गर्ने ठूलो आधार दिएकी छन् ।

मलाई नारी भएर जन्मिनुमा एकदमै गर्व छ । नारीको मतलव एक कोमल आत्मा । मातृत्वको अथाह भावसागर । हो, म नारी हुँ र यही नै मेरो निम्ति गर्वको कुरा हो । मसँग कोमल ठ्याक्कै नौनीजस्तो हृदय छ । मसँग युद्ध भूमिमा निडर भई तरबार चलाउन सक्ने ठूलो हिम्मत छ । माया बाँड्न सक्ने, ममता छर्नसक्ने अनि समग्र मानव जातिको श्रृष्टि चलायमान राख्न सक्ने प्राकृतिक गुण छ । नारी धर्ती हो मानव जातिको । अनेक दुःख सहेर नारीले मानव जातिको फूल उमार्छे, हुर्काउँछे, फुलाउँछे, फक्राउँछे, आफ्नै ख्याल पर्वाहबेगर किनकि सृष्टि अघि बढोस्, दुनियाँ चलायमान बनोस् ।

पितृसत्ताको बदलामा मातृसत्ता होइन मात्र समानताको माग गर्छन् नारी । यस्तो समानता कि छोरा र छोरीमा कुनै प्रकारको भेद नहोस् । समाज यस्तो बनोस् कि कुनैपनि व्यक्ति महिला भएकै कारण अधिकारबाट वञ्चित हुनु नपरोस् । सम्पत्तिको अधिकार छोरा र छोरीमा समान होस् । महिला भएकै कारण उसले सामाजिक उपेक्षाको सामना गर्नु नपरोस् । महिला भएकै आधारमा उसलाई छाउगोठमा नराखियोस् । अनि महिला भएकै आधारमा दोस्रो दर्जाको व्यवहार नहोस् । कुनै पनि महिलालाई पुरुषभन्दा कमजोर नठानियोस् । महिला र पुरुषको जन्म एकै ठाउँबाट हुन्छ भने विभेद केका लागि ? हिटलर के आकाशबाट खसेको हो र ? हिटलर जन्माउने पनि त एक नारी हुन् । हिटलर जन्माउने नारी हिटलर हुन पनि सक्छिन् । थाहा छ नि दुर्गा माता पनि एक नारी हुन् भन्ने ?

नारी कतै बाध्यताले वेश्या बन्छे र उसलाई वेश्याको उपनाम दिइन्छ तर त्यही वेश्यालय धाउने पुरुषलाई पुरुष वेश्या भनेको पाइँदैन ।

नारीको जन्मले बाबुआमालाई दुःख हुने होइन क्या । पराई घरमा जान्छन्, टाढा हुन्छन्, मर्दा पर्दा साथ हुँदैनन् भन्नेसम्म डर हो । यो डर अन्त्य गर्न नारीलाई पेटमै अन्त्य गर्ने होइन नि, पराई घरमा जानुपर्ने चलन चल्तीलाई अन्त्य गर । यदि नारीको ठाउँमा पुरुष पराई घरमा जानुपर्ने भए सायद पुरुषको पनि आमाको पेटभित्रै अन्त्य हुने थियो होला । यो पराई घर जाने जात जन्मिएर के गर्नु ? यस्तै–यस्तै वचन सुन्नुपथ्र्याे होला । छोरीलाई विवाहपश्चात् घर व्यवहार, भान्सा, परिवार सम्हाल्नुपर्छ भनी सिकाइनु तर छोरालाई घर व्यवहारमा सामेल नगराइनुमा दोष कसको ? हाम्रै समाजको होइन र ? महिला सवल छे, सक्षम छे, पुरुष बराबर आफूलाई उभ्याएकी छे तर पनि घरभित्र उसलाई निरिह बनाइन्छ । हरेक दिन परिवारको चाहना र निर्देशनअनुसार आफूलाई ढाल्न सकिन भने ऊ, अलच्छिनी, कुलंगारलगायत गालीगलौजको शिकार बन्न बाध्य हुन्छे ।

हाम्रो समाजमा आज पनि एक महिलालाई विवाह गरेर भिœयाएकै दिनबाट उसको सीप, क्षमता र दक्षताका आधारमा हैन, गरेका काम र व्यवहारमा देखिने झिनामसिना कमी कमजोरीको खोट खोजेर मूल्यांकन गर्न थालिन्छ । घामको झुल्कोभन्दा पहिले शुरु हुने उसमाथि थोपरिएका घरधन्दाका कर्मसँग, जुन कुरामा दक्ष र पारंगत नहुन पनि सक्छिन्, उसको अब्बलता तुलना गर्ने गरिन्छ । यति हुँदा पनि अनेक प्रश्न उठाइन्छ । कतै नैतिकताको प्रश्न, कतै बोक्सी त कतै चरित्रको सवाल । के गर्न हुने के नहुने, उसका लागि के सही, के गलत यो समाजले उसकै लागि नियम कानुन बनाएको छ । अहिले आएर समानताको कुरा गरिन्छ । नैतिकवान, चरित्रवान, सुशील, संस्कारी आदि–आदि ।

त्यही नियम परिधिभित्र नरनारीलाई सँगै राख्नुपर्ने । नारीलाई यी नियमले कतै छोएको पाइँदैन । कुनै पनि नियमको निर्माण गर्दैमा समानताको लाइन शुरु हुन्छ र ? नारी कतै बाध्यताले वेश्या बन्छे र उसलाई वेश्याको उपनाम दिइन्छ तर त्यही वेश्यालय धाउने पुरुषलाई पुरुष वेश्या भनेको पाइँदैन । यौनको प्यास मेटाउन बेश्यालय जाने त्यो पुरुष धर्मात्मा पक्कै हैन । नारी धर्ती हो, धर्तीमा जे रोप्यो त्यही फल्छ । गुलाफ रोपेर चन्दन फल्दैन, ऐंसेलु रोपेर टिम्मुर फल्दैन । रोप्ने काम नारीको होइन भने जे रोप्यो त्यही फल्यो, रोप्नेमै खराबी छ भन्ने कुरा किन बुझिँदैन ? किन नारीलाई नै दोष लगाएर बहुबिवाह गरिन्छ ? आफ्नी छोरीलाई नपढाउने समाजले नै बुहारी भने पढेलेखेको खोज्छ ।

झापा, दमकस्थित हिमालयन टि गार्डेनमा वर्षौंपहिले भएको एउटा घटनाबाहेक अहिलेसम्म कुनै महिलाले पुरुषलाई बलात्कार  गर्यो भन्ने सुन्नुभएको छ ? पुरुषहरू यौनमा किन यत्ति गतिछाडा हुन्छन् ?

सँगै कार्यालयको काम सकेर फर्कने महिला घर पुगेपछि बालबच्चा, परिवार अनि घरायसी काममा सक्रिय हुन्छन् भने पुरुष आराम वा व्यक्तिगत क्रियाकलापमा लाग्छन् । शारीरिक र मानसिक परिश्रम हेर्ने हो भने पुरुषले भन्दा महिलाले बढी गरिरहेका हुन्छन् । अचेल मृत्युको भयभन्दा पनि बलात्कृत हुन्छु कि भन्ने भय कति विशाल भएको छ है ? महिलाहरू कमजोर हुन्छन्, विवाह गरेर ल्याउने जात हो अनि हामीले भनेको मान्नुपर्छ र हामीभन्दा तल हुनुपर्छ भन्ने मानसिकताको विकास हुन दिनु हुँदैन । पुरुषलाई भन्दा महिलालाई ६ गुना बढी यौनरुचि हुन्छ भनिन्छ । तर, महिलाहरू पुरुषजस्तो उग्र र अनियन्त्रित हुँदैनन् ।

आफ्नो प्यास मेटाउनका लागि अरुलाई सिकार बनाउँदैनन् । झापा, दमकस्थित हिमालयन टि गार्डेनमा वर्षौंपहिले भएको एउटा घटनाबाहेक अहिलेसम्म कुनै महिलाले पुरुषलाई बलात्कार गर्यो भन्ने सुन्नुभएको छ ? पुरुषहरू यौनमा किन यत्ति गतिछाडा हुन्छन् ? हाम्रै समाजमा यतिसम्म डरलाग्दो पुरुष छन्, जो आफ्नो यौनप्यास मेटाउनका लागि एउटा नावालक बच्चीलाई समेत घिनलाग्दो आँखाले हेर्छन् । बलात्कार गर्ने पुरुष शिर उठाएर हिँड्छ अनि बलत्कृत हुने महिला शिर झुकाएर हिँड्छन् किनकि हाम्रै नेपाली समाजले बलत्कृत भएका महिलाहरूको जीवनमा ग्रहण लगाइदिन्छ । बलात्कृत भएकालाई समाजले सहजै स्विकार्दैन ।

अझ दुःखलाग्दो त के भने उनीहरूको विवाह हुने सम्भावना निकै कम हुन्छ । एकपटक बलात्कृत भइसकेपछि दाम्पत्य सुख गुमाउनुपर्ने अवस्था छ । समाजकै डर र लाजले उनीहरू नयाँ जीवन शुरु गर्न सकिरहेका हुँदैनन् । बाँच्न त बाँच्लान् तर जिउँदै मरेतुल्य जीवन । प्रिय पुरुष महोदय, नारी तिमीलाई मन लागेको बेला उपभोग गर्ने वस्तु होइन । तिम्रो इशारामा नाच्ने कठपुतली होइन । तिमीले मन लागे जसरी खेलाउने कुनै गुडिया होइन ।

नारी धर्ती माता हुन् । 
नारी देवी हुन् । 
नारी अदृश्य शक्ति हुन् ।

नारी संसारको एक अभिन्न अंग हुन् जो बिना संसार चल्न सक्दैन । नारी धर्ती माता हुन् जसले संसारलाई थामेकी छन् । नारी करुणाकी गाथा हुन् जसले दुनियाँलाई माया गरी बाँच्न सिकाएकी छन् । नारी एक अटल र निडर शक्तिवान देवी हुन् जसले आफू रोएर पनि सन्तानलाई हँसाउन जानेकी छन् । आफू मरेर अरुलाई जीवन दिन जानेकी छन् । आफू जलेर अरूलाई उज्यालो दिएकी छन् । जहाँ नारी हुन्छिन् त्यहाँ पूर्णिमाको जूनझैँ उज्यालो हुन्छ ।

(तीज पर्व विशेष)

टिप्पणीहरू