बेलायतको नेपाली भेला भाँड्न प्रधानमन्त्री पत्नी आरजूको प्रयोग ?

बेलायतको नेपाली भेला भाँड्न प्रधानमन्त्री पत्नी आरजूको प्रयोग ?

झण्डै साढे ११ हजार पञ्जीकृत सदस्य भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) युके अहिले अस्तित्व जोगाउन संघर्षरत अवस्थामा पुगेको छ । औपचारिक विभाजन नभए पनि अहिले संघभित्र पूर्वअध्यक्ष शेष घले र कुल आचार्य पक्षको दोहोरो तानातानले संस्था नराम्रोसँग गिजोलिन लागेको छ ।

पछिल्लो उदाहरण संघको वार्षिक साधारणसभा बनेको बताइन्छ । गत शनिवारको ११ औं वार्षिक साधारणसभाको पूर्व सन्ध्यामा कार्यसमितिका २४ जना पदाधिकारीले संयुक्त वक्तव्य जारी गर्दै संस्थाको आधिकारिक साधारणसभा नभएको दाबी मात्र गरेनन्, बहिष्कारको घोषणा नै गरिदिए ।

अध्यक्ष प्रेम गाहामगरले आह्वान गरेको साधारणसभालाई संस्थाको विधि र प्रक्रियाविपरित भएको एकथरिले आरोप लगाएका छन् । सोहीबमोजिम कार्यसमितिका बहुमत पदाधिकारीले बहिष्कारको घोषणा नै गरेका थिए ।

कार्यक्रमको स्वरूप, एजेन्डा र सहभागी सदस्यलगायत विषयमा कार्यसमितिमा कुनै छलफल वा सहमति नगरी अध्यक्षले ’एकलौटी’ गरेको आरोप लगाइएको छ । बेलायतभित्रै रहेका एनआरएनए आइसीसीका पदाधिकारी एवम् सदस्यहरुलाई कार्यक्रममा प्रतिबन्ध लगाइएको आरोप पनि संयुक्त वक्तव्यमा छ ।

‘आचार्यले प्रधानमन्त्री पत्नीलाई आग्रह गर्दै राजदूतलाई साधारणसभामा नजान उर्दी जारी गरे ।’

एनआरएनए युकेको ३३ सदस्यीय कार्यसमितिका २४ पदाधिकारी एवम् सदस्यले बहिष्कारको घोषणा गर्दै हस्ताक्षर गरेपछि अध्यक्ष गाहामगर अल्पमतमा परेको बताइन्छ । कार्यसमितिका छ जना पदाधिकारीमा उपाध्यक्ष, महासचिव,एक सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्षका साथै वेल्स,स्कटल्याण्ड र नर्दन आयरल्यान्डसहित तीन राज्य समन्वय परिषदका अध्यक्षहरु पनि बहिष्कारमा उत्रिएका हुन् ।

वर्तमान अध्यक्ष कुल आचार्यलाई पत्तोसमेत नदिएर पूर्वअध्यक्ष शेष घलेलाई कार्यक्रममा निम्त्याएपछि आचार्य समूह चिढिएको हो । तर, अध्यक्ष गाहामगरले शेष घलेको उपस्थितिमा शनिवारको साधारणसभा गरेरै छाडेका छन् ।

सबैभन्दा रोचक पक्ष त्यतिबेला बन्यो जब प्रमुख अतिथि बनाइएका राजदूत ज्ञानचन्द्र आचार्य हल नजिक पुगेर पनि बाहिरैबाट फर्किए । गाहामगर पक्षले आरोप लगाएको छ, ‘आचार्यले प्रधानमन्त्री पत्नीलाई आग्रह गर्दै राजदूतलाई साधारणसभामा नजान उर्दी जारी गरे ।’

साधारणसभामा प्रमुख अतिथिको रुपमा सहभागी हुन ‘कन्फर्म’ गरिसकेका राजदूत आचार्य अन्तिम समयमा अनुपस्थित भएपछि उनीप्रति आयोजक र सहभागी रिसले आगो भएको बताइन्छ । सोही कार्यक्रममा सहभागी बेलायतस्थित झण्डै तीन दर्जन नेपाली संघसंस्थाका प्रतिनिधिले संयुक्त वक्तव्य जारी गर्दै राजदूतको भूमिकाप्रति खेद व्यक्त गरेका छन् ।

विभिन्न ३३ वटा संस्थाका अध्यक्ष एवम् प्रतिनिधिले हस्ताक्षर गरेको वक्तव्यमा राजदूत आचार्यले निमन्त्रणा स्वीकार गरेर पनि अनुपस्थित हुँदै कार्यक्रमका आयोजक एवम् सहभागी सबैलाई अपमानित गरेको आरोप लगाइएको छ ।

कडा शब्दमा आक्रोश पोखिएको वक्तव्यमा भनिएको छ, ‘राजदूत आचार्यलाई समाज भाँड्ने,अपमान गर्ने कार्यलाई बन्द गर्न र सबैको राजदूत बन्न चेतावनीसहित आग्रह गर्दछौं ।’

घले र आचार्यसँगै रहँदासम्म अध्यक्ष प्रेम गाहामगर कुलकै पक्षमा थिए । तर, कुलले शेष घलेलाई धोका दिएर अध्यक्ष बन्न उनको क्याम्प छाडेपछि प्रेम पनि कुलसँग चिढिएका हुन् । त्यसपछि एक अर्कालाई नंग्याउने खेल शुरु भएको बताइन्छ ।

कुलको कार्यसमितिलाई एनआरएनए युकेले दिनुपर्ने झण्डै ४० हजार पाउण्ड लेबी ’होल्ड’ मा राखेका गाहामगर आफ्नै कार्यसमितिभित्र अल्पमतमा परेपछि पेलेर केन्द्रमा पैसा पठाएका हुन् । प्रेम अहिले सिंगो कार्यसमितिप्रति रुष्ट छन् । त्यसैले महासचिव खुशी लिम्बुलाई बर्खास्त र कोषाध्यक्ष विष्णु खरेललाई निलम्बन गरिएको प्रेमका प्रवक्ताले बताएका छन् ।

गत वर्ष बहुमत सदस्यहरुको मतबाट जितेका प्रेमको एक वर्ष आक्रोश,आलोचना र हुल हुज्जतमै बितेको बताइन्छ । अब बाँकी एक वर्ष कार्यसमितिका २४ जनाले साथ छाडेपछि गुमनाम बन्ने आकलन गरिएको छ ।

टिप्पणीहरू