अर्का भूपू बर्दिधारी हाकिमको आत्महत्या

अर्का भूपू बर्दिधारी हाकिमको आत्महत्या

बर्दीको ठाँटबाँठ लगाउञ्जेल हो, फुकालेपछिका दुःख अलग छन् । कोही अनेकथरिका मनोरोगी (डिप्रेसन) भएर बाँचेका छन्, कतिले विरक्तिएर आत्महत्या गरे त कसैले विभिन्न रोगका कारण मृत्युवरण गरेको पाइयो ।

नेपाल प्रहरीको एआइजीबाट रिटायर्ड भएका पंकज श्रेष्ठको हालै हृदयघातका कारण निधन भयो । हँसिलो मिजासका उनको सोह्रखुट्टे इन्स्पेक्टर हुँदै ओपन हार्ट सर्जरी गरिएको थियो । जीवनभर खानपान बारे, तर जागिरबाट अवकाश पाएको ६ वर्षपछि त्यही व्यथाका कारण अल्पायुमै जीवन गुमाए ।

यसअघि सशस्त्रको एआइजीबाट अवकाश पाएका भिष्मकान्त अर्याल पनि लगत्तै मृत्युशैøयामा पुगे । खुट्टाका नशा सुक्न थालेपछि उपचारक्रममा उनको निधन भएको हो । यी त भए कालगति वा बिमारीको कारण भएका मृत्यु । तर, मानसिक तनावका कारण आत्महत्या गर्नेको संख्या बढी छ । जस्तो– सशस्त्र प्रहरीको एसपीबाट २०७७ माघमा अवकाश पाएका अर्जुनप्रसाद सापकोटाले नवलपुरको गैंडाकोटस्थित नारायणी तीरमा अघिल्लो हप्ता हाम्फालेर आत्महत्या गरे ।

अवकाशपछि हेटौंडामा अर्को जागिर खान्थे । किन विरक्तिएर नारायणी तीरमा पुगे ? यो कुरा परिवारले पनि पत्तो लगाउन सकेका छैनन् । उनले एआइजी नारायणबाबु थापाहरुसँगै नेपाल प्रहरीमा जागिर खाएका हुन् । तर, व्याचीहरु एआइजीबाट रिटायर्ड हुँदा उनीचाहिँ मानार्थ एसपीको उपाधी लिएर घर गए ।

सशस्त्रको डिआईजीबाट अवकाश पाएका बलरामबहादुर केसीले पनि पत्नीको पिरलोमा परेर आत्महत्या गरे । २०६४ सालको साउने संक्रान्तिकै दिन धुम्बाराहीस्थित घरमै रहेको राइफलले आफ्नो च्यूँडोमा ताकेर हाने, तत्कालै निधन भयो । जेठी पत्नीलाई डिल्लीबजारस्थित पुरानै घरमा छोडेर सशस्त्रकी एक महिला सिपाहीलाई कान्छी पत्नीका रुपमा राखेका थिए । तर, तिनै पत्नी अरुसँगै नजिकिएको चाल पाएपछि घरको भित्तामा सुसाइड नोट लेखेर आत्महत्या गरे ।

नेपाली सेनाको ब्रिगेडियरबाट अवकाश पाएका ध्रुव शाह सांसारिक मोहबाट विरक्तिएपछि अध्यात्मतिर लागे । त्यस्तै, कपिलवस्तुको गोरुसिंगेस्थित समशेर दल गणमा कार्यरत सिपाही कोपिला राजवंशीले वैशाख ७ गते सेन्ट्री बसेकै अवस्थामा गोली दागेर आत्महत्या गरिन् ।

नेपाल प्रहरीका डिएसपी वसन्त थापाले पनि महिला सिपाहीसँगको प्रेम वियोगमा आत्महत्या गरेका हुन् । खोटाङ प्रहरी प्रमुख रहँदा त्यहाँ कार्यरत जवान पवित्रा भट्टराईसँग प्रेम सम्बन्ध कायम भयो । पवित्रा मोरङको बेलबारीकी बासिन्दा थिइन् । वसन्त खोटाङबाट टुवाइसीका रुपमा झापा सरुवा भएपछि, पवित्रालाई पनि सँगै लगे । आफू हेडक्वार्टरमा सरुवा हुने भएकोले पवित्रालाई पनि ललितपुरको सानेपास्थित प्रहरी प्रभागमा सरुवा गराए । आफैँले कोठा खोजेर राखिदिए । घरमा भन्दा त्यहीँ उनको बास हुन थाल्यो ।

तर, केही दिनदेखि पवित्रा र वसन्तबीच आर्थिक तथा सम्बन्ध कायम गर्ने विषयमा विवाद थियो । उनले वसन्तलाई यी दुई विषय सुल्झाएरमात्रै विदेश जान भनेकी थिइन् । प्रहरी दिवसमा परेड कमाण्ड गरेपछि वसन्त विदेश मिशनमा जान ठिक्क परेका थिए । तर, जाने दिन नजिकिँदै गर्दा उनले काठमाडौंस्थित गोकर्ण जंगलमा रहेको इन्द्रायणी मन्दिरछेउको रुखमा डोरीले पासो लगाई आत्महत्या गरे । सुसाइड नोटमा लेखेका थिए, ‘मेरो माथि जाने समय आइसक्यो, म जाँदैछु…!’

वसन्तले आत्महत्या गरेको भोलिपल्टै प्रेमिका पवित्राले आत्महत्या गरिन् । वसन्तले आत्महत्या गर्नुअघि साँझ फोन गरेर, ‘म गएँ, बिदा भएँ’ भनेका थिए । प्रहरी अनुसन्धानका क्रममा अन्तिमपटक मोबाइलमा कुरा भएको नम्बरका आधारमा प्रहरीले खोजी ग¥यो । लोकेशन ट्रेस गरेपछि कोठा त पत्ता लाग्यो तर उनी कोठाभित्रै झुण्डिएको अवस्थामा थिइन् । त्यहाँबाट वसन्त र पवित्राका प्रेममयी तस्वीर बरामद गरिएको थियो । वसन्त पूर्वप्रहरी महानिरीक्षक श्यामभक्त थापाका भतिजा हुन् ।

अर्का डिएसपी कञ्चन थापाले पनि युवतीकै कारण ०६७ माघ ९ गते बसुन्धरास्थित सिर्जना टोल बस्ने प्रेमिका खोपकुमारीको घरमा आफ्नै कञ्चटमा पेस्तोल तोकेर आत्महत्या गरेका हुन् । उनको बसोबास धुम्बाराहीस्थित अपार्टमेन्टमा थियो । त्यस्तै, एसएसपी सुशीलकुमार यादवले गत पुस ९ गते भैरहवास्थित कार्यालयको निवासमा झुण्डिएर आत्महत्या गरे । सँगै जागिर खाएका साथीहरु एआइजी र डिआइजी हुँदा एसएसपीमै थन्किनुपरेको पीडाका कारण आत्महत्या गरेको अनुमान छ ।

उता २०७७ जेठ ११ मा प्रहरी बृत्त स्वयम्भुका असई महेश कार्कीले आफ्नै कञ्चटमा पेस्तोल हाने । ०७८ वैशाख ३० मा भूपूएआइजी कमलसिंह बमको काठमाडौं, मूलपानीस्थित घरमा बस्ने प्रहरी जवान वासुदेव धमलाले आत्महत्या गरे । ०७७ मंसिर २८ गते चितवनमा हवल्दार होमप्रसाद ढकालले घर नजिकै आँपको रुखमा झुण्डिएर मृत्यु रोजे । एक युवतीले आफूलाई जिस्क्याएको उजुर गरेपछि पाँचथरको फिदिममा कार्यरत जवान मानबहादुर बिष्टले ०७५ जेठ १२ गते आत्महत्या गरेका थिए ।

०७७ को असार १५ मा सुनसरीमा एक हवल्दार, ०७५ जेठ १३ मा उदयपुरमा सशस्त्रका हवल्दार, ०७७ भदौ १४ मा सेनाको जंगी अड्डा दरबन्दी भई पेट्रोल पम्पमा कार्यरत एक जवानले पनि आफैँले बोकेको पेस्तोलले आफैँलाई हानेर आत्महत्या गरे । पर्साको चण्डीप्रसाद गणका एक सिपाहीले ०७८ असार ७ गते त्यसरी नै आत्महत्याको प्रयास गरे । तर, कञ्चटमा हानेको पेस्तोलले मुखभरि चोट लागेपछि बाँचे ।

टिप्पणीहरू