खड्कालाई कोरोना लागेपछि सानेपाको बैठक बालुवाटार सर्यो

खड्कालाई कोरोना लागेपछि सानेपाको बैठक बालुवाटार सर्यो

तत्कालीन नेकपाका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा पार्टीका सबै बैठक सरकारी निवास बालुवाटारमै बस्ने गर्थ्यो । दैनिकजसो बोलाइने सचिवालय बैठक मात्र होइन थुप्रै पटक भातृ संगठनहरुका भेलासमेत ओलीलाई सजिलो पार्न त्यहिँ बोलाइन्थ्यो । ओली वंशावलीको बैठक, भेलासमेत प्रधानमन्त्रीको सरकारी निवासमै आयोजना भएपछि ओलीले चर्को आलोचना पनि खेप्नुपर्यो ।

प्रधानमन्त्रीको सरकारी निवासलाई पार्टी कार्यालयका रुपमा प्रयोग गरेर राज्यलाई अतिरिक्त भार थोपरेको भन्दै त्यतिबेला नेपाली कांग्रेसलगायतका राजनीतिक दल र विभिन्न संघ संगठनले चर्को बिरोध गरेका थिए । यसले सर्वसाधारणमा समेत ओली निकै आलोचित भैरहँदा प्रधानमन्त्रीबाट उहाँको बहिर्गमन भयो र शेरबहादुर देउवा बालुवाटार छिर्नुभयो ।

बालुवाटारलाई पार्टी कार्यालय जसरी प्रयोग गर्ने ओलीको कदमको चर्को विरोध गरेका काँग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले १४ औं महाधिवेशनलगत्तै पार्टीको कुनै पनि बैठक प्रधानमन्त्रीको सरकारी निवासमा नराख्ने घोषणासमेत गरेका थिए । त्यसलाई काँग्रेसले औपचारिकरुपमै निर्णय गरेपछि पदाधिकारीदेखि केन्द्रीय समिति बैठकसमेत पार्टी मुख्यालय सानेपामै बस्न थाल्यो ।

असारसम्म पार्टी सभापति शेरबहादुर देउवा पनि केन्द्रीय कार्यालयमा आयोजना हुने बैठकमा सहभागी भैरहनु भएको थियो । तर, अहिले फेरि देउवा पनि ओलीकै बाटोमा फर्किनुभएको छ । अर्थात् उहाँले पार्टीको बैठक बालुवाटारमै डाक्न थाल्नुभएको छ । आज कांग्रेस पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो ।

काँग्रेस स्रोतले भने आजको बैठक अपवादका रुपमा बालुवाटारमा बसेपनि पुरानो निर्णयमा कायमै रहेको बताएको छ । उपसभापति पूर्णबहादुर खड्का कोरोना संक्रमित भई निवासमै आइसोलेसनमा बसेपछि प्रधानमन्त्री तथा सभापति देउवाले बालुवाटारमा पदाधिकारी बैठक बोलाउनु भएको उक्त स्रोतको भनाइ छ ।

यसअघिका सबै बैठकमा देउवाले उपसभापति खड्कालाई आवश्यक निर्णय गर्ने जिम्मेवारी दिने गर्नुभएको थियो ।

टिप्पणीहरू