प्रचण्ड नभएको बेला पारेर लुम्बिनीमा बैठक

प्रचण्ड नभएको बेला पारेर लुम्बिनीमा बैठक

नेकपा माओवादी केन्द्र, लुम्बिनी प्रदेश कमिटीको तेसो पूर्ण बैठक आज बस्दैछ । आसन्न संघ तथा प्रदेश निर्वाचनलक्षित उक्त बैठक दाङको लमहीमा बस्न लागेको बताइएको छ ।

आजको बैठकमा प्रदेश कमिटीका सदस्यहरुसहित झण्डै पाँचसय बढी सहभागी हुँदैछन् । महत्वपूर्ण विषयमा छलफल गरी निर्णयमा पुगिने पार्टी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालले बताए ।

बैठक गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा र आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेश निर्वाचनको विषयमा केन्द्रित हुने बताइएको छ । बैठकमा अतिथिको रुपमा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, पूर्वसभामुख कृष्णबहादुुर महरा,पूर्वअर्थमन्त्री वर्षमान पुन,प्रदेश इञ्चार्ज चक्रपाणी खनाल (बलदेव) को सहभागिता रहने छ ।

बैठक लमहीको सत्यसाइ हलमा डाकिएको छ । अध्यक्ष प्रचण्डको जापान भ्रमणकै बीचमा हुन लागेको लुम्बिनी प्रदेशको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । माओवादी जनयुद्धको उद्गम मानिने लुम्बिनी प्रदेशमा सरकार हेरफेरका विषयदेखि आगामी निर्वाचनमा गठबन्धनको विषयमा काँग्रेसको भूमिका र हुनसक्ने सम्भावनाबारे पनि छलफल हुने बताइन्छ । माओवादी नेता कुलप्रसाद केसी मुख्यमन्त्री रहेको प्रदेशमा काँग्रेसले अन्तिम समयसम्म पनि मुख्यमन्त्री दाबी गर्दै आएको छ ।

टिप्पणीहरू