गौतमश्री सहकारीका अध्यक्ष गौतमकी श्रीमतीको सम्पत्ति रोक्का

गौतमश्री सहकारीका अध्यक्ष गौतमकी श्रीमतीको सम्पत्ति रोक्का

सर्वसाधारणको अरबौँ निक्षेप डुबाएर भागेका गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रामबहादुर गौतमकी श्रीमती निर्मला खत्री गौतमको नाममा रहेको सम्पत्ति रोक्का प्रक्रियामा गएको छ ।

सर्वसाधारणलाई चिल्लीबिल्ली पारेर रामबहादुर फरार भएपछि सहकारी विभागले भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई पत्राचार गरी गौतमकी श्रीमती निर्मलाको नाममा रहेको घर/जग्गा यथाशीघ्र रोक्का राख्न भनेको हो । विभागले गौतमश्री सहकारी र अध्यक्षको सम्पत्ति यसअघि नै रोक्का गराइसकेको छ ।

काठमाडौं कुलेश्वरस्थित उक्त सहकारीमा ११ सय बढी निक्षेपकर्ताको अरबौँ रकम डुबेको आशंका गरिएको छ । सर्वसाधारण मात्र होइन मुलुकका धनाढ्यहरुले समेत त्यहाँ करोडौँ रुपैयाँ जम्मा गरेको बताइन्छ । विभागले पनि एक अर्बभन्दा बढीको मागदावीसहित ११ सय जना पीडित बचतकर्ताको उजुरी प्राप्त भैसकेको र निवेदन पर्ने क्रम जारी रहेको बताएको छ ।

सहकारी विभागले गौतमश्रीलाई समस्याग्रस्त सहकारी संस्थाका रुपमा घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सिफारिस पनि गरेको छ ।

‘सहकारीले सदस्यको हित विपरितका कार्य गरेको, निर्धारित शर्त बमोजिम बचत फिर्ता नगरेको सहकारी मूल्य, मान्यता एवं सहकारी ऐन नियम र निर्देशनको पालना नगरेको र संस्थाका ११ सयभन्दा बढी सदस्यको बचत फिर्ता नगरेकाले सहकारी ऐन २०७४ को दफा १०४ (१) को देहाय खण्ड (क), (ख), (ग), (घ) तथा (च) समेतको अवस्थाको विद्यमानता देखिएको हुँदा विभागबाट उक्त सहकारी संस्थालाई सहकारी ऐनको दफा १०४ को (१) बमोजिम समस्याग्रस्त सहकारी संस्थाका रुपमा घोषणा गर्न पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सिफारिस गरिएको छ’, विभागले भनेको छ ।

टिप्पणीहरू