अमेरिकी सभामुखका कारण एशिया- प्रशान्त क्षेत्रमा तनाव

अमेरिकी सभामुखका कारण एशिया- प्रशान्त क्षेत्रमा तनाव

चीनको पटक पटकको आग्रहलाई लत्याउँदै अमेरिकी सभामुख नान्सी पेलोसीले गरेको एक दिने ताइवान भ्रमणले सो क्षेत्रमा तनाव सिर्जना गरेको छ । चिनियाँ जल क्षेत्रमा रहेको ताइवानमा त्यसको सबैभन्दा धेरै असर परेको बताइन्छ ।

ताइवान वरिपरी चिनियाँ जनमुक्ति सेनाले गरेको नियमित सैनिक अभ्यासका कारण उक्त क्षेत्रमा सैन्य तनाव देखिएको हो । पेलोसीले अस्ति मंगलबार एक रात ताइपेइ भ्रमण गरेपछि अमेरिकाले नयाँ विवाद रोपिदिएको आरोप लागेको छ ।

यता चीनले फुजियान पारी ताइवान वरपरका छ वटा क्षेत्रलाई घेरावन्दी गर्दै सैन्य शक्ति प्रदर्शन गरेको छ । ब्लुमबर्गलाई उद्धृत गर्दै प्रेषित समाचारहरुमा भनिएको छ, ‘यात्रु वाहक विमानहरुलाई सो क्षेत्रबाट उडान नभर्न चेतावनी दिइएको छ ।’

ताइवानी सुरक्षा निकायले चीनको पछिल्लो गतिविधि उपयुक्त नभएको बताएको छ । द टेलिग्राफका अनुसार चीनले आफ्नो हवाई र जल क्षेत्र नाघेर गतिविधि गरेको आरोप ताइवानको छ ।

बेइजिङले अमेरिकी सभामुखको हठपूर्ण ताइवान भ्रमणले सो क्षेत्रमा संकट उत्पन्न गराएको भन्दै भ्रमण अमेरिकाको एक चीन नीतिविरुध्द रहेको ठहर गरेको छ । रक्षा मन्त्रालयले गत मंगलबार भएको अमेरिकी उच्च अधिकारीको उक्त भ्रमणलाई चीनले पृथकतावादी शक्तिको पक्षपोषण गरेको ठहर गरेको छ ।

पछिल्ला गतिविधिलाई नजिकबाट नियालेको उल्लेख गर्दै चीनको राष्ट्रिय एकता,सार्वभौमिकता र अक्षुण्णताको विरुद्धमा हुने वाह्य हस्तक्षेपलाई परास्त गर्न चीनको जनमुक्ति सेनालाई उच्च सतर्कतामा राखिएको बताइएको छ ।

गत मंगलबार नै चीनले सो क्षेत्रमा थप २१ वटा सैन्य विमान पठाएको ताइवानको रक्षा मन्त्रालयले दाबी गरेको छ । पेलोसी अमेरिका फर्केपछि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद् संयोजक जोन किर्बीले आफूहरुले मित्रतालाई सँधै समर्थन गर्ने,इण्डो प्यासिफिक क्षेत्रको आकाश जल क्षेत्रलाई निर्वाध बनाउँदै बेइजिङसँग सम्वादमा रहने योजना अघि सारेको छ ।

टिप्पणीहरू