बन्दुक बोक्नेहरुकै अड्डा अड्डामा यतिसम्म बेथिति

बन्दुक बोक्नेहरुकै अड्डा अड्डामा यतिसम्म बेथिति

नेपाली सेना र दुवै प्रहरी संगठनतर्फ राशन ठेक्का प्रक्रियामा आर्थिक अनियमितता हुने गरेको विगतदेखि नै सुनिँदै आएको हो । तल्लो दर्जाका कर्मचारीलाई कम गुणस्तरको खाना खुवाएर हाकिमले राशनबाट करोडौँ रकम जम्मा गर्ने गरेको भन्दै फौजभित्रै असन्तुष्टि पोख्नेहरु पनि उत्तिकै छन् । पछिल्लो समय सशस्त्र प्रहरी बलको उपत्यकाका विभिन्न गण र गुल्ममा फर्जी हाजिरी खडा गरेर त्यहाँका हाकिमहरुले राशनमा बदमासी गरेको आशंका गरिएको छ ।

हालै उपत्यकाका केही गण र गुल्मको छड्के अनुगमनका क्रममा त्यहाँका हाकिमहरुले बिदा छोडिएका प्रहरी जवानहरुको समेत फर्जी हाजिरी खडा गरेको भेटिएपछि राशन पानीमा ठूलै घोटालाको आशंका गरिएको हो । हाजिरीमा जनाइएका भन्दा आधा संख्यामा मात्रै कर्मचारी ड्युटीमा भेटिएपछि सशस्त्र मुख्यालयले उपत्यका हेर्ने पशुपति बाहिनीलाई पत्र काटेर स्पष्टीकरणसमेत सोधेको छ ।

“१८ नम्बर गण (नीलबाराही,कीर्तिपुर चोभार) मा ४३६ जनाको हाजिरी जनाइएकोमा अनुगमनका बेला जम्मा २०८ जना मात्र ड्युटीमा भेटिएका थिए । त्यस्तै, विपद व्यवस्थापन, सिनामंगल-एअरपोर्टस्थित २० नम्बर गणमा २८१ जनाको हाजिरी रहेकोमा १४७ जनामात्रै कार्यक्षेत्रमा उपस्थित थिए ।

सशस्त्र मुख्यालयअन्तर्गत कार्य तथा सीमा सुरक्षा विभागले साउन ५ गते पशुपति बाहिनीलाई काटेको पत्रमा साउन २ गतेको आकस्मिक अनुगमनका क्रममा यस्तो बेथिति भेटिएको उल्लेख छ । पत्रमा लेखिएअनुसार १८ नम्बर गण (नीलबाराही,कीर्तिपुर चोभार) मा ४३६ जनाको हाजिरी जनाइएकोमा अनुगमनका बेला जम्मा २०८ जना मात्र ड्युटीमा भेटिएका थिए । त्यस्तै, विपद व्यवस्थापन, सिनामंगल-एअरपोर्टस्थित २० नम्बर गणमा २८१ जनाको हाजिरी रहेकोमा १४७ जनामात्रै कार्यक्षेत्रमा उपस्थित थिए ।

२१ नम्बर (दक्षिणकाली-ललितपुर खुमलटार) गणमा हाजिरीमा २६१ जना थिए, तर अनुगमन टोली पुग्दा ७१ जनाको उपस्थिति भेटियो । २२ नम्बर (गुह्येश्वरी-भक्तपुर) गणमा ३४९ जनाको हाजिरी रहेकोमा १७३ जना र २४ नम्बर गुल्म (जमल)मा १३३ जनाको हाजिरी रहेकोमा ५० जना मात्रै ड्युटीमा भेटिएको पत्रमा उल्लेख छ ।

पशुपति बाहिनीलाई सोधिएको स्पष्टीकरणमा जिम्मेवार अधिकृतहरु समेत ड्युटी छोडेर हिँडेको पाइएको छ । १८ नम्बर गणमा एक एसपी,चार डिएसपी र १० जना इन्स्पेक्टर कार्यरत रहेकोमा अनुगमनका बेला चार इन्स्पेक्टर र एक डिएसपी मात्र उपस्थित थिए । त्यस्तै, १० जना अधिकृत रहेको २० नम्बर गणमा ८ जना र १० जनाको दरबन्दी रहेको २१ नम्बर गणमा ४ जना मात्रै ड्युटीमा भेटिए । १२ जना अधिकृत कार्यरत २२ नम्बर गणमा ६ जना र चार जना अधिकृत हुनुपर्ने २४ नम्बर गुल्ममा ३ जना मात्र उपस्थित रहेको सशस्त्र मुख्यालयले जनाएको छ ।

२१ नम्बर (दक्षिणकाली-ललितपुर खुमलटार) गणमा हाजिरीमा २६१ जना थिए, तर अनुगमन टोली पुग्दा ७१ जनाको उपस्थिति भेटियो । २२ नम्बर (गुह्येश्वरी-भक्तपुर) गणमा ३४९ जनाको हाजिरी रहेकोमा १७३ जना र २४ नम्बर गुल्म (जमल)मा १३३ जनाको हाजिरी रहेकोमा ५० जना मात्रै ड्युटीमा भेटिए”

अमेरिकी दूतावास र निर्वाचन आयोगको समेत सुरक्षा हेर्ने बहादुर भवनस्थित बाघ भैरव गुल्मसहित चार वटै गणमा आकस्मिक अनुगमन गर्दा अरु पनि थुप्रै भद्रगोल देखिएको सशस्त्र मुख्यालयले जनाएको छ । अनुगमनका क्रममा रोलकल तथा पिटीमा उपस्थित प्रहरी कर्मचारीको संख्या हुनुपर्नेभन्दा निकै कम पाइएको,हाजिर गरेर कार्यक्षेत्रमा नबस्ने प्रवृत्ति बढेको,बिदामा बसेका प्रहरी कर्मचारीबाहेक पनि कार्यक्षत्रमा अनुपस्थित हुने गरेको पाइएको सशस्त्र मुख्यालयले भनेको छ । त्यस्तै,स्ट्याण्ड बाइ तथा क्यु.आर.टि.ड्युटी पनि दुरुस्त नभेटिएको,पेरिमिटर तथा पोष्ट सफाई नगरेको तथा कार्यालयमा अद्यावधिक गर्नुपर्ने अभिलेखहरु दुरुस्त नपाइएको पनि भनिएको छ ।

अनुगमनका क्रममा फौजको चेन अफ कमाण्ड नै बिथोलिने तहमा भद्रगोल भेटिएको भन्दै सशस्त्र मुख्यालयले छानविन गरी कारवाहीसहितको प्रतिवेदन बुझाउन पशुपति बाहिनीलाई कडा निर्देशन दिएको छ ।

संघीय राजधानी काठमाडौँ भिआइपी सुरक्षा दंगा नियन्त्रणलगायत अन्य सुरक्षा संवेदनशीलताका दृष्टिले पनि अत्यन्तै जोखिमयुक्त ठाउँ हो । यहाँ सुरक्षा संयन्त्र जुनसुकै बेला फिल्डमा खट्न/खटाउन सकिने गरी तैनाथीमा राखिनुपर्ने हो । तर,नक्कली हाजिरी देखाएर फिल्डमा भने प्रहरी नै नहुने अवस्थाले उपत्यकामा कुनै आपतकालीन अवस्था आइलागे फौज कसरी सामेल होला भन्ने गम्भीर चिन्तासँगै प्रश्न उठेको छ ।यति ठूलो कमजोरी फेला पर्दासमेत सशस्त्र मुख्यालय औपचारिकताका लागि कागजी प्रतिवेदन खोज्नेतिर अल्झिएको प्रति असन्तुष्टी जनाउँदै सशस्त्रका एक अधिकृतले भने, ‘यसमा त तत्काल ‘एक्सन’ लिनुपर्ने हो ।’

टिप्पणीहरू