प्रधानमन्त्रीविरुद्धको नाराबाजीको भित्री अर्थ

प्रधानमन्त्रीविरुद्धको नाराबाजीको भित्री अर्थ

सार्वजनिक कार्यक्रमहरुमा निकै छोटो भाषण गर्ने प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आफूलाई लागेका कुरा सिधै भन्ने गर्नुहुन्छ । उहाँ सार्वजनिक मञ्चहरुमा धेरै आक्रामक रुपमा प्रस्तुत भएको पनि देखिँदैन । तर, उनै देउवाले हिजो एउटा सार्वजनिक कार्यक्रममा चर्को विरोधको सामना गर्नुपर्यो ।

कार्यक्रम हो, भीमसेन थापाको २४८ औं जन्मजयन्तीको अवसरमा पुरस्कार वितरण । भीमसेन थापा स्मृति प्रतिष्ठानको आयोजनामा कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रमा प्रमुख अतिथि हुनुहुन्थ्यो, देउवा । यस्ता समारोहहरुमा हुने उद्घाटन, आसन ग्रहणलगायत औपचारिकता सकिएपछि कार्यक्रम सञ्चालकले सम्बोधनका लागि प्रमुख अतिथि प्रधानमन्त्री देउवालाई बोलाए । आफू बसेको ठाउँबाट उठेर उहाँ सम्बोधनका लागि रोष्ट्रमतर्फ जाँदै गर्दा हलभित्रैबाट एक युवा चर्को आवाजमा कराउन थाले ।

नारा लाग्यो, ’एमसीसीको मतियार शेरबहादुर देउवा मूर्दावाद’, ती युवालाई समात्न दौडिएका प्रधानमन्त्री देउवाका अंगरक्षक र त्यहाँ रहेका सुरक्षाकर्मीले नभेट्दै अर्का युवाले नारा लगाए, ’नागरिकता विधेयक खारेज गर !’

प्रधानमन्त्रीकै सामु ’मूर्दावाद’ को नारा लागेपछि देउवाका सुरक्षार्थ खटिएका सुरक्षाकर्मीसहित अन्य सुरक्षाकर्मीले दुवै युवालाई लछारपछार गर्दै कार्यक्रमस्थलबाट बाहिर निकाल्ने प्रयास गरे । सार्वजनिक भएको भिडियोमा सुरक्षाकर्मीको अवरोधका बाबजुद् युवाहरुले नारबाज जारी राखेको देखिन्छ । सुरक्षाकर्मीले उनीहरुको मुख थुनेर लछारपछार गर्दै हलबाट निकालेको भिडियोमा प्रष्ट देखिएको छ ।

यता, आफ्नै अगाडि आफूविरुद्ध प्रदर्शन हुन थालेपछि रोष्ट्रममा पुगेर पनि देउवा केहीबेर त्यसै रोकिनुभएको थियो । सुरक्षाकर्मीले युवाहरुलाई बाहिर निकालेर फर्किएपछि मात्रै उहाँले भाषण गर्न थाल्नुभयो ।

पछिल्लो समय अमेरिकी सहयोग परियोजना एमसीसी र नागरिकता विधेयकलाई लिएर युवापंक्तिमा चर्को आक्रोशको भावना देखिन्छ । राष्ट्रियतासँग प्रत्यक्ष जोडिएका यी दुई मुद्दामा प्रमुख राजनीतिक दल र तिनका नेताहरुको भूमिकाप्रति नकारात्मक धारणा व्याप्त छ । काँग्रेसले भन्ने गरेको ’राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’ को ब्यानरमा पाँचौ पटक प्रधानमन्त्री हुनुभएका देउवामाथि अझ बढी प्रश्न उठ्ने गरेको छ ।

प्रधानमन्त्रीकै सामुन्ने युवाहरुले ’मूर्दावाद’ को नारा लागेको यो घटनालाई ’जे गरे पनि हाम्रो भोट घट्दैन’ भन्ने काँग्रेसी मनोविज्ञानले कसरी लिन्छ त्यो उनीहरुकै कुरा हो । तर, राष्ट्रियताको मुद्दामा सरकार र राजनीतिक दलहरुले गर्ने खेलाँची र हचुवा निर्णय उनीहरुका लागि प्रत्युत्पादक नहोला भन्न सकिन्न । राष्ट्रियताप्रति अत्यन्तै संवेदनशील युवा मनोविज्ञानलाई चानचुने नठान्दा बेश होला ।

टिप्पणीहरू