राष्ट्रवादको श्रीपेचमुनि विदेशी जासुस

राष्ट्रवादको श्रीपेचमुनि विदेशी जासुस

अहिले पनि राजा महेन्द्रले २०१७ साल पुस १ गते बीपी कोइराला नेतृत्वको प्रजातान्त्रिक सरकार अपदस्थ गरी निर्दलीय व्यवस्था थोपर्दा अमेरिका, बेलायतजस्ता देशले किन मौनता साँधे भनेर अनेक कोणबाट बहस हुन्छ । अर्को पनि प्रश्न छ– वामपन्थी र कांग्रेसीले तत्कालीन संविधान निर्माण गर्दा दरबारले बोलाएका बेलायती विद्वान् सर आइमर जेनिंग्सबारे, वा उनको प्रतिक्रियाबारे किन कहिल्यै प्रश्न उठाएनन् ? यो प्रसंग पनि त्यस्तै हो, जस्तो : राजकीय सत्ताबाट ज्ञानेन्द्र शाहको बहिर्गमनपछि गणतन्त्र नेपालका लागि पहिलो संविधान लेख्ने जिम्मा पाएको संविधानसभाका लागि नेपालका ‘…राजनीतिज्ञ’हरूले एस. घईलाई सल्लाहकार परामर्शदाताको रूपमा स्वीकार गरेका थिए ।

संसद्को १०९ सिटमध्ये ७४ सिटमा कब्जा जमाएर दुई तिहाई जनमतका साथ बीपी कोइरालाको नेतृत्वमा अन्तरिम सरकार बनेको ठीक १२ दिनपछि एकजना बेलायती सांसद् लर्ड जोन हपले फिल्ड मार्शल केशर समशेरलाई उद्धृत गर्दै ९ जुन, १९५९ मा तात्कालीन प्रधानमन्त्री ह्यारोल्ड म्याकमिलनलाई पत्र लेखे– ‘बेलायतले नेपालका महाराजलाई औपचारिक भ्रमणको निमन्त्रणा नपठाएकोमा नेपाली जनता अत्यन्त आहत भएका छन् ।’

सन् १९६३ मा बेलायती विदेश मन्त्रालयअन्तर्गत सूचना अनुसन्धान विभाग (इन्फरमेसन रिसर्च डिपार्टमेन्ट, दोस्रो विश्वयुद्धपछि कम्युनिष्ट वा साम्यवादीविरुद्ध अफवाह फैलाउन गठित खुफिया इकाई) मा अधिकृत थिए जोन ड्रिन्कल । जब नेपालका तात्कालीन प्रहरी महानिरीक्षक पहलसिंह लामा उर्फ पिएस लामाले काठमाडौँस्थित बेलायती राजदूतावासमा गुप्तचर इकाई खोलेर आफूलाई सहयोग गर्न अधिकृतहरूलाई घरमै बोलाएर सहयोगको माग गरे, त्यसको तरंग दिल्लीदेखि लण्डनसम्म एकसाथ पुग्यो । खुफिया सूचना अधिकृत त राख्ने, तर को ? समस्या अनेक थियो ।

पहिलो, नेपालका राजा महेन्द्र, उनका निजी सचिव, नेपालका प्रहरी महानिरीक्षकलाई मात्र जानकारी हुने र त्यहाँसम्म पहुँच पुगेको व्यक्ति हुनुप¥यो । राजाले विश्वास गर्ने ब्यक्ति छान्न मुश्किल थियो । किनकि, महेन्द्रको बेलायत भ्रमणताका नै एउटा दीक्षान्त समारोह हुन नसक्दा असहज परिस्थति उत्पन्न भइसकेको थियो।

दोस्रो, नेपालका कम्युनिष्ट र उनीहरूसँगको अन्तरदेशीय अन्तर्राष्ट्रिय गठबन्धनसम्म जानकार ब्यक्ति हुन प¥यो । यसका लागि कम्तीमा नेपालको सामाजिक क्षेत्रमा आफ्नो प्रतिष्ठा बनाएको व्यक्ति उभ्याउन आवश्यक थियो जसका विरुद्ध नेपालका वामपन्थीहरूले पनि प्रश्न उठाउन नसकुन् । काठमाडौँ र बेलायतस्थित सम्बन्धित विभागका अधिकारीहरूलाई मात्र थाहा हुने त्यस्तो ब्यक्ति छान्न सहज नभएको त्यतिबेलाका पत्रहरूमा देखिन्छ । र, यससँगै काठमाडौँमा डुडले स्पेनको खुफिया कनेक्सन शुरु हुन्छ ।

डुडले ब्रिगेड अफ गोर्खाजको मेजर पदमा कार्यरत सैनिक अधिकृत थिए । पत्नी एल्माले सरोगसीबाट सन्तान ग्रहण गरेकी थिइन् । अमेरिकी रक्षा विभागअन्तर्गतको इन्टेलिजेन्स एण्ड रिसर्च सर्भिस शाखाभित्रको पूर्वी तथा दक्षिण एशिया हेर्ने विदेश मामिला अधिकृत थिए लेविस आर म्याकफर्लेन । एघार वर्षअघि निधन भएका उनको अच्छा दोस्त थिए डुडले स्पेन जो फरकफरक क्षेत्र र भूमिकाबाट नेपाल मामिलाबारे गहिरो जानकारी राख्दथे । र, डुडले काठमाडौँका सभ्रान्त र कुलिन खानदानमा भारदारसरहकै हैसियतमा घुलमिल थिए ।

डुडले सैनिक सेवाबाट निवृत्त हुनासाथ जब नेपालमा कम्युनिष्ट रोक्न र छेक्न बेलायती खुफिया एजेन्सी स्थापना गर्ने योजना प्रहरी महानिरीक्षककै आग्रहमा निर्णायक तहमा पुग्यो तब जोन ड्रिन्कलले डुडले स्पेन सबैभन्दा लायक उम्मेदवार देखे र सो को जानकारी दिल्लीस्थित बेलायती उच्चायोगमा पठाए । र, ड्रिन्कलले अर्को पत्रमा उल्लेख गरे, ‘मेजर स्पेनले नेपालमा छिट्टै उत्कृष्ट काम गर्नेछन्् ।’

त्यतिबेला दिल्लीस्थित उच्चायोगमा अधिकृत थिए टि जे ओ ब्रायन । ओ ब्रायनले लण्डनस्थित कमनवेल्थ मामिला कार्यालयका अधिकृत इ जे एमेरीलाई नोभेम्बर १८, १९६३ मा पत्र लेखे । पत्रमा खुफिया एजेन्सी र खुफिया एजेन्टका लागि चेतावनीको भाषामा लेखिएको छ– ‘तोकिएको काम अत्यन्त गोप्य र अतिसीमित सूचनामूलक कार्यमा मात्र लागू हुनेछ । र, उक्त काम वा सूचना अन्य उद्देश्यका लागि प्रयोग हुने छैन ।’

र, सन् १९६४ को पहिलो त्रैमासिकपछि बेलायती विदेश मन्त्रालयको सूचना अनुसन्धान विभागभन्दा पनि माथिको इकाई सूचना नीति विभाग (आइपीडी)ले मात्र निर्देशन दिने गरी काठमाडौँमा छद्यभेषका खुफिया कर्मचारीको रूपमा डुडले स्पेन नियुक्त भएको देखिन्छ ।

यसो भन्दा हुन्छ, मेजर डुडले अब कूटनीतिक कर्मचारीको रूपमा विशुद्ध खुफिया कामका लागि नियुक्त भए र नेपालका प्रहरी महानिरीक्षकको व्यक्तिगत सल्लाहकार सँगै भइहाले । महेन्द्र प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण क्षेत्र संरक्षण कार्यक्रमका लागि दाता देशबाट संस्थापकमध्ये एक पनि भए ।

सन् १९९४ को जनवरीमा अन्नपूर्ण संरक्षण क्षेत्र कार्यक्रमबारे प्रवचन दिंदा डुडलेले राजा महेन्द्रको मिसन र भिजनबारे भावपूर्ण मन्तव्य दिएका थिए (ब्रिटेन नेपाल जर्नल १९९५)। नारायणहिटीसँग डुडलेको सम्बन्ध कति बाक्लो देखिन्छ भने राजा महेन्द्रको बेलायत भ्रमणको बेलामा चोठाकोठाको सम्पूर्ण बिवरण र बर्णनबारे जानकारी दिने व्यक्ति पनि उनै थिए । यसका लागि तपार्इंले ब्रिटिश गोर्खाका अवकाशप्राप्त जनरल साम कोवानका विभिन्न आलेख प्राप्त गर्न सक्नुहुनेछ ।

डुडले सैनिक क्षेत्रमा मात्र होइन, महेन्द्र प्रकृति संरक्षण कोषमार्फत काठमाडौँको कुलिन तप्कामा भिजेका थिए । राष्ट्रिय योजना आयोग हुँदै एसिया प्यासिफिक विकास केन्द्रको निर्देशकसमेत रहनुभएका स्वर्गीय डा. हर्क गुरुङलगायत प्रतिष्ठित बौद्धिक केन्द्रसँग पनि डुडलेको राम्रै उठबस रहेको भेटिन्छ । गत वर्ष नेपाली टाइम्सको सेप्टेम्बर २२ को अंकमा जित गुरुंगले लेखेका छन्् –‘हर्क गुरुङसँग दशकौंको मित्र रहेका डुडले घुन्सा दुर्घटनाको खबर सुनेर रोए ।’

पाँच वर्षअघि कोवानले एउटा आलेखमा राजा महेन्द्रको बेलायत भ्रमण र भ्रमणदलमा सहभागी डुडलेको फाइँफुर्तीबारे राम्रैसँग वर्णन गरेका छन् । त्यसमा सन् १९६० अक्टोबर १७ देखि भएको चार दिने औपचारिक भ्रमणको क्रममा बकिंघम दरबारको शाही ओपेरा घरमा ‘ला सोन्नमबुला’ सुन्नुअघि महेन्द्रको हाउभाऊ डुडलेले आकर्षक ढंगले वर्णन गरेका छन् । महेन्द्रको औपचारिक भोज र अतिथि सत्कारका कार्यक्रममा सधैं सँगै सहभागी भइरहनु डुडलेको अघोषित जागिरजस्तै थियो ।

अक्टोबर १२, १९६३ को पत्र (विदेश मामिला ३७१ १६६५६८) लाई आधार मान्ने हो भने बेलायतले नियुक्त गरेको खुफिया अधिकृत डुडलेबारे अमेरिकी खुफिया संस्था पनि पूर्णतः जानकार थियो । किनकि, उक्त पत्रमा लेखिएको छ, कुनै पनि गोप्य सम्झौता या आग्रहबारे निर्णय लिनुअघि बेलायतले अमेरिकासँग पनि परामर्श गर्नुपर्छ ।

राजाका रूपमा महेन्द्र कति प्रतिवद्ध र योजनाबद्ध देखिन्छन् भने उनी पोखरास्थित होटल माउण्ट अन्नपूर्णमार्फत अमेरिकी खुफिया संस्था सिआइएको पनि पक्षपोषण गरिरहेका थिए (स्मरण रहोस्, उक्त होटल नेपालको हिमाली जिल्ला मुस्ताङमा चीनविरुद्ध सशस्त्र विद्रोहका लागि वातावरण बनाउन खम्पा विद्रोहीलाई भरणपोषण गर्ने सम्पर्क कार्यालय थियो । १२ वर्षअगाडि बन्द भएको उक्त होटलको भौतिक संरचनामा अहिले गण्डकी मेडिकल कलेज सञ्चालित छ ।), डुडले स्पेनमार्फत बेलायती खुफिया अधिकृतलाई चोठाकोठा गर्ने वातावरण दिन्छन्् र प्रहरी महानिरीक्षक पीएस लामामार्फत चीनसँग सम्बन्धित महत्वपूर्ण सूचना अमेरिका, बेलायत र भारतलाई एकैपटक चुहाइदिन पनि सक्छन् । नपत्याए बेलायती विदेश मन्त्रालयको दक्षिण पूर्वी एसियाअन्तर्गत फेब्रुअरी १३, १९६४ को पत्रसंख्या ५५ ५६ २ को पहिलो अनुच्छेद हेर्न सक्नुहुनेछ जसमा प्रहरी महानिरीक्षक लामाले ‘खम्पा विद्रोहीसँग भारतीय सम्बन्धबारे बेलायतलाई दिएको जानकारीका लागि हार्दिक धन्यवाद दिएका छन् ।’

पहलसिंह लामाको प्रस्तावले बेलायती जासुसी अखडालाई नेपालमा खुल्ला खेलमैदान मात्र दिएन नेपालले रणनीतिक सूचनाहरू गोप्य राख्ने बाटो नै बन्द गरिदिएको भेटिन्छ महेन्द्रको पञ्चायतभित्र । उदाहरणका लागि महेन्द्रले अमेरिकी राष्ट्रपति आइजनआवरसँग गरेको गोप्य सम्झौतालाई पनि लिन सकिन्छ जुन दस्तावेज पनि डिक्लासिफाइड भइसकेको छ । महेन्द्रले के गरे वा के गरेनन् भन्ने यो लेखको चासोको विषय होइन । खुफिया सञ्जालमा महेन्द्रकालीन सत्ता कस्तो रहेछ भनेर ऐतिहासिक तथ्य र दस्तावेजको आधारमा दृष्य पहिल्याउनु लेखको उद्देश्य हो । राष्ट्रवादको श्रीपेचमुनि बेलायती जासुस पालेर महेन्द्रले कसको स्वार्थमा कसरी काम गरिरहेका रहेछन् भनेरचाहिँ यसबाट केही लख काट्न सकिन्छ ।

महेन्द्रलाई निरपेक्ष राष्ट्रवादको जलप लगाएर टल्काउने दौडमा ’मोटरबाटोबाट साम्यवाद आइपुग्दैन’ भन्ने दलील वाचन गर्नेहरूले बुझुन्– इतिहासको बाटो उबडखाबड छ र हुन्छ ।

टिप्पणीहरू