चीनमा डाक्टरी गरेकालाई नेपालमा इन्टर्नसिप गर्न बाटो खुल्यो

चीनमा डाक्टरी गरेकालाई नेपालमा इन्टर्नसिप गर्न बाटो खुल्यो

कोरोनाले गर्दा वीचैमा पढाइ छोडेर चीनबाट फर्किएका एमबीबीएसका विद्यार्थीले अब नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन् । उनीहरुलाई अपुग प्रयोगात्मक अभ्यास तथा इन्टर्नसिप गरी दुई वर्षको चिकित्सकीय तालिमको व्यवस्था गर्न लागिएको हो ।

चिकित्सा शिक्षा आयोगको सहमतिमा नेपाल मेडिकल काउन्सिलले थप समय नेपालमै अध्ययन गराउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र पठाएको छ । एक वर्षे अनिवार्य इन्टर्नसिप ‘नेशनल गाइडलाइन फर मेडिकल इन्टर्नसिप ट्रेनिङ,२००७’ अनुसार वा विश्वविद्यालयले तोकेबमोजिम पूरा गर्नुपर्ने पत्रमा उल्लेख छ ।त्यसैगरी,उक्त कोर्शमा चार वटा प्रमुख विषयहरू मेडिसिन, सर्जरी,गाइनेअब्स र पिडियाट्रिक्स समावेश हुनुपर्नेछ ।

चीनमा अध्ययनरत चिकित्सा शिक्षाका विद्यार्थीहरूको अध्ययन अवधि र प्रमाणपत्र प्राप्त गर्ने समायवधिबारे कुनै द्विविधा भए काउन्सिल वा सम्बन्धित कलेजमा सम्पर्क गरी यथार्थ विवरण बुझी अपुग अध्ययन अवधि यकिन गरेर मात्र अध्ययन शुरू गर्न भनिएको छ ।

अबउप्रान्त कोभिडसँग सम्बन्धित रहेर विदेशमा अध्ययन गरेका विद्यार्थीको नेपालमा अध्ययन अध्यापन गर्ने विषय सम्बोधन नहुने जनाइएको छ । चीनमा एमबीबीएस गरेर फर्किएका विद्यार्थीले गत वर्षदेखि नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग राख्दै आएका थिए ।

टिप्पणीहरू