एमालेले खीर खाएर काठमाडौंमा कार्यकर्ता ओराल्ने

एमालेले खीर खाएर काठमाडौंमा कार्यकर्ता ओराल्ने

गत वर्ष सरकारबाट बाहिरिएपछि लामो समय संसद अवरुध्द गरेको नेकपा एमाले अब सडकमा ओर्लिने भएको छ । उसले महङ्गीविरूद्ध जनप्रदर्शन गर्ने भन्दै आज आन्दोलन घोषणा गरेको छ ।

महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महंगीविरूद्ध यही साउन १६ गते जनप्रदर्शन गर्ने निर्णय गरेको हो । स्थायी कमिटी सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा जनप्रदर्शन तयारी कमिटी गठन गरिएको छ ।

जनप्रदर्शनमा उपत्यकाका तीनै जिल्ला कमिटी र जनसंगठन परिचालन गरिने जनाइएको छ ।

राजधानीको वसन्तपुरबाट शुरू हुने र्यालीमा उपत्यका विशेष प्रदेश कमिटी,पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू,सम्पर्क मञ्चहरूलाई सहभागी गराउने निर्णय भएको कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन् ।

बैठकमा उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरूङ र विष्णु रिमाल, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, बाग्मती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डे, उपत्यकाका तीन वटै जिल्लाका पार्टी अध्यक्ष, जनसंगठनका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

साउन १५ गते नेपाली समाजमा खीर खाने परम्परागत मान्यता रहिआएको छ ।

टिप्पणीहरू