स्वास्थ्य बीमा कार्यक्रम सुचारु गर्न एमालेको माग

स्वास्थ्य बीमा कार्यक्रम सुचारु गर्न एमालेको माग

नेकपा एमालेले स्वास्थ्य बीमा कार्यक्रम सुचारु गर्न माग गरेको छ । पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले सेवा प्रदायक संस्थाबाट हुनसक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत् व्यवस्थाअनुरूप उक्त कार्यक्रम सुचारू गर्न माग गरेका हुन् ।

स्वास्थ्यसम्बन्धी मौलिक हकको सहज कार्यान्वयनको निम्ति स्वास्थ्य बीमालाई जनमुखी कार्यक्रमका रूपमा पूर्ववर्ती सरकारले कार्यान्वयनमा ल्याएको बताउँदै भट्टराईले त्यसमा वर्तमान सरकारले नियोजित षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

‘संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी मौलिक हकको सहज कार्यान्वयनका लागि स्वास्थ्य बीमालाई जनमुखी कार्यक्रमका रूपमा पूर्ववर्ती सरकारले कार्यान्वयनमा ल्याएको सर्वविदितै छ । वर्तमान सरकारले २०७९–०८० को बजेट वक्तव्यमार्फत् स्वास्थ्य बीमालाई नियोजित गर्ने षड्यन्त्र गरेको छ,’ उनीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारले स्वास्थ्य बीमामा निजी कम्पनीहरू प्रवेश गराई आफनो दायित्वबाट पन्छिने षड्यन्त्र गरेको उनको आरोप छ । सरकारको यो नीतिले बीमा प्रदायक संस्थाको संख्या घटाएर नागरिकलाई सहज पहुँचबाट टाढा राख्न खाजेको विज्ञप्तिमा भनिएको छ ।

‘सरकारको यो नीतिले एकातिर बीमा प्रदायक संस्थाको संख्या घटाएर सहज पहुँचबाट टाढा राख्ने र अर्कोतिर सामाजिक स्वास्थ्य बीमामा निजी कम्पनीहरू प्रवेश गराई सरकार आफनो दायित्वबाट पञ्छने षड्यन्त्र गरेको स्पष्ट छ,’ विज्ञप्तिमा लेखिएको छ ।

टिप्पणीहरू