‘काठमाडौँलाई देशकै नमूना र अपाङ्गतामैत्री सहर बनाइयोस्’

‘काठमाडौँलाई देशकै नमूना र अपाङ्गतामैत्री सहर बनाइयोस्’

शारीरिक अपाङ्गता भएका व्यक्तिहरूले काठमाडौँलाई देशकै नमूना र अपाङ्गतामैत्री सहर बनाउन माग गरेका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोलसँग स्पाइनल इन्जुरी नेटवर्कको प्रतिनिधिमण्डलले आज भेट गरी १३ बुँदे माग राख्दै उक्त धारणा व्यक्त गरेका हुन् ।

प्रतिनिधिमण्डलको नेतृत्व गरेकी उपाध्यक्ष झरना रानाले कुनै पनि सम्पदा क्षेत्रमा अपाङ्गता अनुकूल शौचालयहरू नहुँदा धेरै कष्ट झेल्नु परिरहेको बताएकी थिइन् । नेटवर्कका राष्ट्रिय सल्लाहकार गजेन्द्र बुढाथोकीले राजधानी सहरलाई अपाङ्गतामैत्री सहर बनाउन जनप्रतिनिधिहरूले ध्यान दिनुपर्ने बताएका थिए ।

देशकै राजधानी काठमाडौँमा तीन लाख अपाङ्गता भएका व्यक्तिहरू विभिन्न पेसा, व्यवसाय तथा अध्ययनको सिलसिलामा अस्थायी र स्थायी रूपमा बसोबास गर्छन् । त्यसैले महानगरका पूर्वाधारलाई अपाङ्गतामैत्री बनाउन उनीहरुले विशेष माग गरेका हुन् । राजधानीमा त्यस्ता सार्वजनिक पूर्वाधार, सार्वजनिक शौचालय र सम्पदा क्षेत्र अपाङ्गता पहुँच एवम् अनुकूल नहुँदा खराब सन्देश गएकोतर्फ उनीहरुले ध्यानाकर्षण गराएका हुन् ।महानगरले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता असमान तरिकाले वितरण गरेको उनीहरुको भनाइ छ । काठमाडौँ महानगरले पूर्ण अपाङ्गता भएका व्यक्तिलाई मात्र सामाजिक सुरक्षा भत्ता दिएर संविधान विपरीत वर्ग विभेद सिर्जना गरेको आरोप लगाइएको हो ।

सो अवसरमा प्रमुख साहले काठमाडौँ महानगरपालिकाको संयोजनमा अपाङ्गता भएका व्यक्तिहरूका लागि अन्तर्राष्ट्रियस्तरको ह्विलचियर बास्केटबल वा क्रिकेट प्रतियोगिता गर्न आफू सकारात्मक रहेको जानकारी दिएको नेटवर्कका सदस्यहरुले बताए ।

उपप्रमुख सुनिता डङ्गोलले हालका सार्वजनिक शौचालयलाई पुनर्निर्माण गर्ने, तिनलाई अपाङ्गतामैत्री बनाउने र नयाँ स्मार्ट शौचालय सबैका लागि अनुकूल हुने गरी बनाइने प्रतिबद्धता जनाएको पनि उनीहरुको भनाइ छ ।

टिप्पणीहरू