एमसीसीमा केपीले ‘दिउँसै रात पारेको’ नारायणकाजीको दाबी

एमसीसीमा केपीले ‘दिउँसै रात पारेको’ नारायणकाजीको दाबी

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन रोक्न सहकार्यको प्रस्ताव लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेको खुलासा भएको छ । माओवादी नेता नारायणकाजी श्रेष्ठले यसको खुलासा गर्दै ओलीका कारण आफूहरुको प्रस्ताव असफल भएको पनि दाबी गर्नुभयो ।

हिजो राजधानीमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था, यसको चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा एमसीसीबारे ओलीले दिएको अभिव्यक्तिको खण्डन गर्ने क्रममा नेता श्रेष्ठले एमसिसी पारित हुनु केही दिनअघि भेटेर सो प्रस्ताव गरेकोमा ओलीले नमानेको बताउनुभएको हो ।

‘एमसीसी संसदबाट अनुमोदन गरिनुभन्दा केही दिनअघि मात्र पनि हाम्रो पार्टीका अध्यक्ष प्रचण्ड, मलगायत केही कमरेडहरू उहाँ (ओली) लाई एमसीसी अनुमोदनलाई संसदबाट मिलेर असफल पारौं र नयाँ गठबन्धन बनाएर अघि बढौं भन्ने प्रस्ताव लिएर गएका थियौं,’ श्रेष्ठले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘उहाँले त्यसबेला एमसीसी सम्झौतामा राष्ट्रिय हितविपरीतका कुनै प्रावधान नरहेकाले यो त्यस्तो विषय होइन भनेर जोड दिनुभएको थियो ।’

श्रेष्ठले द्विपक्षीय वार्तामा एमालेका अन्य तीनजना उच्चस्तरीय नेताहरू पनि सामेल रहेको जनाए पनि नाम भने खुलाउनुभएको छैन ।

एमसीसीका विषयमा ओलीको अभिव्यक्ति गैरजिम्मेवार रहेको टिप्पणी गर्दै नेता श्रेष्ठले सो अनुमोदन गराउन गरेका दुई प्रसंग पनि उल्लेख गर्नुभएको छ । एमसीसी सम्झौता अरुले जस्तो गुपचुप राख्नुभन्दा राष्ट्रिय बहस होओस् भनेर संसदमा पेस गरेको ओलीको तर्कलाई श्रेष्ठले पूर्णतः असत्य भन्दै खण्डन गर्नुभयो ।

‘वास्तविकता यस्तो छ, एमसिसी सम्झौतालाई त्यसमा समावेश गरिएको प्रावधानअनुसार नेपालको घरेलु ऐनभन्दा माथिल्लो हैसियतमा राख्न नेपालको सन्धि ऐनअन्तर्गत प्रतिनिधिसभा पारित गर्नु आवश्यक भएकाले एमसिसी अमेरिकाले सम्झौतामा हस्ताक्षर गर्दाको क्षणदेखि नै संसदबाट अनुमोदनका लागि दबाबसहित अनुरोध गर्दै आएको थियो, तर त्यो सम्भव भइरहेको थिएन,’ श्रेष्ठले भन्नुभएको छ, ‘पछिल्लो पटक केपी प्रधानमन्त्री हुनु भएपछि एमसिसी अमेरिकाले संसदबाट अनुमोदनका लागि नेपाल सरकारलाई औपचारिक पत्र पठायो र केपी सरकारले संसदबाट अनुमोदनका लागि प्रक्रिया अघि बढायो ।’

तर, एमाले अध्यक्ष ओलीले भने एमसीसी अनुमोदन हुनुमा आफ्नो कुनै भूमिका नरहेको बताउने गर्नुभएको छ । आफू नेतृत्वको सरकार ढलेर प्रतिपक्षमा पुग्नुलाई संसद कमजोर भएको अर्थ लगाउनुभएका उहाँले त्यसै कारण एमसीसी पासको मार्ग खुलेकोसमेत दावी गर्नु भएको छ ।

ओलीको त्यस्तो तर्क र दाबीलाई माओवादी नेता श्रेष्ठले भने सरासर झूठ भन्दै खण्डन गर्नुभएको हो । भन्नुभयो, ‘उहाँ (ओली) ले संसद कमजोर भएकाले त्यो पारित गर्यो, त्यसैले त्यसमा आफ्नो कुनै दोष वा कमजोरी छैन भन्नुभयो, तर यो सत्य होइन ।’

उहाँका अनुसार ओलीले तत्कालीन नेकपाको केन्द्रीय समितिलगायत बैठकमा एमसीसी विशुद्ध आर्थिक विकासको परियोजना भएको र यसमा कुनै राष्ट्रिय सार्वभौमिकता एवम राष्ट्रिय हित प्रतिकूलका प्रावधान नभएको तर्क गर्नुभएको थियो । त्यतिबेला धेरै सार्वजनिक सम्बोधनमा पनि ओलीले नेपालमा एमसीसी आवश्यक रहेको र त्यसमा कुनै राष्ट्रघाती प्रावधान नरहेको जिकिर गर्नुभएको थियो ।

टिप्पणीहरू