पार्टी छाडेर जान एमालेमा अझै प्रस्ताव

पार्टी छाडेर जान एमालेमा अझै प्रस्ताव

‘कार्यदिशाविपरित हिँड्नेहरुले पार्टी छोडे हुन्छ, किन बस्नुप¥यो ?’ यो ताजा भनाइ हो, एमाले अध्यक्ष केपी ओलीको । अनि, अध्यक्षका अगाडि ‘चुँ’ बोल्न नसक्ने एमाले नेताहरु उहाँका पछाडि–पछाडि भन्दैछन्, ‘अध्यक्षले निकाले भइहाल्छ, किन छोडे हुन्थ्यो भन्ने ?’ ओलीले उक्त कुरा गत हप्ता विभागीय प्रमुख र उपप्रमुखहरुको भेलामा बताउनुभएको हो ।

खासमा यस्ता भेलाको संयोजन गर्ने महासचिवले हो । उक्त बैठक चल्दाचल्दै ओली बीचमा पुग्नुभयो । १२ः२५ मा च्यासल भित्रिनुभएका उहाँ पुग्नासाथ ‘के–कसो’ नसोधी सीधै बोल्न थाल्नुभयो । जबकि, त्यही बैठकमा अरुलाई ११ बजे बोलाइएको थियो ।

नेताहरु गुनासो पोख्छन्– उहाँलाई न विभागहरुसँग मतलब छ न पार्टीका अरु नेताकै सुख–दुःखसँग सरोकार छ । अरु देशका कम्युनिष्ट पार्टीले कसरी काम गर्छन् ? विभागको भूमिका के हुन्छ ? दुःख, सुख के छ ? एमालेमा यस्ता विषयउपर कुनै छलफल हुँदैन । अर्थात्, जीवनको कुरा हुँदैन, अहंताको मात्रै प्रसंग निस्कन्छ ।

पार्टी यहाँसम्म पुगिसक्दा उहाँले ‘म आउटडेटेड भएँ कि, तपाईंहरुले चलाउने कि’ भन्नुपर्नेमा ‘म’, ‘मेरो’, ‘मलाई’ बाहेकका कुरा आउँदैनन् । देशमा अहिले संवैधानिक परिषद्को संरचनासम्बन्धी विधेयक र नागरिकता विधेयकबारे गर्मागर्मी बहस चल्दैछ । अरु थुप्रै विषय छन्, एमालेले सरोकार राख्नुपर्ने ।

तर, त्यतापट्टि राजनीतिक र सांगठानिक बहस चलाउनेमा ध्याउन्न छैन । पोखराका निवर्तमान मेयरले ज्वाइँलाई सरकारी जग्गाहरुको अनियमित ठेक्का लगाएकोमा पार्टी आलोचित छ । त्यतातिर पनि उहाँको ध्यान गएको छैन । तर, कक्षाको विद्यार्थीझैँ एकथोक अह्रायो, उही बानी लागेकै काम गरेर बस्ने कार्यशैलीबारे च्यासलमा पार्टीका नेताहरु कुरा गर्दै छन् । एउटा विद्यार्थीलाई शिक्षकले ‘माछाको कथा लेख’ भनेछन् ।

तर, ती विद्यार्थीले उपियाँको कथा लेखे । ओली कार्यशैली त्यही विद्यार्थीको झैँ भएको नेताहरु बताउँछन् । अर्थात्, देशमा चर्चा, बहस र निर्णयमा पुग्नुपर्ने नयाँ–नयाँ विषय छन् । तर, उहाँचाहिँ सरकारबाट हट्नुपर्दाको दुःख, कष्ट, अहंबाहेक केही बोल्नुहुन्न ।

अर्कातिर, विगतमा ओलीनिकट नभएका, तर यसचोटि जसरी पनि चुनावमा उठ्नुपर्ने दुःखमा परेका नेताहरु दिनैपिच्छे बालकोट र च्यासल धाइरहेका छन् । कारण हो, टिकट चाहिने । ठाकुर गैरे, निरज आचार्यहरु चुनावमा टिकट लिन्छु भनेर दौडिरहेका छन् । घरमा बोलाई–बोलाई फकाइएका सुरेन्द्र मानन्धरको अहिलेसम्म कुनै सेटलमेन्ट भएन ।

उनलाई दिनुभन्दा भाँडमा जानु राम्रो भन्ने अध्यक्षको बुझाई छ । राजन भट्टराईले चुनाव लड्नुपर्ने काठमाडौंको क्षेत्र नं. ४ मा स्थानीय तहमा राम्रो परिणाम आयो भनेर ओली हौसिनुभएको छ । वडाहरु जितिएकाले ईश्वर पोखरेलको ५ नम्बर क्षेत्रमा पनि जित्ने स्थिति बन्यो भन्ने उहाँकै बुझाई छ ।

टिप्पणीहरू