सरकारले केही काम गर्नै नसकेको एमालेको ठोकुवा

सरकारले केही काम गर्नै नसकेको एमालेको ठोकुवा

नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै काम गर्न नसकेको र समयको बर्बादीमात्र गरेको आरोप लगाएको छ । सरकारको एक वर्षे कार्यकाल समीक्षा गर्दै नेता योगेश भट्टराई नेतृत्वको स्वास्थ्य तथा जनसंख्या विभागले आज सरकार सम्पूर्णरुपले असफल भएको लिखित धारणा सार्वजनिक गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पार्टी सचिवसमेत रहेका भट्टराईले २६ बुँदे धारणा सार्वजनिक गर्दै संविधानको रक्षा र कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण,संघीय प्रणालीको सुदुढीकरण,जनजीविका र राष्ट्रियताको सवाल,अन्तर्राष्ट्रिय सम्बन्ध,सुशासन र भ्रष्टाचार नियन्त्रणका प्रश्नमा सरकार पूरै असफल भएको आरोप लगाए । संविधानमा उल्लेख गरिएको स्वास्थ्य र शिक्षाजस्तो मौलिक हकको कार्यान्वयन गरी समाजवादको आधार तय गर्ने सवालमा सरकारले छेउ टुप्पो नै फेला पार्न नसकेको उनको दावी छ ।

उनले सरकारको असक्षमताका कारण कोभिडको १० लाख डोज खेर गएको र अब चाँडै २० लाख खोप म्याद सकिएर फाल्नुपर्ने अवस्थामा पुगेको पनि बताएका छन् । ‘कमजोर व्यस्थापन र नेतृत्वका कारण १० लाख मात्रा बढी खोपको मिति सकिएर फालिएको तीतो सत्य हाम्रासामु छ । पछिल्लो सूचनाअनुसार मन्त्रालयले थप २० लाख डोज खोप मिति सकिएर फाल्ने तयारी गरिरहेको भन्ने छ’, भट्टराईले भने ।

प्रधानमन्त्री देउवाले आफ्नो सरकारको प्राथमिकता ‘खोप,खोप र खोप’ रहेको र ०७८ चैत मसान्तसम्म शतप्रतिशत खोप लगाउने’ भनी गरेको घोषणा हावादारी गफमा परिणत भएको बताउँदै उनले बालबालिकामा खोपको पहुँच अझै न्यून रहेको उल्लेख गरे । कर्णाली प्रदेशका सबै जिल्ला, खोटाङ, रौतहट, बझाङ, सिरहा, धनुुषा, सिन्धुली, उदयपुर, मोरङ र पाँचथरलगायतको जिल्लाहरुमा अझै पनि जनसंख्याको ४० प्रतिशतले खोप नपाएको भटराईले सुनाए ।

टिप्पणीहरू