श्रीलंकाका राष्ट्रपतिको निवासमा पैसा कुस्त

श्रीलंकाका राष्ट्रपतिको निवासमा पैसा कुस्त

आन्दोलनकारीको घेरामा परेपछि भागेका श्रीलंकन राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा लाखौँ रकम भेटिएको दाबी गरिएको छ । सरकारविरोधी प्रदर्शनकारीहरूले राष्ट्रपतिको भव्य दरबारभित्र ठूलो मात्रामा रकम बरामद भएको दाबी गरेका हुन् ।

प्रदर्शनकारीले फेला परेका नोट गन्दै गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उनीहरुले बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गर्ने भनेको डेली मिरर पत्रिकाले जनाएको छ । यसबारेमा सान्दर्भिक तथ्य छानबिन गरी वास्तविक अवस्थाबारे जानकारी दिने अधिकारीहरूले बताएका छन् ।

सुरक्षा घेरा तोड्दै हजारौँ प्रदर्शनकारी हिजो राष्ट्रपति निवासमा प्रवेश गरेका थिए । निवासमा प्रदर्शनकारी प्रवेश गर्न थालेपछि राजापाक्षे सुरक्षित स्थानमा भागेका थिए । उनी कहाँ छन् भन्नेबारेमा केही खुलाइएको छैन । केही विवरणमा उनी सेनाको मुख्यालयमा रहेको बताइएको छ ।

राष्ट्रपतिले १३ जुनमा राजीनामा दिने घोषणा गरिसकेका छन् । प्रदर्शन चर्किएपछि मे महिनामा राष्ट्रपति गोटाबाया राजापाक्षेका जेठा दाइ तथा प्रधानमन्त्री महिन्दा राजापाक्षेले पनि राजीनामा दिएका थिए ।

टिप्पणीहरू