बत्तीसपुतलीबाट शेखर गुट बालुवाटार बसाइँ सराइ

बत्तीसपुतलीबाट शेखर गुट बालुवाटार बसाइँ सराइ

१४ औँ महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित काँग्रेस नेता शेखर कोइरालाले आज आफ्नो समूहको बैठक बोलाएका छन् ।

भोलि बस्ने केन्द्रीय समितिको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे आन्तरिक रणनीति बनाउन बैठक बस्न लागेको हो । बालुवाटारस्थित सम्पर्क कार्यालयमा शेखरले दिउँसो १ बजे आफूनिकट पदाधिकारीसँग छलफल गर्न लागेको बताइएको छ ।

यसअघि शेखर समूहले बत्तीसपुतलीमा दुई दिन आन्तरिक भेला गरेको थियो । भेलाले पाँच बुँदे निष्कर्ष निकाल्दै पार्टी सभापति देउवा सरकार र पार्टी सञ्चालनमा असफल रहेको आरोप लगाएको थियो ।

भोलि हुने भनिएको केन्द्रीय समिति बैठकमा शेखर समूहले अस्ति निकालेको निष्कर्षअनुसार प्रस्तुत हुने बुझिएको छ । संस्थापन पक्षले भने शेखर समूहले आसन्न संसदीय चुनावमा सीट बार्गेनिङका लागि अहिलेदेखि नै दबाब दिएको बताएको छ ।

यता,भोलिको बैठकको एजेन्डा तय गर्न साथै भ्रातृ सङ्गठनका सन्दर्भमा छलफल गरी साझा धारणा बनाउन आजै दिउसो काँग्रेसले पदाधिकारीको बैठक बोलाएको छ । सोही समयमा शेखर समूह छुट्टै बस्न लागेको हो । एकै समयमा दुईतिर पदाधिकारी बैठक बोलाइएपछि दुबै बैठक प्रभावित हुने देखिन्छ ।

टिप्पणीहरू