प्रचण्डको बीऊले काम नगर्ने घनश्यामको ठोकुवा, हाइब्रिड बीऊ खोज्न आग्रह

प्रचण्डको बीऊले काम नगर्ने घनश्यामको ठोकुवा, हाइब्रिड बीऊ खोज्न आग्रह

पूर्वमन्त्री तथा एमाले नेता घनश्याम भुसालले एमालेमा माओवादीको बिउ छरेको भन्ने प्रचण्डको अभिव्यक्तिको खण्डन गर्नुभएको छ । एमालेमै रहेर वामपन्थी एकताको जमर्को गरिरहनु भएका उहाँले माओवादीको बीऊ एमालेमा नउम्रने दाबीसमेत गर्नुभयो ।

आज बिहान पार्टी मुख्यालय पेरिसडाँडामा विप्लव समूहका नेताहरुलाई माओवादी केन्द्रमा प्रवेश गराउँदै प्रचण्डले एमालेभित्र माओवादीको बीऊ रोपेको र छिट्टै उम्रने बताएपछि दिउँसो भुसालको कडा प्रतिक्रिया आएको हो । वरिष्ठ वामपन्थी नेता सिद्धिलाल सिंहको अभिनन्दन कार्यक्रममा बोल्दै उहाँले प्रचण्डको बुझाई ठीक नभएको समेत भन्नुभयो ।अब एमाले, माओवादी र समाजवादीको छुटाछुट्टै बीऊ नउम्रिने दाबी गर्दै भुसालले तत्कालीन नेकपाको बीउ उमार्नुपर्नेमा जोड दिनुभयो । ‘हामीले केही वर्ष अगाडि नेकपा नामको हाइब्रिड बीऊ बनाएका थियौँ तर हाम्रो वुद्धि नपुगेकाले बीऊको भकारीमा आगो लगायौँ । बीऊहरु अहिले पनि सुरक्षित छन्, त्यसलाई फेरि पनि हामीले नेकपाको हाइब्रिड बीऊ बनाएर एमाले, माओवादी, समाजवादी सबैको बीऊ एकै ठाउँमा उमार्न सक्नुपर्छ’, उहाँको भनाइ थियो ।

वाम तालमेल हुँदै एमाले र माओवादीबीचको एकतामा जोड दिँदै आउनुभएका भुसाल र २०७५ सालमा पार्टी एकता गर्ने निर्णयको स्वामित्व लिइरहनु भएका प्रचण्डको अभिव्यक्तिमा फरक देखिए पनि दुवैको सार भने कम्युनिष्ट एकताकै पक्षमा देखिन्छ । प्रचण्डको आजको अभिव्यक्ति पनि माओवादी धारहरुबीच मात्र नभई सवै वामपन्थी घटकसँग बृहत एकता गर्नुपर्ने आशय थियो ।

टिप्पणीहरू