उपेन्द्र यादवको पार्टीभित्र ‘को भन्दा को कम’ को स्थिति

उपेन्द्र यादवको पार्टीभित्र ‘को भन्दा को कम’ को स्थिति

केन्द्रीय कार्यकारिणी समितिको बैठकले मन्त्री हेरफेरको एकल अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएपछि सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) मा चर्किएको त्रिपक्षीय संघर्षले नयाँ मोड लिएको छ ।

यसअघि कार्यकारिणी समितिले अध्यक्ष उपेन्द्र,संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई रहेको ‘हेडक्वार्टर’ निर्माण गरी महत्वपूर्ण निर्णयमा तीनै जनाको हस्ताक्षर अनिवार्य गर्ने अधिकार दिए पनि अस्तिको निर्णयपछि दुई नेता अधिकारविहीन बनेका छन् । योसँगै जसपामा चर्किएको विगत लामो समयदेखिको अन्तरकलह फुटउन्मुख भएको बताउन थालिएको छ ।

जसपामा आन्तरिक विवाद बढेपछि गत फागुन ३० गते केन्द्रीय समिति बैठक बस्न नसकेको खण्डमा तीन जना नेताले निर्णय लिने र तीनै जनाको हस्ताक्षर अनिवार्य हुने निर्णय भएको थियो । तर,स्थानीय तहको निर्वाचनपछि सो निर्णयअनुसार काम कारबाही नभइरहेको बेला उपेन्द्र पक्षले भट्टराई र राई दुवैलाई ‘आउट’ गरी मन्त्री हेरफेरको अधिकार अध्यक्ष यादवलाई दिएको हो ।

राति यो निर्णय हुनुअघि अशोक राईसहित दोस्रो तहका नेताहरुले विवाद मिलाउन भन्दै छुट्टै आन्तरिक छलफल गरेका थिए । खुसिबुस्थित नेपाः ब्याङ्क्वेटमा अस्ति भएको उक्त छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहेका नेता राजेन्द्रप्रसाद श्रेष्ठ, वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादव, संघीय सांसद मृगेन्द्रकुमार सिंह, मोहम्मद इतियाक राइन,मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलगायत करिब एक दर्जन नेता सहभागी रहेको बताइएको छ ।

उक्त छलफलमासमेत सहभागी रहेका अध्यक्ष यादव पक्षका एक नेताका अनुसार बाबुराम भट्टराईले पार्टी फुटाउन गृहकार्य तीब्र पारेपछि सम्भावित दुर्घटना रोक्न रातारात यस्तो निर्णय गर्नु परेको हो ।

यता, यादव पक्षको हिजो पार्टी कार्यालयमा बसेको बैठकले डा.भट्टराईलगायतलाई कारवाहीको प्रक्रिया अघि बढाएपछि जसपाभित्रको रडाको छताछुल्ल भएको छ ।

टिप्पणीहरू