केपी,प्रचण्ड,माधव,वामदेवले ककपिट छाडेर बिजनेस क्लास रोजे के हुन्छ ?

केपी,प्रचण्ड,माधव,वामदेवले ककपिट छाडेर बिजनेस क्लास रोजे के हुन्छ ?

०७४ को संसदीय चुनावमा जनताले वामपन्थीहरुलाई दिएको अपार समर्थन तत्कालीन नेकपाको विवादका कारण तीन वर्ष पनि टिक्न सकेन । नेपालमा कम्युनिष्टहरुले ३० वर्ष अकन्टक शासन गर्ने शीर्ष नेताहरुका उदघोष उनीहरुकै जुँगाको लडाईका कारण मिथ्या सावित हुन पुग्यो । करिब दुई तिहाई जनमतसहित प्रधानमन्त्रीको कुर्सीमा उक्लिनुभएका केपी ओलीले तीन वर्ष नपुग्दै सत्ताबाट बाहिरिनु पर्यो ।

प्रचण्डसँग आधा-आधा कार्यकालको गोप्य कागज गरेर कुर्सीमा उक्लेको तीन वर्ष नपुग्दै ओली नेतृत्वको सरकारमात्रै ढलेन,शक्तिशाली नेकपा पनि विभाजन भयो । हिजो वामदेव गौतमले नयाँ पार्टी घोषणा गरेसँगै तत्कालीन नेकपा चार चिरामा विभाजित भएको छ । यसको एकमात्र कारण हो,नेताहरुको इगो ।

“नेपालमा अहिले पनि झन्डै ६५ प्रतिशत वामपन्थी जनमत देखिन्छ । छरिएर रहेको त्यहि जनमत एक ठाउँमा आएकै कारण केपी नेतृत्वमा नेकपाको सरकार तीन वर्ष चलेको हो । जब जनमत खण्डित भयो,तब संघीय सरकारमात्र गएन, प्रदेशका सरकारहरु पनि गर्ल्यामगुर्लुम ढले ।”

नेताहरुको इगोले नेकपा तहसनहस भएपछि पुरानै अस्तित्वमा फर्किएका एमाले र माओवादी केन्द्रबीच विचार, सिद्धान्त,राजनीतिक कार्यदिशा र कार्यक्रममा तात्विक फरक छैन । एमालेबाट फुटेको एकीकृत समाजवादी र नेकपा नफुट्दादेखि नै एकता अभियान थालेका वामदेवको ‘नेकपा एकता अभियान’ पनि बैचारिक हिसाबले एमाले र माओवादीभन्दा फरक देखिंदैन ।

त्यसैले नेकपा हुँदै एमालेसम्मको फुटको ‘जस्तिफाई’ बैचारिक हिसाबले पटक्कै देखिंदैन । केवल पहिलो पुस्ताका नेताहरुको अहंकार, कुण्ठा,अर्काको अस्तित्व स्वीकार नगर्ने एकलकांटे कार्यशैली र मूलत: व्यक्तिगत इगो नै विभाजनको मुख्य कारण थियो,जुन घटनाक्रमले पुष्टि भैरहेको छ ।

अहिले वामदेव गौतमसहित एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका दोस्रो तहका नेताहरुले वाम तालमेल हुँदै पार्टी एकतासम्मको प्रयासमा जुटेका छन् । तर,चुनाव जित्न र आफू सत्तामा उक्लन गठबन्धन र पार्टी एकताको आवश्यकता महसुस गर्ने तिनै ७० कटेका बूढा नेताहरुको इगो बाधक बन्ने देखिंदैछ ।

“यदि ओलीले आफू अभिभावकको भूमिकामा बसेर कार्यकारी जिम्मेवारीमा नरहने घोषणा गर्ने हो भने अरु नेतालाई पनि दबाब पर्छ र त्यसले पार्टी एकताको मार्ग फराकिलो बनाउँछ । ओली, प्रचण्ड, माधव र वामदेवले हिजोको जस्तो पाइलट हैन बिजनेस क्लासको यात्रीका भूमिकामा रहने त्याग गर्न सक्नुपर्छ । “

नेपालमा अहिले पनि झन्डै ६५ प्रतिशत वामपन्थी जनमत देखिन्छ । छरिएर रहेको त्यहि जनमत एक ठाउँमा आएकै कारण केपी नेतृत्वमा नेकपाको सरकार तीन वर्ष चलेको हो । जब जनमत खण्डित भयो,तब संघीय सरकारमात्र गएन, प्रदेशका सरकारहरु पनि गर्ल्यामगुर्लुम ढले ।

राष्ट्रियसभा,इन्जिनियरिङ्ग,नेपाल बार एशोसियसन,पत्रकार महासंघ गुम्यो । स्थानीय तहमा एमालेलाई नसोचेको झड्का लागिसकेको छ । यो भन्दा ठूलो क्षति वामपन्थीहरुका दैलोमै आइसकेको छ । आउँदो मंसिरको संघ तथा प्रदेशको चुनावले सांसदमात्रै छान्ने होइन,राष्ट्रपति, उपराष्ट्रपति,सभामुख,उपसभामुख, राष्ट्रियसभा अध्यक्ष,उपाध्यक्ष,प्रदेश प्रमुख,मुख्यमन्त्री हुँदै संघीय सरकारको नेतृत्व पनि चुनावको परिणामले टुंगो लाग्छ ।

यति ठूलो क्षति व्यहोरिसक्दा पनि शीर्ष नेताहरुमा अहंकार,दम्भ,कुण्ठा उस्तै छ । त्यसैले अब थप क्षति रोक्ने हो भने चार वटै पार्टीको दोस्रो र तेस्रो पुस्ताका नेताहरुले तिनै असफल बूढा नेताको फेरो समातेर मात्रै आफ्नो राजनीति सुरक्षित हुन्छ भन्ने चिन्तन त्यागी एकताका लागि निर्णायक पहल थाल्न ढिला भैसकेको छ । त्यसका लागि सबैभन्दा पहिले ओली, प्रचण्ड,माधव नेपाल,झलनाथ खनाल र वामदेव गौतमसहित पहिलो पुस्ताका नेताहरुलाई स-सम्मान विदाई गर्नुपर्छ ।

यो किन भनिएको हो भने,हालै वामदेवले त्यागको कुरा उठाउनु भएको छ । ओली प्रधानमन्त्री त्याग्न तयार हुँदाहुँदै प्रचण्ड र माधवले जवर्जस्ती गरेकाले पार्टी फुटेको वामदेवको भनाइ सत्य हो भने अहिले संसदीय दलको नेता वा अध्यक्षमध्ये एक पद छोडेर पार्टी एकताका लागि सार्वजनिक आह्वान गर्न के ले रोकेको हो ?

यदि ओलीले आफू अभिभावकको भूमिकामा बसेर कार्यकारी जिम्मेवारीमा नरहने घोषणा गर्ने हो भने अरु नेतालाई पनि दबाब पर्छ र त्यसले पार्टी एकताको मार्ग फराकिलो बनाउँछ । ओली, प्रचण्ड,माधव र वामदेवले हिजोको जस्तो पाइलट हैन बिजनेस क्लासको यात्रीका भूमिकामा रहने त्याग गर्न सक्नुपर्छ ।

नेकपाको एकता हुँदै विभाजन र एमालेको फुटमा इश्यु भन्दा पनि इगो नै मुख्य कारण थियो भन्ने कुरा क्रमश: थप खुल्दै छ । हालै वामदेवले त्यतिबेला प्रचण्डले पार्टीमा पेश गरेको १९ पेज लामो दस्तावेज (जसलाई आरोपपत्र भनिएको छ) फिर्ता नलिएका कारण ओली तयार हुँदाहुँदै पनि विभाजन रोक्न नसकेको बताउनुभयो ।

त्यसको प्रचण्डले सार्वजनिक खण्डन पनि गरिसक्नु भएको छ । भन्न त आरोपपत्रको ड्राफ्ट र ‘फाइनल टच’ नै वामदेवले गरेको भनिन्छ । जानकारहरुका भनाइ मान्ने हो भने प्रचण्डले ‘यति कडा नगरौँ’ भन्दा ‘हुँदैन,यहीबेला ठोक्ने हो’ भनेर वामदेवले सुर्याउनु भएको हो । यदि वामदेवकै भाषामा आरोप पत्रकै कारण नेकपा फुटेको हो भने त्यसको जिम्मा उहाँले लिन पर्ने कि नपर्ने ?

टिप्पणीहरू