राजीनामा कसैले माग्दैमा दिने चिज हो ? : अर्थमन्त्री शर्मा

राजीनामा कसैले माग्दैमा दिने चिज हो ? : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रतिपक्षलाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने बताउनु भएको छ । आज राष्ट्रिय सभाको बैठकमा विनियोजित बजेटका विकासमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री शर्माले आफूले अर्थमन्त्रीको हैसियतमा ल्याएको बजेट देश र जनताको पक्षमा भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विपक्षी दल र तिनका सांसदलाई अनैतिक लाग्दैमा राजीनामा दिनुपर्ने हो र ? राजीनामा कसैले माग्दैमा दिने चिज पनि होइन ।’ उहाँका अनुसार आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्रीको व्यक्तिगत नभएर प्रतिष्ठित व्यवसायी, अर्थविद्, नागरिक र सबै सांसदको सुझावको आधारमा ल्याइएको उहाँको दाबी छ ।

मन्त्री शर्माले बजेट कार्यान्वयन गर्दा आयात प्रतिस्थापन, गरिबी हटाउने र मानव विकास सूचकाङ्क वृद्धि गर्ने प्रष्ट अंक बजेटमा समावेश गरिएको रटान लगाउनुभएको छ । उहाँका अनुसार बजेटमा तोकिएका आँकडा कार्यान्वयन हुने र भावी दिनमा देशको औद्योगीकरणमा आउने परिवर्तन, उत्पादन र प्रतिस्थापनमा देखिने परिवर्तनले सबै कुरालाई पुष्टि गर्छ । त्यसबेला सबैले अहिले गरिएको विरोध गलत थियो भन्ने दिन आउने उहाँको भनाइ छ ।

उहाँले दोहोर्याउँदै भन्नुभयो, ‘यो बजेट देश र जनताको पक्षमा ल्याएको कारणले कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्ने हो र ? कसैले केही कुराको माग गर्दैमा त्यही गर्नुपर्छ भन्ने होइन, यो इतिहासले प्रमाणित गर्नेछ ।’

टिप्पणीहरू