गजल कार्यक्रममा विद्यार्थीको नृत्य, ज्येष्ठ नागरिकको गीत

गजल कार्यक्रममा विद्यार्थीको नृत्य, ज्येष्ठ नागरिकको गीत

ताप्लेजुङ फुङलिङमा कञ्चनजंघा साहित्यिक प्रतिष्ठानले गजल प्रतियोगिता आयोजना गरेको छ । प्रतिष्ठान ताप्लेजुङले अस्ति आयोजना गरेको गजल प्रतियोगितामा ६ वर्षका मिराक वनेम लिम्बूदेखि ७० वर्षका गजलकारहरुले भाग लिएका थिए ।

चन्द्रमादेन आन्छन् सहित्यिक पुरस्कारअन्तर्गत सञ्चालित उक्त कार्यक्रममा मिक्वाखोला ४ साँवाका रोशन गुरुङ पहिलो भएका छन् । दोस्रोमा फुङलिङ नगरपालिका ६ बस्ने नवराज आचार्य र फुङलिङ नगरपालिका २ का टुकेन्द्र मादेन तेस्रो स्थान ओगट्न सफल भएका छन् ।

विजयी गजलकारहरुलाई जिल्ला न्यायाधीश प्रकाश राउत र प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नुभएको हो । पहिलो पुरस्कार १० हजार, दोस्रो पुरस्कार पाँच हजार र तेस्रो पुरस्कार तीन हजार राशी राखिएको थियो ।

कार्यक्रममा कक्षा ३ का मिराक लिम्बूदेखि प्राध्यापकसम्मले भाग लिएको कार्यक्रममा साना भाइबहिनीहरुले सक्रिया सहभागिता थियो । लिटल बुद्ध आवासीय माविका ६ वर्षिय मिराक लिम्बू, भानु माविका ११ वर्षीय न्याराफुङ मादेन र १२ वर्षे विशिक केदेमलाई प्रोत्साहनस्वरुप पतञ्जली योगकी भूतपूर्व अध्यक्ष तथा ढाका व्यवसायी शान्ति मादेनले जनही एक हजार रुपैयाँका दरले पुरस्कृत गर्नुभएको छ ।

कञ्चनजंघा साहित्यिक प्रतिष्ठान ताप्लेजुङले विगत वर्षदेखि नै चन्द्र मादेन आन्छन् सहित्यिक पुरस्कार कार्यक्रम सञ्चालन गर्दै आएको छ । चन्द्रमादेन आन्छन्ले तीन लाख रुपैयाँको राशीबाट प्राप्त हुने ब्याजबाट वार्षिक रुपमा साहित्यिक कार्यक्रम गर्दै आएको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले साहित्य समाजको आँखा रहेको उल्लेख गर्दै नवोदित साहित्यिक कलिला मुनाहरुको साहित्यिक यात्रा सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले नृत्यहरु प्रस्तुत गरेका थिए भने ७० वर्ष उमेर कटेका भरत गुरुङले गीत गाउनुभएको थियो । कञ्चनजंघा साहित्यिक प्रतिष्ठानका अध्यक्ष कमल भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव शान्तिराम नेपालले सञ्चालन गर्नुभएको थियो ।

टिप्पणीहरू