मतदाता थपिन अब चाहिँ मुश्किल

मतदाता थपिन अब चाहिँ मुश्किल

आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन लक्षित मतदाता नामावली संकलन कार्य वर्षाका कारण प्रभावकारी नहुने देखिएको छ । वर्षामा आवतजावत प्रभावित हुने र ग्रामीण भेगका नागरिक खेतीमा व्यस्त हुनुपर्दा नामावली संकलन प्रभावकारी नहुने देखिएको हो ।

निर्वाचन आयोगले गाउँ-गाउँमा टोली खटाएर नामावली संकलन गर्ने योजना पनि वर्षाकै कारण रोकिएको हो । मध्यवर्षा लागिसकेकाले अब देशभर बाढी,पहिरो र डुबानको समस्या आउने हुँदा हुम्ला,जुम्ला, मुगुजस्ता कर्णालीका दुर्गम जिल्ला र तराईमा टोली पठाएर नामावली संकलन गर्न सम्भव नहुने निर्वाचन आयोगले जनाएको छ ।

अर्कोतिर निर्वाचनको मिति घोषणा भएपछि नामावली संकलन गर्न नमिल्ने कानुनी व्यवस्था भएकाले पनि आयोगले टोली खटाउन नचाहेको हो । असारको अन्तिम या साउनको पहिलो साता चुनावको मिति घोषणा हुने सम्भावना छ । मिति घोषणा भएपछि नामावली संकलनको काम स्थगित गर्नुपर्ने हुन्छ। त्यसो हुँदा दुर्गममा पुगेका कर्मचारीलाई फिर्ता बोलाउनुपर्ने भएकाले टोली खटाएर नामावली संकलनको सम्भावना नरहेको आयोगका एक पदाधिकारीले बताए ।

‘दुर्गममा टोली पठाएर नामावली संकलन गर्नै डेढ महिना लाग्छ । त्यसअघि नै चुनावको मिति घोषणा भए सबै काम स्थागित गर्नुपर्छ’, अप्ठेरो सुनाउँदै उनले भने, ‘मतदाता लाइनमा भएका बेला रोक्नु पर्यो भने राम्रो हुँदैन भनेर टोली नखटाएको हो । दलहरुले त आग्रह गरेका थिए ।’

अघिल्लो साता निर्वाचन आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेका काङ्ग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि टोली खटाएर मतदाता नामावली संकलनको सम्भावनाबारे जिज्ञासा राखेका थिए । उक्त छलफलमा पनि आयोगका पदाधिकारीहरुले चुनावको मिति घोषणालगत्तै नामावली संकलन कार्य रोक्नुपर्ने भएकाले सम्भावना नरहेको जवाफ दिएको आयोग स्रोतले बताएको छ ।

असारको अन्तिम या साउनको पहिलो साता चुनावको मिति घोषणा हुने सम्भावना छ । प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुको पदावधि आगामी मंसिर २२ गते सकिदैंछ । कानुनत: कम्तिमा १२० दिनअघि चुनावको मिति घोषणा गर्नुपर्ने हुन्छ ।

टिप्पणीहरू