रामकुमारीको आँशुले दिएको संकेत

रामकुमारीको आँशुले दिएको संकेत

सहरी विकास मन्त्रीको जिम्मेवारीबाट हट्नुपूर्व एकीकृत समाजवादीकी सचिव मन्त्री रामकुमारी झाँक्रीले बरर्र आँसु खसालिन् । पत्रकार सम्मेलनमा मन्त्रालयका अधिकारी र सञ्चारकर्मीहरुको सामुन्ने उनले परम्परागत विवाह समारोहमा माइती पक्षले बेहुलासँग अन्माउन लाग्दाझैँ खसालेको आँशुलाई धेरैले अनेक किसिमले अर्थ लगाएका छन् ।

विद्यार्थीकालदेखि नै सशक्त आन्दोलन गर्दै आएकी झाँक्रीले मन्त्रीको जिम्मेवारीबाट हट्ने निश्चित भएपछि अपमानवोध गर्दै खसालेको आँशु र मुुटुमा गाँठो पारेर राखेको धारणालाई स्वयम् महिला र महिला अधिकारकर्मीहरुले नै आलोचना गरेका छन् ।

एक जनाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बिहेपछि जन्मघरबाट बिदाइ हुँदा रून छाडेका आधुनिक महिला मन्त्रालय छाड्नुपर्दा गहभरि आँशु पारेर रुँदा रहेछन् । महिला सशक्तिकरण भनेको यही होला ।’

राजनीतिमा प्राप्त हुने पद र प्रतिष्ठालाई क्षणिक मान्नेको निम्ति आँशु शब्दकोषमा मात्र हुने समाजशास्त्री र मनोवेत्ताहरु बताउँछन् । पौने एक वर्षअघि एमाले छाडेर नेकपा एकीकृत समाजवादी गठन गर्दा राजधानीमा आयोजित एक आमसभालाई सम्बोधन गर्न जाने क्रममा झाँक्रीले देखाएको शैलीलाई धेरैले रुचाएका थिए । उनले शरीरमा लगाइएको ज्याकेट फुकालेर भीड भएको ठाउँतिर फालिदिएकी थिइन् ।

त्यसपछि मञ्चमा उभिएर मुखमा लगाएको मास्क फालिन् । त्यसभित्र उनको मुखमा बुजो लगाइएको संकेतस्वरुप कालो टेप टाँसिएको थियो । ओली शासनको बेला शीतल निवाससँग जोडिएको एउटा विषयमा उनीसँग प्रहरीले गरेको सोधपुछलाई अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर मुखमा टेप लगाएकी थिइन् । त्यहि टेप खोलेर धुँवाधार भाषण गरेकी हुन् ।

तर आज उनै झाँक्रीले एक सय ८० डिग्री उल्टो फर्केर पद र जिम्मेवारी त्याग्नुपर्दा सार्वजनिक रुपमा आँशु थाम्न सकिनन् । जस्तोसुकै आपतकालीन अवस्थामा समेत आत्मबल दह्रो बनाउने वामपन्थी नेताहरुको परिचयलाई उनले आज तोडेको भनी आलोचना गर्नेहरु देखिएका छन् । यस्तै पद त्याग प्रकरणमा शेरबहादुर तामाङ्ग र रामकुमारीवीचको समानता र भिन्नता खोज्नेहरु पनि यसवीच प्रशस्त पाइएका छन् ।

 

टिप्पणीहरू