बितेका सुशील कोइराला आउँछन् र ब्युँतेर ?

बितेका सुशील कोइराला आउँछन् र ब्युँतेर ?

नेपालको राजनीतिमा पटक पटक अरुको थाप्लोमा दोष थोपरेर आफू र आफ्नो संस्थालाई पानीमाथिको ओभानो बनाउने दुष्प्रयत्नहरूको पुनराबृत्ति हुन थालेको छ ।

राजनीतिमा पनि हवाईजहाज दुर्घटनामा मृतक पाइलटलाई दोष देखाएर वीमा रकमबाट खर्च उठाउने गरिएजस्ता दृष्टान्त भेटिन थालेका छन् । राजेन्द्र खेतानले मायोज चाउचाउको फ्याक्ट्रीमा आफैँले आगो लगाएर आफूसम्बद्ध एभरेष्ट इन्स्योरेन्सबाट वीमा रकम असुलेको घटना पुरानो भएको छैन ।

नेपालका थुप्रै हवाई दुर्घटनामा मृतक पाइलटलाई दोष देखाएजस्तो अहिलेको राजनीतिमा पनि त्यस्तै हुने गरेको छ । मृतक पाइलट फेरि ब्युँतेर आफ्नो सफाई पेश गर्न नआउने, तर उसको कारण परिवारले पुस्तौँपुस्ता झेल्नुपर्ने अपमान बेहिसाब छ ।

जसरी केपी ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालाको थाप्लोमा हाल्ने प्रयास गर्नुभयो, यसबाट राजनीतिमा पनि विमान दुर्घटनापछिको दाउपेच अपनाउन थालिएको बुझिन्छ ।

आफूलाई जानकारी नदिइएको, थाहा नभएको भनेर उम्किन खोज्दै हुनुहुन्छ । उहाँले यस्तो भनिरहँदा केही प्रश्न अगाडि तेर्सिन्छन् । जस्तो कि, एमसिसीलाई कसले अगाडि बढायो ? संसदबाट पारित हुनुपर्ने प्रावधान कसले राख्यो ? अनेकन उपाय गरेर त्यसलाई पास गराउने वातावरण कसले बनायो ?

अहिले एसपिपीबारे थाहा छैन भन्ने कुरा पत्याउन नसकिने आधार के हो भने, उहाँको कार्यकालमा मन्त्रीहरू काम गर्न कति स्वतन्त्र थिए । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ई–पासपोर्ट र राजदूत नियुक्तिसम्बन्धी मापदण्डको प्रस्ताव क्याबिनेट बैठकमा लैजाँदा रिसाउँदै मन्त्रीतिर हु¥र्याएको र मुख्यसचिव लोकदर्शन रेग्मीले कागजपत्र बटुलेको घटना स्मरणीय छ ।

पर्यटन मन्त्री योगेश भट्टराईले क्याबिनेट लैजानुपर्ने प्रस्ताव सञ्चारमन्त्री गोकुल बाँस्कोटामार्फत पुग्नुपर्नेजस्तो गैर मर्यादित काम पनि उहाँकै पालामा भएको थियो । एउटा क्याबिनेट मन्त्रीले आफूभन्दा जुनियर मन्त्रीमार्फत प्रधानमन्त्रीलाई फाइल पु¥याउनु पर्ने कुरा कति पीडादायी थियो होला ? अर्थात्, प्रधानमन्त्रीको जानकारीबेगर केही नहुने स्थिति उहाँकै पालामा थियो ।

महिला मन्त्री थममाया थापा ६ महिनासम्म प्रधानमन्त्री भेट्न नपाएको गुनासो अझै गर्छन् । अहिले एसपिपी प्रकरणमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई दोष देखाएर उहाँ उम्किन सक्नुहुन्छ भन्नेमा कोही पनि विश्वस्त छैनन् ।

उक्त प्रस्तावमा तत्कालीन सेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका थिए । अहिले अमेरिकामै रहेका राजेन्द्र बोल्दैनन्, बितेका सुशील व्युँतिएर आउँदैनन् । तर, त्यतिबेलाका रक्षासचिव ईश्वरी पौडेल (हाल निर्वाचन आयुक्त)ले भनेकै छन्, ओलीलाई सोधेरै लेखिएको थियो अमेरिकालाई पत्र ।

टिप्पणीहरू