बाग्लुङ्गमा पम्प पड्किए को जिम्मेवार ?

बाग्लुङ्गमा पम्प पड्किए को जिम्मेवार ?

राजेशचन्द्र राजभण्डारी

बागलुङ सदरमुकाममा एकजना व्यवसायीले सत्ता र शक्तिको आडमा राज्यलाई चुनौति दिएका छन् । उनले अवैध रूपमा पेट्रोल पम्प सञ्चालन गरेर उक्त चुनौति दिएका हुन् ।

उनले खुल्लमखुल्ला नियम विपरित पेट्रोल पम्प सञ्चालन गरिरहँदा नेपाल आयल निगमलगायत सरोकारवाला निकाय निरीह बनेको देखिएको हो ।

बागलुङ नगरपालिका २,पुरानो बसपार्कको घुम्ती नजिकै व्यवसायी हरिबाबु सापकोटाले नियम विपरित पेट्रोल पम्प चलाउँदै पम्पमाथि पाँच तलाको होटल प्रभा सञ्चालन गर्दै आएका छन् ।

सत्तारुढ दलनिकट सापकोटाले न घर बनाउन नगरपालिकाबाट स्वीकृति लिएका छन् न पेट्रोल पम्प सञ्चालनको अनुमति नै पाएका छन् ।

पेट्रोल पम्प एकातिर आफैंमा अति जोखिमपूर्ण छ । संवेदनशील विषयमा राज्यका निकाय निरीह बन्नुको पछाडि राजनीतिक दबाब, प्रभावकै चलखेल भएको स्थानीयको भनाइ छ ।

तल पेट्रोल पम्पमाथि अवैध रूपमा होटल सञ्चालन भइरहँदा त्यसलाई रोक्ने र छेक्ने निकायका प्रमुखहरू नै सोही होटलमा सरकारी निकायका कार्यक्रम सञ्चालन गरेर अवैध काम गर्ने व्यक्तिलाई प्रोत्साहन दिने काम गरिरहेका छन् ।

अवैध पेट्रोल पम्पबारे खबर सम्प्रेषण भएपछि आयल निगमले केही समय पेट्रोल दिन रोक लगाएको थियो । पछि राजनीतिक दबाब र प्रभावमा पुनः व्यवसाय सञ्चालन हुन थालेको हो ।

बागलुङ नगरपालिकामा अहिलेसम्म चार जना प्रमुख प्रशासकीय अधिकृत सरूवा भइसकेका छन् । तर कसैले पनि अवैध कार्यलाई वैधताको स्वीकृति दिन नमानेपछि भवनको नक्सासमेत हालसम्म पारित हुन सकेको छैन ।

पेट्रोल पम्पमाथि राखिएको होटल जुन र जतिसुकै बेला पनि बिस्फोट र आगलागीमा पर्न सक्ने कुरामा कुनै शंका छैन । यस्तो संवेदनशील विषयमा अहिले चुपचाप बसिरहँदा आगामी दिनमा कुनै दुर्घटना भएको अवस्थामा यसको जिम्मेवारी कसले लिने ? बागलुङका जनताले प्रश्न गरिरहेका छन् ।

टिप्पणीहरू