कांग्रेस घमण्डी, कम्युनिष्ट संकीर्ण

कांग्रेस घमण्डी, कम्युनिष्ट संकीर्ण

स्थानीय तह निर्वाचन २०७९ मा खासगरी दुइटा गठबन्धन थिए : एउटा नेपाली कांग्रेस, नेकपा माओवादी (केन्द्र), नेकपा समाजवादीसहित केही र अर्काे नेकपा (एमाले), परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित केही दलको । तर ठूला समाचार माध्यमले कांग्रेस–माओवादी गठबन्धनलाई मात्र गठबन्धन भनी प्रचार गरेपछि आम मानिसमा एउटा मात्र गठबन्धन भन्ने बुझाइ रह्यो ।

अर्काेलाई मानिसले गठबन्धनभन्दा पनि एमाले मात्रै भनेर बुझे । अर्थात् मानिसमा के भ्रम रह्यो भने गठबन्धन एकातिर र एमाले एक्लै अर्काेतिरबाट भिडेका हुन् । त्यसैले अहिले मुलुकमा भएको दुई गठबन्धनलाई सत्तापक्ष र प्रतिपक्ष गठबन्धन भन्दा सबैले प्रष्ट बुझ्ने स्थिति बन्छ ।

प्रतिपक्ष गठबन्धन भने अहिले पनि बलियो देखिन्छ । बाहिरबाट हेर्दा कुनै विवाद, असन्तुष्टि पाइन्न । तर कांग्रेससहितको सत्तापक्षीय गठबन्धनमा स्थानीय तह निर्वाचनपछि केही असन्तुष्टि, शंका उत्पन्न भइरहेको छ । कांग्रेसको व्यवहारप्रति गठबन्धनमा सम्मिलित सबै दलको दिलखुश छैन । नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र जनता समाजवादी पार्टीले खुलेर नै असन्तोष व्यक्त गरेका छन् ।

हुन पनि कम्युनिष्टहरू सबैले खुलेर रूखमा भोट हाल्न तयार हुने कांग्रेसलाई कम्युनिष्टका चिन्हमा भोट हाल्न पर्दा अपराध गरे जस्तै लाग्ने स्थितिले यो गठबन्धनप्रति असन्तुष्टि उत्पन्न हुनु स्वाभाविक नै हो । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा खेमाभन्दा फरक धारका नेता (गगन, कोइराला) हरूले कम्युनिष्टसँगको गठबन्धनलाई मन पराएका छैनन् । उनीहरूले कम्युनिष्ट उम्मेदवारलाई सहयोग पनि गरेनन् ।

यद्यपि सत्ता पक्षको गठबन्धनले थेरथोर भए पनि सबैलाई फाइदा भएको कुरा भुल्न हुँदैन । हो, फाइदा कांग्रेसलाई बढी भयो, अन्य दललाई भनेजस्तो भएन तर गठबन्धन गरेर बेफाइदा नै भयो भन्ने निश्कर्षमा पुगिहाल्न भने हुँदैन । जसपा अध्यक्षका छोराले जितेनन् भन्दैमा सत्तापक्षीय गठबन्धन टुटाउन पर्छ भन्ने कोणतिर ढल्कने हो भने फेरि राजनीतिक अस्थिरता आउन सक्छ ।

केही वर्षअघि कम्युनिष्टहरू एकगठ भएर जानैपर्छ भन्ने लाग्थ्यो । कम्युनिष्ट एकता (खासगरी एमाले र माओवादी) भयो पनि । त्यसले सुखद् परिणाम ल्यायो । जताततै कम्युनिष्ट एकछत्र भए । सत्तामा झण्डै दुई तिहाइ पुग्यो तर कम्युनिष्ट संकीर्णता, निम्न पुँजीवादी एकमना चिन्तन, व्यक्तिवादजस्ता गैरकम्युनिष्ट व्यवहार र चरित्रका कारण त्यसले निरन्तरता पाउन सकेन । सरकार त ढल्यो नै, पार्टी पनि टुक्रा–टुक्रा भयो । दुई पार्टीको एकता सिसिफसको कथा झैँ पुरानै अवस्थामा फर्कियो । त्यसका कारण अहिलेको सत्तापक्षीय गठबन्धन जन्मन पुग्यो । अहिले पनि मनमा तुष बाँकी नै छ वरिष्ठ नेताका ।

मन सफा गरेर सत्तापक्षीय गठबन्धनलाई नै मिलाई लान सक्दा आगामी निर्वाचनमा पनि राम्रो परिणाम आउन सक्छ । किनकि कांग्रेस, कम्युनिष्ट मिल्नै नसक्ने भन्ने छैन । यी दुवै धारको इतिहास गौरवमय र संघर्षशील छ । कांग्रेस राणाशासनविरुद्ध र २०१७ सालमा राजाले कु गरेपछि पनि सशस्त्र संघर्षमा उत्रिएको पार्टी हो ।

नेकपा समाजवादी झापा विद्रोह (२०२८) को अनुभव लिएको एमालेबाट जन्मिएको पार्टी हो । माओवादीको बारेमा त धेरै भन्नै परेन । जसपा र जनमोर्चा विभिन्न जनआन्दोलन, संघर्षमा कांग्रेस र कम्युनिष्टसँग मिलेरै आएका पार्टी हुन् । प्रारम्भिक दस्तावेज पढ्यो भने, कांग्रेससमेत गर्भावस्थामा माक्र्सवादी–लेनिनवादी अर्थात् प्रगतिशील राज्यसत्ताका लागि प्रेरित भएको पाइन्छ । नत्र त अहिले विशुद्ध शान्तिको हरिनाम जप्ने कांग्रेस सिद्धान्ततः बन्दुक उठाउने पार्टी नै होइन ।

०४६ सालपछि कांग्रेस, कम्युनिष्ट नमिल्दा बहुदलीय प्रजातन्त्रको पूरा समय अस्थिरता, खिचातानी, सशस्त्र द्धन्द्धमा बित्यो । त्यसैको परिणाम पटक पटक शाही कू भयो । अन्ततः त्यसलाई परास्त गर्न पनि कांग्रेस, कम्युनिष्ट नमिली भएन । त्यही शक्तिको बलमा २०६२/०६३ को जनआन्दोलनको उभार आयो । त्यही उभारले शाही कूलाई मात्रै बढारेन, राजतन्त्रलाई नै सदाका लागि बिदाइ ग¥यो । २००७ सालदेखि थाती रहेको संविधानसभा निर्वाचन पहिलोचोटी हुनसक्यो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो ।

नयाँ संविधान (२०७२) जारी र त्यसको कार्यान्यवन निम्ति पनि कांग्रेस, कम्युनिष्ट नै मिल्न प¥यो, सहकार्य, सहमतिमा जुट्नुप¥यो । यी र यस्तै आधारमा कांग्रेस, कम्युनिष्ट सहकार्य अझै अघि बढ्न सक्छ, बढ्नुपर्छ । कांग्रेसले भन्ने गरेको अन्तिम लक्ष्य समाजवाद हो, भने कम्युनिष्टको अन्तिम यात्रा साम्यवाद । समाजवाद साम्यवादमा पुग्ने बाटो हो भने कम्युनिष्ट त्यहाँ (समाजवाद) सम्म त सजिलै जान राजी हुन्छ ।

अनि आफ्नो अन्तिम लक्ष्य (समाजवाद) सम्म साम्यवादीसँगै हिँड्न कांग्रेसलाई के को लाज, के को धक, केको घमण्ड, के को अहंकार ? मुलुकमा राजनीतिक स्थिरता, स्थायी शान्ति, समृद्धि, विकास नहुञ्जेल कांग्रेस, कम्युनिष्ट कुममा कुम, काँधमा काँध मिलाएर अघि बढ्न सक्छन् । बढ्न सक्नु पनि पर्छ । किनकि अझै केही वर्ष मुलुकलाई यो सहकार्य आवश्यक छ । फरक यति हो, कांग्रेसमा घमण्ड, अहंकार बढी छ, यो त्याग्नुपर्छ । कम्युनिष्टले आपूmलाई अन्तर्राष्ट्रिय जातिवादी भन्ने गरे पनि बढी संकीर्णता छ । यसलाई हटाउनुपर्छ ।

टिप्पणीहरू