योगेश,घनश्यामबाट कहिले सिक्ने रामकुमारी कमरेड ?

योगेश,घनश्यामबाट कहिले सिक्ने रामकुमारी कमरेड ?

राजनीतिका निर्णायक मोडहरुमा नेताहरुले लिने निर्णय र चाल्ने कदमले नै उनीहरुको वास्तविक क्षमता देखिने हो । नैतिकताको समेत मापन हुने त्यस्ता मोडले कहिलेकाहीं उनीहरुको समग्र राजनीतिक जीवनकै परीक्षा लिइरहेको हुन्छ । परीक्षामा पास हुनेहरु निरन्तर अघि बढ्छन् भने फेल हुनेहरु आफैँ किनारा लाग्छन् । यो राजनीतिको नियम पनि हो ।

अहिले त्यस्तै परीक्षामा छन्,एकीकृत समाजवादीका मन्त्रीहरु । त्यसमा पनि धेरैले आशा गरेको र युवापंक्तिले आदर्श मानेको रामकुमारी झाँक्री केन्द्रमा छिन् । पार्टीले गरेको हेरफेरको निर्णयलाई ४ मन्त्रीले चुनौती दिएपछि समाजवादीमा रडाको छ । समाजवादीले त एउटा विधिअनुसार यो मामलालाई पक्कै पनि टुंगोमा पुर्याउला । तर,दलीय व्यवस्थामा पार्टीको निर्णय अस्वीकार गर्नेहरुको राजनीतिक भविष्यको टुंगो पो कसरी लाग्ला ? कम्युनिष्ट आन्दोलन,राजनीतिक प्रणाली,विधि पद्धति अनि नैतिकताको सवाल उठ्दा स्थान कहाँ रहला ?

योगेश भट्टराई र घनश्याम भुसाल त प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको निर्णयमा असहमत भएपछि मन्त्री पद नै त्यागेर सडकमा ओर्लिएका हुन् । मन्त्रीका लागि सम्झौता गरेको भए थप चार महिना उनीहरुको जागिर कसैले खान सक्ने थिएन,तर उनीहरुले पदभन्दा नैतिकतालाइ महत्व दिए ।

झाँक्री शहरी विकास मन्त्रीसँगै एकीकृत समाजवादीकी सचिव पनि हुन् । त्यसभन्दा बढी युवा पंक्तिले आशा गरेको र रुचाएको थोरै नेतहरुमध्येमा उनको नाम पनि पर्छ । सिंहदरबार छिर्नुअघि उनमा रहेको बिद्रोही चेतले अहिलेको राजनीतिक अव्यवस्थाप्रति असन्तुष्ट युवा जमात आकर्षित थियो । तर, ’मन परेको केटा जेठाजु’ भनेजस्तै मन्त्री बनेको आठ महिनामै उनको लोकप्रियताको ग्राफ तल झर्यो या बढ्यो उनले पनि मूल्यांकन गरेकै होलिन्,पछिल्लो घटनाले उनलाई औसत राजनीतिकर्मीभन्दा तल पुर्यायो या माथि लग्यो त्यो पनि उनैलाई थाहा होला । हिजोको बिद्रोही नेताको पहिचान आज छ महिनेबाट साढे ८ महिनेमा पुग्दा पदलोलुप मन्त्रीका रुपमा बदलियो या केपी ओलीलाई समेत विधि प्रक्रिया पालना नगर्दा खवरदारी गर्ने ठाउँबाट अझ माथि उकाल्यो–स्वमूल्यांकन गरिएकै होला । अनि हिजो विद्रोहको आगो बोक्दा क्या बात भन्ने युवापंक्ति निराश बन्यो या उत्साहित नै छ त्यो पनि समीक्षाकै बिषय हो ।

दलीय व्यवस्थामा विधि,प्रक्रिया पुर्याएर दलले गर्ने निर्णय त्यो पार्टीका नेता–कार्यकर्ताका लागि सर्वोपरी हुन्छ । अझ कडा सांगठानिक अनुशासन अपनाउने कम्युनिष्ट पार्टीमा त पार्टीको निर्णय नमान्ने कुराको कल्पनासमेत गरिंदैन । सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी कम्युनिष्ट पार्टीहरुले अपनाएको सांगठानिक सिद्धान्त हो । यसको अर्थ पार्टीको निर्णय कार्यान्वयनमा सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ । तर,रामकुमारीहरुमाथि भने प्रेम आले र किसान श्रेष्ठकै सरहको पाइला चाल्न खोजेको आरोप लाग्न थालिसकेको छ । पार्टीको निर्णयले मन्त्री बन्ने तर, क्याबिनेटबाट फिर्ता बोलाइँदा बालुवाटार र खुमलटारको निर्णयले रोकाउन खोज्ने उल्टो यात्राले कसलाई कहाँ पुर्याउला आफैँ जान्ने कुरा हो ।

हिजो माधव नेपाललाई हौस्याएर एमालेबाट गरेको बिद्रोह जायज हो भने हुर्कन नपाउँदै यो पार्टीको गला रेट्नु हुन्छ ? पार्टीले मन्त्री बनाइदिने अनि फिर्ता बोलाउँदा शेरबहादुर र प्रचण्ड गुहार्ने प्रवृत्तिले पार्टी सग्लो रहन्छ र ?

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनका क्रममा भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममा झाँक्रीले मुखमा लगाएको टेप खोलेर ’हामीले ल्याएको गणतन्त्रमा बोल्न पाइन्छ’ भनेर गरेको भाषण के का लागि ? अनि एमाले फुटाएर नयाँ दल दर्ताका लागि निर्वाचनआयोगको आँगनमा माधव नेपाललाई डोहोर्याउँदै किन लगेको ? बोल्न पाइन्छ भन्नुको अर्थ राजनीतिको आवरणमा अराजकताको खेति गर्नु हो र ? हिजो माधव नेपाललाई हौस्याएर एमालेबाट गरेको बिद्रोह जायज हो भने हुर्कन नपाउँदै यो पार्टीको गला रेट्नु हुन्छ ? पार्टीले मन्त्री बनाइदिने अनि फिर्ता बोलाउँदा शेरबहादुर र प्रचण्ड गुहार्ने प्रवृत्तिले पार्टी सग्लो रहन्छ र ?

त्यसैले समाजवादीका नेता–कार्यकर्ताले मात्र होइन आममान्छेले पनि सोध्न थालेको छ, हिजो केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा लाइन लागेर हस्ताक्षर गरेको नाथे एक थान मन्त्रीकै लागि हो ? बाहिर भन्ने गरेको संविधानको रक्षाकै लागि थियो भने रामकुमारीको ठाउँमा जीवनराम श्रेष्ठ मन्त्री हुँदा किन आपत्ति ? सडकमा हुँदा भनेको होइन,सरकार पनि आन्दोलनको एउटा मोर्चा हो ? र, त्यहाँ जाने पार्टीको जिम्मेवारी पूरा गर्नका लागि हो ! त्यसो हो भने पुरानाको ठाउँमा नयाँ कमरेडहरु सरकारमा जाँदा आकाश खस्छ कि धर्ति फाट्छ ?

समाजवादीकै विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले त्यसै कटाक्ष गरेका होइनन् । ’हिजो मुखमा लगाएको टेप खोलि खोलि स्टन्ट मारिमारि गरेको भाषण त ख्रोको आदर्शबाहेक के हुन सक्छ त कमरेड ! मन्त्रीबाहेक पनि जीवन जगत छ भन्ने बुझ्ने हो कि ? एकथान मन्त्री त तपाईंले हिजो बोकेको मूल्य मान्यता रहे,बाँचेमा कति हो कति,धेरै पटक मन्त्री, त्योभन्दा माथि प्रधानमन्त्री बन्ने अवसर नै आउँछ । तर तपाईले बोकेको मूल्य,मान्यता,सिद्वान्त मरेमा वा सकिएमा ईतिहासमा गोरेबहादुर खपांगी,बद्री मण्डल,टंक ढकाल पनि मन्त्री नै थिए,हेक्का होला नि ?’, उनले भनेका छन् ।

पक्कै पनि राजनीतिमा नैतिकता र इमान्दारिता निकै बलशाली हुन्छ । एकपटक नैतिकतामा चुकेपछि र इमान्दारितामा प्रश्न उठेपछि जनविश्वास आर्जन गरेर फेरि राजनीतिमा फर्किन सजिलो हुँदैन भन्ने विगतका थुप्रै उदाहरणहरुले देखाइसकेको छ । यो सन्दर्भमा बरु माधवलाई अन्तिम समयमा छोडेर ओलीतिरै फर्किएका ’१० भाइ’ तुलनात्मकरुपमा इमान्दार देखिएका छन् । योगेश भट्टराई र घनश्याम भुसाल त प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको निर्णयमा असहमत भएपछि मन्त्री पद नै त्यागेर सडकमा ओर्लिएका हुन् । मन्त्रीका लागि सम्झौता गरेको भए थप चार महिना उनीहरुको जागिर कसैले खान सक्ने थिएन,तर उनीहरुले पदभन्दा नैतिकतालाइ महत्व दिए ।

अहिले पार्टीको निर्णय मान्दिन भन्ने समाजवादीका मन्त्रीहरु योगेश र घनश्यामको ठाउँमा भए के गर्थे होला ? सत्ताको स्वाद नपाउँदासम्म खत्रै क्रान्तिकारी देखिएका कमरेडहरुले सायद पद छोडदैनथे होला। उनीहरुका अहिलेका व्यवहारले त्यसो भन्न हिच्किचाउनु पर्दैन । किनभने त्यतिबेला घनश्याम र योगेशले क्याविनेटमा विद्रोह गरेर सडक रोजे । तर, रामकुमारीहरु एमालेमा बिद्रोह गरेर मन्त्री बने र अहिले मन्त्रीका लागि फेरी समाजवादीमा विद्रोहको चेतावनी दिइरहेका छन् ।

टिप्पणीहरू