ओलीको दैलोमा दुई मन्त्री

ओलीको दैलोमा दुई मन्त्री

कुरा एउटा थियो, चित्त अर्कैमा दुखेको रहेछ ! एमाले अध्यक्ष केपी ओलीलाइ भेट्न घरमै आएका गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्द बन्दीसँग भन्नुभयो, ‘…त्यो त हो, अध्यादेश ल्याएर पार्टी फुटाइहाल्नुभयो…!’

नागरिकता विधेयकलाई संसदबाट अगाडि बढाउनुअघि सबै दलका नेताबीच सामञ्जस्यता कायम गर्न दुई मन्त्रीले विभिन्न नेताकहाँ जाने क्रममा गत शुक्रबार साँझ ओलीसँग भेटेका थिए ।

‘मैले नै ल्याएको त हो नि’, नागरिकता विधेयकबारे ओलीले भन्नुभयो, ‘पहिल्यै गर्न खोजेको थिएँ, म त सक्षम नै हो नि, तपाईंहरुले अनेकथोक गरेर न यस्तो भयो †’ भेटमा खाँण उति धेरै बोलेनन् ।

बन्दीले भने, ‘हो नि अध्यक्षज्यू, अहिले संसदमा जति पनि विधेयक छन्, ती सबै हजुरले लगेको हो । हामी हजुरकै उत्तराधिकार सम्हाल्दैछौँ । सहयोग गर्नुप¥यो ।’ ओलीले भन्नुभयो, ‘सहयोग नगर्नुपर्ने के कारण छ र ? तर, सहयोग पनि कति गर्ने ? कसरी गर्ने भन्ने कुरा हुँदो रहेछ ।’ मन्त्रीद्वय ओलीको कुरा नबुझेर ट्वाल्ल परे ।

फेरि एकछिनमा ओलीले ‘अध्यादेश ल्याई–ल्याई, पार्टी फुटाएर तपाईंहरुले त….’ भन्दै लेघ्रो तान्नुभयो । मन्त्री बन्दीले भने, ‘त्यो एउटा चरण थियो, अब अहिले म मन्त्री भएर आएको छु । त्यतिबेला वकिलमात्रै थिएँ । अब पहिला जे–जे नमिलेका थिए, त्यो–त्यो कुरालाई सुधारेर जानुपर्छ । यसका लागि हजुरको साथ चाहिन्छ ।’

ओलीले ‘साथ त दिने, फेरि अध्यादेश ल्याउनुहोला…’ भन्दै उही पार्टी विभाजनतिर कुरा मोड्न चाहनुभएको थियो ।

टिप्पणीहरू