उपचारको निम्ति दलित महिलाको याचना

उपचारको निम्ति दलित महिलाको याचना

-आषिका लम्साल

गोडाको उपचारका लागि आर्थिक अभाव भएपछि एउटी दलित महिलाले दयालुहरुसँग सहयोगको गुहार मागेकी छन् । मोरङ मिक्लाजुङ गाउँपालिका ९, बगरटोलकी ५३ वर्षीया सुमित्रा शिवा दर्जीले दाहिने गोडाको उपचारको निम्ति आर्थिक अभाव भएपछि दयालुहरुसँग सहयोगको याचना गरेकी हुन् ।

सुमित्रा हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भर्ना भएर उपचार गराइरहेकी छन् । आर्थिक अभाव कमजोर भएकी उनको सघन उपचार गर्दा चार लाखबढी रुपैयाँ खर्च भैसकेको छ । थप चार लाख जति खर्च लाग्ने बुहारी चन्द्रा दर्जीले बताइन् ।

चन्द्राका अनुसार उनको दाहिने गोडा अपरेसन गरेर काटनुपर्ने भएको छ । केही महिनाअघि सुमित्राको दाहिने गोडामा सानो खिलजस्तो गाँठो देखापरेको थियो । उक्त खिललाई घरायसी प्रक्रियाबाट निको पार्न खोज्दा घाउ निको हुनुको सट्टा झन् बढ्दै हिँडडुलमा समेत गाह्रो भएको हो ।

आर्थिक अवस्था कमजोर रहेकी सुमित्रालाई छिमेकीहरुको सहयोगमा धरानस्थित बीपी प्रतिष्ठानमा भर्ना गरिएको छ । रगतमा चिनीको मात्रा देखिएपछि उनको घाउ निको नहुने अवस्थामा पुगिसेकोले घुँडा मुनी काटेर फाल्नु्पर्ने चिकित्सकले जानकारी दिएका छन् ।

एक महिनादेखि अस्पताल भर्ना भएकी सुमित्रालाई उपचारमा थप उपचार गर्न नसक्ने भन्दै परिवारले अस्पतालबाट डिस्चार्ज गराएर घरमा ल्याइयो । तर बिरामीको अवस्था झन् बिग्रिएपछि मिक्लाजुङ युवा मञ्चको सक्रियतामा उपचार निःशुल्क गर्नेगरी सुमित्रालाई पुनः अस्पताल भर्ना गरिएको हो ।

अहिले अस्पतालको बेड र चिकित्सक शुल्क मिनाहा भए पनि फार्मेसीमा औषधि र आइसीयुमा राख्नुपर्ने, विभिन्न परीक्षणहरुको खर्च भने लाग्ने भएकाले सुमित्राको उपचारमा समस्या आएको हो ।

उपचारको क्रममा खर्च भएको दुई लाख रुपैयाँको औषधि बिल फार्मेसीमा तीर्न बाँकी छ । अब अपरेसन गर्नुपर्दा आइसीयुमा राख्नुपर्ने भएकाले थप आर्थिक सहयोगको निम्ति आग्रह गरिएको मिक्लाजुङका युवा विनोद दर्नालले बताए । उनका अनुसार सहयोगी हातहरुले बुहारी चन्द्रालाई ९८२०३६२०१० र युवा दर्नाललाई ९८५२०५९७४३ र ९८१७३२६७३५ मा बिरामीलाई सोझै सम्पर्क गरेर सुमित्राको अवस्थाबारे बुझन सक्नेछन् ।

सुमित्राका श्रीमान् अर्की श्रीमती लिएर बेपत्ता छन् । छोरी र दुई छोरामध्ये जेठा छोरा वैदेशिक रोजगारीमा गएका छन । उनीहरुको सम्पत्तिको नाममा जम्मा १० कठ्ठा पाखोबारी मात्र छ ।

टिप्पणीहरू