राजकुमारका नाममा निकृष्ट रमिता

राजकुमारका नाममा निकृष्ट रमिता

‘सुनको लौरो’ ले देश गर्माएको छ । न भन्सारबाट छिरेको देखिन्छ, न त त्यो लौरो सुनकै थियो भनेर कतैबाट प्रमाणित हुन्छ ! दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा अल माक्तुम तीन दिने नेपाल भ्रमणका लागि आउँदा ‘मार्सी’ भनेर चिनिने, झापा, बिर्तामोडस्थित बिएण्डसी अस्पतालका मालिक तथा एमालेका मनोनीत केन्द्रीय सदस्य दुर्गा प्रसाईंले सुनको लौरो उपहार पाएका हुन् ।

‘मार्सी’ द्वारा सञ्चालित पूर्वाञ्चल क्यान्सर अस्पतालमा पेटको स्क्यानर मेसिनको शुभारम्भ गर्न असार ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजकुमार शेख मोहम्मद उत्रिएका थिए । काठमाडौंमा उत्रिएका उनी सीधै श्री एयरलाइन्सको उडानबाट भद्रपुर पुगे । र, त्यहीँको विमानस्थलमा ‘मार्सी’ लाई ‘सुनको लौरो’ उपहार दिए । तर, दुबईबाट काठमाडौं उत्रिएर सीधै भद्रपुर गएका व्यक्तिले त्यो लौरो कसरी ल्याए ? यो प्रश्नमा नेपालका भन्सार, अध्यागमनदेखि सुरक्षा निकायसम्म हायलकायल भएका छन् ।

किनभने, त्यत्तिका सुन नेपालको विमानस्थलबाट बिनाभन्सार छिराउन मिल्दैन । तर, त्यो ‘सुनको’ भनिएको लौरो राजकुमार शेख मोहम्मदको साथमा आएको भन्ने कुरा नै कतैबाट पुष्टि हुँदैन । अध्यागमन जाँचमा प्रयोग हुने एक्सरे मेसिनले यात्रुको लगेजभित्र के–के सामान छन् भन्ने कुरा देखाउँछ । राजकुमार शेख मोहम्मदको टोली असार ४, अर्थात् जुन १८ तारिखको बिहान ८ः३० बजे काठमाडौँमा अवतरण भयो ।

काठमाडौंस्थित दुबई दूतावासले १४ तारिखमै राजकुमारको टोली आउने कुरा नेपालको परराष्ट्रलाई पत्रमार्फत जानकारी दिएको थियो । यसरी विदेशका पाहुनाहरू आउँदा विशिष्ट कक्ष (भिआइपी लाउञ्ज) को प्रयोग हुने कुरा त स्वाभाविक भयो । तर, चेकजाँचका निम्ति केही खुकुलो बनाइने कूटनीतिक प्रोटोकोलको दुरूपयोग भएको आशंका नेपालको अध्यागमन र भन्सारका जिम्मेवार हाकिमहरूले गरेका छन् ।

उनीहरूको टोलीमा आएका अन्य सदस्य र लगेजहरू विशिष्ट कक्षबाट नभई अध्यागमनको नियमित बाटो हुँदै बाहिरिएको छ । त्यहाँ एक्सरेले सबै कुरा अनुगमन गरिरहेको हुन्छ । त्यसमा सुन भेटिँदैन । यदि उनले त्यो सामान उतैबाट ल्याएका थिए भने पनि कूटनीतिक प्रोटोकोललाई दुरूपयोग गरिएको हुनसक्छ ।

त्यो लौरो सुनकै थियो कि जलपमात्रै लगाइएको थियो वा सुनकै भए पनि कति मात्रा सुन थियो भन्ने कुरा यकिन हुन पाएन । राजकुमार शेख मोहम्मदले नल्याएर उक्त सुन नेपालमै खरिद गरिएको पनि हुनसक्छ । तर, विमानस्थलको भन्सार र अध्यागमनको क्षेत्राधिकारभित्र आन्तरिक टर्मिनल पर्दैन । आन्तरिक टर्मिनलमा प्रवेश गर्ने क्रममा भिआइपीका लगेजमाथि त्यति कडाइसाथ चेकजाँच गरिँदैन ।

यदि दुबई दूतावास र राजकुमारको टोलीसँग कूटनीतिक मर्यादा र नैतिकताको ख्याल हुँदो हो त उनीहरूले अर्काको देशमा आएर त्यहाँको भन्सार र अध्यागमन कानुन प्रतिकूल हुने विषयबारे कि जानकारी दिन्थे, कि त्यसलाई प्रक्रियासम्मत ढंगले हल गर्थे । त्यस्तो नैतिकता पनि देखिएन । उपहार पाउने व्यक्तिको त कुरै भएन, उनी यसै पनि ‘साँढे’ भनेरै चिनिन्छन् ।

जबकि, महिलाहरूले गहनाका रूपमा लगाउने सामान्य छड्के तिलहरी, जो चार आनाको हुन्छ, त्यही पनि हातले थामिसक्नुको हुँदैन । राजकुमार शेख मोहम्मदले त मार्सीलाई लौरो नै दिएको देखिन्छ । यो कसरी विमानस्थलबाट पार भयो वा नक्कली थियो भने पनि काठमाडौंस्थित दुबई दूतावासले सरकारलाई भन्नुपथ्र्यो । त्यसो भनिएको छैन ।

एकजना अध्यागमन अधिकृत भन्छन्, ‘यति कुरा आइसकेपछि दुर्गा प्रसाईंसँग पनि केही कुरा बुझ्नुपर्छ । राज्यको कान्ुनले मिल्दैन भने उहाँले आत्मसमर्पण गर्छु भन्नुपर्छ ।’ जबकि यो त्यही विमानस्थल अन्सार हो जसले नेपाल पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मीलाई ३ ग्राम सुन कतारबाट ल्याउँदा जफत गरेर ०७७ भदौ २१ गते मुद्दा चलाएको थियो ।

टिप्पणीहरू