राजधानीमा फोहोरको बेथिति र ‘बायोमिथानेशन प्लान्ट’ बिजुलीको चर्चा

राजधानीमा फोहोरको बेथिति र ‘बायोमिथानेशन प्लान्ट’ बिजुलीको चर्चा

काठमाडौं महानगरपालिकामा फोहोर व्यवस्थापनको विषय झन् जटिल बन्दै गएको छ । नुवाकोटको सिसडोलमा डम्पिङ साइटको अभाव हुँदा फोहोर व्यवस्थापनमा झन् किचलो थपिएको हो ।

पहिले दुई वर्षको निम्ति सम्झौता भएको ल्याण्डफिल साइटमा झण्डै दुई दशकदेखि फोहोर फाल्ने क्रम जारी छ । जसको कारण बेलाबखत सिसडोलवासी सडकमा उत्रन्छन् । उताका स्थानीयवासी सडकमा उत्रिँदा यताका राजधानीवासीलाई सास फेर्न पनि गाह्रो हुन्छ । योजनाको अभाव र भएका स्रोतसाधनको प्रभावकारी उपयोग हुन नसक्दा काठमाडौंवासीले तारन्तार फोहोरसँग सम्झौता गर्नुपर्ने बाध्यता छ ।

यसलाई मध्यनजर गर्दै महानगरले फोहोरको वर्गीकरण गर्न सम्पूर्ण स्थानीयवासीमा आग्रह गरेको छ । आगामी साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्न महानगरले भनेको छ ।

उत्पादनकर्ताले घरबाट निस्किने फोहोर पृथकीकरण नगरे यो समस्या समाधान गर्न नसकिने महानगरको पछिल्लो भनाइ आएको हो । फोहोरलाई मोहरमा परिणत गर्ने भनेर महानगरले बारम्बार दाबी गरेपनि दक्ष जनशक्ति नहुँदा त्यो पनि सम्भव हुन सकेको छैन ।

काठमाडौंको टेकुमा युरोपियन युनियनले सन् २०१६ मा निर्माण गरिदिएको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट प्रयोगविहीन छ । युनियनको धेरै र महानगरको थोरै लगानीमा स्थापना भएको दुई वटा ‘बायोमिथानेशन प्लान्ट’ मा अहिले खिया लाग्न थालेको छ ।भारतबाट ल्याइएका ती प्लाण्ट प्रयोग गर्न नजानेका कारण वर्षौदेखि थन्केको बताइन्छ । निर्माण सम्पन्न भएको झण्डै ६ वर्ष बित्न लागिसक्दा पनि महानगरले यसलाई प्रयोगमा ल्याउन चाहेको वा सकेको छैन ।

भान्साबाट निस्कने फोहोरबाट बिजुली निकाल्ने उक्त प्लाण्ट सञ्चालनमा नआएपछि काठमाडौंका भित्री भागका स्थानीय निराश भएका हुन् । फोहोर व्यवस्थापनमा ल्याण्डफिल्डिङ र कम्पोष्ट मल बनाउने बाहेकको विकल्प नभएको नेपालमा फोहोर ऊर्जामा परिणत गर्ने विषय एकताका सबैका निम्ति अचम्मको विषय बनेको थियो ।

तर, काठमाडौंवासीले अझैपनि उक्त प्लाण्टबाट विद्युत उत्पादन भएको देख्न पाएका छैनन् । महानगरले प्लाण्ट सञ्चालन गर्न चासो नदेखाएको उनीहरुको आरोप छ । त्यतिबेला एक करोड ८६ लाख रुपैयाँमा खरिद गरिएको प्लान्ट बालुवामा पानी मिसाए सरह बनेको छ । फोहोरबाट बत्ति निकाल्ने घोषणा महानगरवासीको सपनामै सीमित बनेको हो ।

यसअघि महानगरले त्यसरी उत्पादित बिजुलीलाई सडक बत्तिको रुपमा प्रयोग गर्ने योजना बनाएको थियो । तर, चल्न नपाउँदै प्लान्ट बिग्रिएपछि मर्मतमा कसैको ध्यान गएको छैन ।

के भन्छ महानगर ?

महानगरका मेयर बालेन्द्र साहका सचिवालय सदस्य इन्जिनियर सुनिल लम्सालले सो उपकरण छिटै नै सञ्चालनमा ल्याउने तयारी गरिरहेको जानकारी दिएका छन् । उनका अनुसार अहिले धमाधम उपकरण मर्मत गर्ने कार्य भइरहेको छ । राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनलाई प्लान्टको डिजाइन गर्न जिम्मा दिइएको उनी बताउँछन् ।

अबको एकदेखि डेढ महिनामा प्लान्ट सञ्चालनमा आउने इन्जिनियर लम्सालको दाबी छ । प्लान्ट सञ्चालनमा आए पनि यसले फोहोर व्यवस्थापनमा खासै प्रभाव नपार्ने उनी बताउँछन् । ‘काठमाडौंमा दैनिक पाँच लाख केजी जैविक फोहोर निस्किन्छ’, उनी भन्छन् ‘यसले जम्मा दुई हजार केजी मात्र प्रशोधन गर्न सक्छ ।’ काठमाडौं र ललितपुरबाट दिनहुँ १२ लाख केजी जैविक र अन्य फोहोर निस्कने गर्दछ ।

छ वर्षअघि खरिद गरिएको उपकरण परीक्षणको क्रममा बिग्रिएको थियो । परीक्षण गर्दा प्राविधिक समस्या देखिएको प्लान्ट अहिलेसम्म पनि मर्मत हुन सकेको छैन ।

कोशिस जारी छः वातावरण विभाग

महानगरको वातावरण तथा कृषि विभागले उक्त प्लान्ट मर्मत गरेर पुनः सञ्चालन गर्नुपर्नेमा जोड दिइरहेको छ । यसले फोहोर व्यवस्थापनमा केही सहजता ल्याउने विभागीय प्रमुख सरिता राईले बताइन् ।

प्लान्ट सञ्चालनको निम्ति आफूले निरन्तर कोशिस गरेको उनको भनाइ छ । तर उत्पादनकर्ताले नै फोहोर वर्गीकरण गर्नुपर्नेमा उनको जोड छ । फोहोर वर्गीकरण नगरेसम्म व्यवस्थापन गर्न नसकिनेमा महानगर निचोडमा पुगेको हो । उत्पादनकर्ताले फोहोर व्यवस्थापन मेरो जिम्मेवारी हो भनेर नबुझ्दासम्म यो समस्या निराकरण नहुने प्रमुख राई बताउँछिन् ।

भक्तपुरले कसरी गर्छ फोहोर व्यवस्थापन ?

फोहोर व्यवस्थापनमा काठमाडौं र ललितपुरभन्दा भक्तपुर नगरपालिका अगाडि देखिन्छ । नगरपालिकाले सो क्षेत्रभित्रका फोहोर आफंैले व्यवस्थापन गर्दै आएको दाबी गरेको छ । नगरभित्रको ८० प्रतिशत फोहोर घरमै व्यवस्थापन हुने उपप्रमुख रजनी जोशी बताउँछिन् । कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउने गरेको उपप्रमुखको भनाइ छ ।

नगरपालिकाले कम्पोष्ट मल बनाउन बाल्टिनलगायत आवश्यक सामग्री उपलब्ध गराउँदै आएको छ । त्यसैगरी, कौसी खेतीलाई नगरले प्राथमिकता दिएको छ । बाँकी २० प्रतिशत फोहोर पनि वर्गीकरण गर्ने गरेको उपप्रमुख जोशीले बताइन् । सिसा, कार्टुन, फलामलगायत बिक्री हुने वस्तुहरु बेच्ने गरिएको छ । भक्तपुरमा काठमाडौंको जस्तो प्लान्ट नभएपनि नगरले सहज रुपमा फोहोर व्यवस्थापन भने गर्दै आएको छ ।

टिप्पणीहरू