माधव नेपाललाई प्रधानमन्त्री कार्यालयको खबर-मन्त्रीहरुको हेरफेर आज हैन,भोलि गरौँ !

माधव नेपाललाई प्रधानमन्त्री कार्यालयको खबर-मन्त्रीहरुको हेरफेर आज हैन,भोलि गरौँ !

एकीकृत समाजवादीका नयाँ मन्त्रीहरुले भोलि शपथ लिने सम्भावना छ । समाजवादीका केही मन्त्रीहरुको दबाबले तीन सातासम्म अलमल गर्दै आउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा यहि कारण सरकार नै ढल्ने अवस्थामा पुगेपछि क्याबिनेट हेरफेरका लागि तयार हुनुभएको हो ।

समाजवादीका एक उच्च तहका नेताले प्रधानमन्त्री कार्यालयबाट भोलिको लागि शपथको तयारी गर्न खबर आएको जानकारी दिए । उनका अनुसार हिजो अध्यक्ष माधवकुमार नेपालले बालुवाटार पुगेर ‘फाइनल’ कुरा गरेपछि प्रधानमन्त्री देउवा मन्त्री फेर्न सहमत हुनुभएको हो ।

समाजवादीले गत जेठ २२ गते सरकारमा रहेका आफ्ना पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको थियो । सोही दिन दिउँसो अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवालाई नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराउनुभएको थियो । तर, पार्टीको आन्तरिक सहमतिका आधारमा ६ महिना कार्यकाल पुरा गरेका चार मन्त्रीलाई फिर्ता बोलाएर अर्को टीम पठाउने निर्णय लामो समयसम्म कार्यान्वयन नभएकोप्रति समाजवादीका नेताहरु प्रधानमन्त्रीसँग असन्तुष्ट रहँदै आएका थिए ।

स्रोतका अनुसार हिजो समाजवादीका अध्यक्ष नेपालले आफ्नो पार्टीको निर्णयअनुसार तत्काल मन्त्री हेरफेर नभए सरकारबाट बाहिरिने चेतावनी दिएपछि प्रधानमन्त्री देउवाले आज शपथ गराउने वचन दिनुभएको थियो । बालुवाटारमा निकै आक्रोशित हुनुभएका नेपालले प्रधानमन्त्री देउवालाई तत्काल आफ्नो पार्टीको सिफारिस कार्यान्वयन गर्ने या सहकार्य तोड्ने एउटा विकल्प रोज्न भनेपछि देउवा हच्किनुभएको हो ।

नेपालले २४ घण्टाभित्र निर्णय कार्यान्वयन नभए पत्रकार सम्मेलन गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गर्ने,आफ्ना मन्त्रीहरुलाई सामूहिक राजिनामा दिन निर्देशन दिएर सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रष्ट बताउनुभएको र प्रधानमन्त्रीले ‘हुन्छ, भोलि गरौँ’ भन्नुभएको थियो ।

केही मन्त्रीको कुरा सुनेर पार्टीको सर्वसम्मत निर्णय कार्यान्वयनमा उदासीनता देखाएको र आफ्नो पार्टीमा खेल्न खोजेको भन्दै अध्यक्ष नेपालले देउवासामु चर्को असन्तुष्टी जनाउनुभएको स्रोतले बताएको छ । त्यसपछि बालुवाटारबाट निस्केर निवास पुग्नुभएका उहाँले पार्टीका मन्त्रीहरुसँग छलफल गर्नुभएको थियो । तर, केही मन्त्रीले पार्टीको निर्णयलाई चुनौती दिँदै पद नछोड्ने अडान राखेपछि बैठक तनावपूर्ण बनेको थियो ।

टिप्पणीहरू