कोटेश्वरको लफडापछि माधव नेपाल आलोकनगरमा

कोटेश्वरको लफडापछि माधव नेपाल आलोकनगरमा

मन्त्री हेरफेरको निर्णय कार्यान्वयनमा पार्टीकै केही नेताले चुनौती दिएपछि विवादमा फसेको नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बसेको छ । पार्टी मुख्यालय आलोकनगरमा केहीबेरअघि बैठक शुरु भएको हो ।

बैठकमा स्थानीय चुनावको समीक्षा, आन्तरिक गतिविधि, सत्ता गठबन्धन, राष्ट्रिय राजनीतिलगायतका विषयमा छलफल हुने भनिएको छ । तर, हिजो अध्यक्ष नेपालको निवास कोटेश्वरमा मन्त्री रामकुमारी झाँक्रीले कुनै हालतमा पद नछाड्ने अडान लिएकाले आजको बैठकले मन्त्री हेरफेरबारे ठोस निर्णय गर्नसक्ने बताइन्छ ।

हिजो साँझ कोटेश्वरस्थित आफ्नै निवासमा बोलाएर अध्यक्ष नेपालले स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयनमा सहयोगी भूमिका खेल्न गरेको निर्देशनलाई मन्त्रीद्वय झाँक्री र प्रेम आलेले ठाडै अस्वीकार गरेको बताइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको सिफारिस कार्यान्वयन गराउन दबाब दिएर साँझ निवास फर्किनुभएका नेपालले मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन निर्देशन दिनुभएको थियो ।

‘पार्टीले मन्त्री फेर्ने निर्णय लिइसकेको छ, तपाईहरुले सहयोग गर्नुहोस्,’ भन्ने प्रस्ताव गरेलगत्तै सहरी विकासमन्त्री झाक्रीले प्रतिवाद गर्नुभएको थियो । झाँक्रीले बाहिर नै सुनिने गरी अध्यक्षको प्रस्तावलाई अस्वीकार गर्दै चर्को स्वरमा बोल्न थालेपछि स्थिति असामान्य बनेको र स्वास्थ्यमन्त्री बिरोध खतिवडाले ढोका लगाएको एक प्रत्यक्षदर्शीले बताएका छन् ।

झाक्रीले स्थायी कमिटी बैठकले गरेको निर्णय कच्चा भएको र निर्वाचनसम्म बहालवाला मन्त्रीहरुलाई नै निरन्तरता दिनुपर्ने माग राखेपछि अध्यक्ष नेपालले ‘पार्टीले निर्णय गरिसकेको’ भन्दै प्रस्ताव अस्वीकार गर्नुभएको बताइएको छ ।

त्यहाँ उपस्थित मन्त्रीहरुले मुख्यतः दुईवटा शर्त राखेका थिए । अध्यक्ष नेपालले त्यसबारे बैठकमा छलफल गर्ने बताएपछि स्थिति सामान्य बनेको थियो ।

मन्त्रीहरुले राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिन पाउनुपर्ने र स्थायी कमिटी बैठकको निर्णय सच्याएर मन्त्रीमण्डलमा महिलासहित समावेशी र समानुपातिक प्रतिनिधित्व गराउने शर्तमा क्याबिनेटबाट फर्कन तयार रहेको जनाएपछि आजको बैठकले यसबारे थप निर्णय लिनसक्ने बताइन्छ ।

टिप्पणीहरू