अझै मन्त्री नफेरिँदा आशंका

अझै मन्त्री नफेरिँदा आशंका

निर्णय गरेको दुई हप्ता भइसक्यो, एकीकृत समाजवादीका मन्त्री अझै फेरिएनन् । निर्णय हुँदा, भएपछि र हिजोअस्तीसम्मका घटनाक्रम यस्ता छन् । ‘हामीले हतारमा निर्णय गरौँला, उताबाट कार्यान्वयन नगर्लान्’, मन्त्री फेर्नेबारे नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा नेताहरुले अध्यक्ष माधव नेपाललाई यसरी सुझाव दिएपछि बैठकबाटै उठेर उहाँ बालुवाटार पुग्नुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुरुमा त ‘बजेटको कुरा छ, गरे पनि अलिक पछाडि गरौँला नि’ भन्नुभयो । तर, माधवले मान्नुभएन । ‘हामीले त गर्ने भइसक्यौँ । ६ महिनालाई पठाएको, दुई महिना बढी भइसक्यो’, माधवले यसो भनेपछि बल्ल देउवा सकारात्मक हुनुभयो । भन्नुभयो, ‘ल–ल, गर्ने भए गर्नु न त !’ यसपछि सचिवालयकै बैठकमा निर्णय गरेर नयाँ मन्त्रीको नामका साथ माधव फेरि बालुवाटार पुग्नुभयो ।

यो निर्णय लगत्तै मन्त्रीहरु सीधै देउवा र प्रचण्डकहाँ पुगे । यसपछि प्रचण्डको पनि रातारात बोली फेरियो । यसले हामीलाई पनि असर गर्ने भयो, केही दिन पर्खिदिनुप¥यो, कम्तिमा बजेटसम्म केही नगरौंँ’, उहाँले माधवलाई भन्नुभयो । गठबन्धनमा पार्टीकै निर्णय प्रमुख वा आधिकारिक हुन्छ ।

त्यो निर्णय नमान्दा गठबन्धनबाट बाहिरिनेजस्तो ‘सुसाइडल’ कदमसम्म जाने कुरा निस्कियो । फेरि नेताका बीचमा ‘त्यति सानो कुरालाई लिएर यति ठूलो कदम नचालौं’ भन्ने कुरा निस्कियो । बाहिरिनुपर्ने मन्त्रीले ‘सडक–सडकमा गरिएको निर्णय’ भने । त्यसपछि स्थायी कमिटीको बैठक बस्यो ।

विरोध खतिवडा र रामकुमारी झाँक्री समेत सम्मिलित उक्त बैठकले सचिवालय बैठकको निर्णय अनुमोदन गर्दा उनीहरुले पनि समर्थन गरे । हटाउने निर्णय भएपछि प्रेम आलेहरुले देउवाकहाँ पुगेर हामीले विद्रोह गरेर भए पनि सरकार ढाल्छौँ भन्नेसम्मको कुरा गरेको बताइन्छ । तर, उनीहरुले गर्ने विद्रोह भनेको पार्टीसँग हो, सरकारसँग हैन । त्यो भनेको पार्टी फुटाएर अर्को बनाउने हो । यसो गर्न सम्भव छैन । अहिले एकीकृत समाजवादीका नेताहरु चर्चा गर्दैछन्, ‘यी मन्त्रीले भित्रभित्रै देउवासँग केही न केही सम्झौता गरेका पो छन् कि ?’

पहिला हटाइन लागेका मन्त्रीहरुले बजेटसम्बन्धी मन्त्रालयगत विनियोजनमा आफूहरुले जवाफ दिन पाउनुपर्ने माग गरेका थिए । त्यसलाई जायज मानियो । जबकि, मन्त्री पद भनेको अविच्छिन्न उत्तराधिकारसरह हुन्छ । नेपाल सरकारकै मन्त्री हुने भएपछि अघिल्लोले गरेको कामको स्वामीत्व त्यसपछि आउने मन्त्रीले स्वतः ग्रहण गर्नुपर्छ । यसरी मन्त्रालयगत विनियोजन सकिएपछि पनि मन्त्री फेरिएनन् ।

यसले झन् शंका बढाएको छ । भनिन्छ, ती मन्त्रीले अरु नै केही कुरा गर्न चाहिरहेका छन् । ‘चुनावमा जस्तो मद्दत गर्नुपर्ने हो, गर्छौं भनेर कन्भिन्स गराइएको हो कि’ भन्ने आशंका नेताबीच बढेको छ । अर्कातिर समाजवादीका मन्त्रीहरु फेरिँदा अरु पार्टीमा बितण्डा होला भनेर पनि रोकिएको हुनुपर्ने अनुमान गरिएको छ । रामकुमारी झाँक्रीले ‘मसँग धेरैवटा विकल्प छन्’ भनेको के हो ? भन्दै नेताहरु छक्क परेका छन् ।

अहिले पनि देउवासँग माधवको भेट हुँदा जहिल्यै ‘गर्ने–गर्ने’ भन्ने, तर नगर्ने कुराले शंका बढाएको बताइन्छ । अनुशासित अगुवाले अनुकरणीय बन्न आफैंले पार्टीसामु राजीनामा बुझाउनुपर्नेमा त्यसो पनि नभएपछि सम्मानित नेता झलनाथ खनाल झन आश्चर्यचकित हुनुभएको छ ।

टिप्पणीहरू