नेताको दास होइन, नागरिकको सेवक बन

नेताको दास होइन, नागरिकको सेवक बन

– गोविन्द भट्टराई

स्थानीय निर्वाचन २०७९ को नतिजा सार्वजनिक भएसँगै दलहरू सच्चिन जरुरी रहेको सन्देश प्राप्त भएको छ । पसलझैं दल दर्ता गरेर मात्र भोट आउँदैन, कामका लागि बढीमा ३ पार्टी भए पनि पुग्छ भन्ने सन्देश मतदाताले व्यक्त गरेका छन् । कम्युनिष्ट, कांग्रेस र दुवैभन्दा पृथक् रहन चाहनेलाई राप्रपा वा राजावादी पार्टी भए पुग्छ नेपालमा । स्वतन्त्रको कुरा फरक भयो । धरानका हर्क साम्पाङहरूले जनमत प्राप्त गर्नु भनेको दलका लागि चुनौती र अवसर दुवै हो ।

कुल मत हेर्दा यो वा त्यो कम्युनिष्ट पार्टीका नाममा खसेका मत धेरै छन् तर सिट संख्या कांग्रेसको बढी छ । कांग्रेसका नेता–कार्यकर्ताले नयाँ पार्टी समाजवादी र संगठनबिनाका नेताहरूको झुण्ड माओवादीलाई नसघाएको भए हामीले अझ धेरै सिट जित्ने थियौँ भनेर चौतारोदेखि चियापसलमा गफ लगाउन छाडेका छैनन् । उता केपी बाले एमाले पहिलो पार्टी भयो भनेर थाकेका छैनन् ।

केपी ओलीभन्दा अझ बढी दम्भ बोकेका नेताहरू टोलदेखि जिल्ला कमिटीसम्म घातप्रतिघातले हारेको हो, अब त्यस्तालाई चुनीचुनी कारवाही गरिन्छ भनेर सामाजिक सञ्जालमा फूर्ति लगाउन र आतंक फैलाउन व्यस्त छन् । कुतर्क, दम्भ र मनोगत निर्णयले सोचेभन्दा फरक नतिजा आयो भनेर मनन गर्नुको सट्टा हुंकार गरेर बस्नेहरूले प्रदेश र संघीय निर्वाचनको नतिजा सुधार्न कुनै योजना बनाएको देखिन्न । आरोप, प्रत्यारोप अनि मनगढन्ते संवादमा रम्ने नेताले कम्युनिष्ट संगठनलाई विचार र ऊर्जा थप्नुसट्टा भुत्ते बनाउँदै लागेका छन् ।

ठूला नेताका वडामा पार्टी पराजित हुनुको कारण खोजेर संगठन सुधार्नु, सच्चिनु त कता हो कता, आफूलाई मन नपरेका जतिलाई अन्तर्घातीको उपमा दिन आतुर छन् एमालेमा कतिपय तहका प्रमुखहरू । पार्टीका सर्वोच्च नेतालाई समेत गुमराहमा पार्नसक्ने, योगदान र जनचाहनाभन्दा आफू निकटलाई पुरस्कृत गर्न रुचाउनेहरूले संगठनका महत्वपूर्ण ठाउँ ओगटेपछि जनमतको कदर हुन सक्दैन भन्ने कुरा देशको राजधानीलगायत नतिजाले पुष्टि गरिसकेको छ ।

सच्चिने मौका छ एमालेलाई, लोभीपापी, खुराफाती, चाटुकारलाई होइन नागरिकका नजरमा योग्यलाई चिनेर संगठनको बागडोर दिन सक्नुपर्छ, जुनसुकै तहको निर्वाचनका लागि निश्चित योगदान, योग्यता हेरेर अनि जनमत भएको नेता होस् वा कार्यकर्तालाई उम्मेदवार बनाउने आँट र साहस गर्नुपर्छ ।

विगतका कमी कमजोरीबाट पाठ सिकेर, कमि कमजोरी सुधारेर, नेतृत्व आफैँ सुध्रिनुपर्ने भए सुध्रेर अगाडि बढ्ने साहस गर्नुपर्छ । एक औँला अर्कोतिर सोझ्याउँदा चार आँैला आफैँतिर तेर्सिएको तथ्य मनन् गर्न चुक्नुहुँदैन । बोलेर बाठो र दौडेर छिटो हुने भए बोली शिरोमणिहरूकै राज हुने थियो । जनमतको सन्देश प्रष्ट छ – नेताको दास होइन नागरिकको सेवक बन ! अब के गर्ने ? आगे नेताहरूकै मर्जी ।

टिप्पणीहरू