डलर कारोबार गर्ने एक जनालाई मात्र कारवाही ?

डलर कारोबार गर्ने एक जनालाई मात्र कारवाही ?

डलरको नाममा ठगेर फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भई काठमाडौंको नागार्जुन नगरपालिका–९ स्युचाटार बस्ने ३३ वर्षीय विष्णुलाल श्रेष्ठलाई कलंकीबाट पक्राउ गरिएको हो ।

श्रेष्ठले गत जेठ १७ गते कलंकीको सीता पेट्रोल पम्प नजिकै उक्त रकम ठगेका हुन् । आफ्नी आमा बिरामी भएकाले उपचारको निम्ति पैसाको रुपमा डलर मात्रै रहेकाले साटिदिन अनुरोध गरेका थिए ।
उनको अनुरोधलाई स्वीकार्दै धनी बन्ने सपना बोकेका अर्काले आठ लाख रुपैयाँ दिए । तर विष्णु हिँडेपछि हेरेपछि डलर राखिएको पोकामा कागज र कपडाको टुक्रा मात्रै पाएपछि उनले प्रहरीलाई उजुरी गरेका थिए ।

पक्राउ परेका श्रेष्ठलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–२१ को २४९ मा रहेको ‘ठगी गर्न नहुने’ कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

तर, विदेशी मुद्राको कारोबार केन्द्रीय बैंकले इजाजत दिएको बैंक तथा वित्तीय संस्थाले मात्र गर्न पाउँछन् । नाफाको लोभमा विदेशी मुद्रा सटहीमा संलग्न अर्का व्यक्तिलाई पनि कानुनी कारवाही गर्नुपर्ने नेपाल राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

टिप्पणीहरू