किड्नी फेर्न सरकार खोजिरहेका निवर्तमान जनप्रतिनिधि

किड्नी फेर्न सरकार खोजिरहेका निवर्तमान जनप्रतिनिधि

रामकृष्ण प्रजा (चेपाङ),४७ बर्षका भए । ४२ बर्ष हुँदा अर्थात २०७४ सालको स्थानीय निर्वाचनमा मकवानपुरको राक्सिराङ गाउँपालिका ८ नं वडाबाट वडाध्यक्ष निर्वाचित भए । निरन्तर चार बर्षसम्म गाउँपालिका अध्यक्ष राजकुमार मल्ललाई सारथीको रुपमा साथ दिए ।

यसकारण पनि रामकृष्णको साथ आवश्यक थियो कि,रामकृष्ण द्वन्द्वकालदेखि गाउँदेखि जिल्लास्तरसम्म नेपाली काँग्रेसमा अडिग भएर लागिरहेका पुराना नेता थिए । कम्युनिष्ट पृष्ठभूमिबाट काँग्रेसमा आएका मल्ललाई सरकार चलाउनका लागि भरथेग गर्नुपर्ने जिम्मेवारी उनै रामकृष्णलाई थियो ।

एक बर्षयता आएर रामकृष्ण र मल्लको सम्बन्धमा आँखा लाग्यो । बहालवाला गाउँपालिका अध्यक्ष मल्ल र वडाध्यक्ष रामकृष्णलाई पार्टीको अधिवेशन, महाधिवेशनमा फरक फरक कित्तामा उभ्याइयो । त्यसपछि परपर हुँदै गएको सम्बन्धलाई त झन् २०७९ को निर्वाचनमा गाउँपालिका अध्यक्षमै प्रतिस्पर्धीका रुपमा हेरिन थालियो । अधिवेशनहरुमा भएका यस्तै रिहर्सलले सत्तामा रहेका मल्ल र रामकृष्णवीच फाटो ल्याइदियो ।

त्यसो त राक्सिराङमा काँग्रेस र माओवादी गठबन्धन भएर पुनः मल्ल नै गाउँपालिका अध्यक्ष भए । कार्यकर्ताको जोडबलमा रामकृष्णलाई जबरजस्त वडाध्यक्षकै टिकट दिइयो । तर दुर्भाग्य,टिकट लिएर रामकृष्ण निर्वाचन अधिकृतको कार्यालयसम्म उम्मेदवारीका लागि जान सके,बाँकी चुनावी गतिविधिमा सामेल हुन सकेनन् ।

अस्पतालमा जाँच गराउँदा दुई वटै मृगौला फेल भएको पाइएपछि जनताका प्यारा जनप्रतिनिधि भनेर राक्सिराङभर चिनिएका र पार्टीभित्र संस्थापन लाइनको बिरुध्द निडरताका साथ उभिएका रामकृष्ण बिस्तरामै सीमित भए । एकदिन घरदैलो गर्न पनि पाएनन्, चुनावी सभाहरुमा समेत सामेल हुन सकेनन् ।

आफैले मतदान गरेर अस्पताल हिँडेका रामकृष्णले केही चाल पाएनन्,चुनाव हारे वा जिते । अस्पतालमा होश आउँदा र डाइलासिस गरेर अलिक बुझ्ने हुँदा मात्रै आफू चुनाव हारेको चाल पाए । अहिले नियमित डाइलासिस गरिरहेका रामकृष्ण भन्छन्–‘किड्नी ट्रान्सप्लान्टका लागि प्रक्रिया अघि बढाएको छु ।’

जनताका सेवकको उपमा पाएका रामकृष्ण तिनै व्यक्ति हुन्,जसले काँग्रेसको बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको प्यानललाई काउन्टर दिँदै केही समयअघि भएको महाधिवेशनका क्रममा क्षेत्रीय सभापतिमा रन्जन कालाखेतीविरुध्द धावा बोले । आर्थिक चलखेलका कारण आन्तरिक राजनीतिमा रामकृष्णलाई पछाडि पारिएकामा अहिले पनि काँग्रेसका पुराना नेताहरु थक्क थक्क मान्ने गर्छन् । त्यसयता निरन्तर संस्थापन पक्षका विरुध्द उभिएका रामकृष्ण यतिखेर बिरामी भइरहँदा पनि राजनीतिप्रतिको चासो,चिन्ता र भविष्यवारे सोचिरहेका छन् । भर्खरै भएको निर्वाचनमा अध्यक्ष मल्ललाई नै टिकट दिन र चुनाव जिताउनका लागि उनको पनि भूमिका रहेको छ ।

मृगौला फेरेर फेरि उदाउनेछु भन्ने

रामकृष्ण चेपाङ अहिले हप्तामा २ पटक डाइलासिस गराइरहेका छन् । खानपानमा ध्यान दिइएको छ । बाँकी दैनिकी दौडधूप रोकिएको छ र टेलिफोनमा राम्रै बहस गर्छन् । र, अब मृगौला ट्रान्सप्लान्टको तयारीमा छन् । सायद साउन महिनामा ट्रान्सप्लान्ट गरिनेछ । त्यसका लागि बहिनी रुपाले मृगौला दान गर्ने निश्चित भइसकेको छ ।

चेपाङ वस्तीमा हुर्किएका रामकृष्ण अब मृगौला ट्रान्सप्लान्ट गरी पुनः राजनीति र समाजसेवामा अघि बढ्ने बताउँछन् । ‘म बिस्तरामा सुतेको र ढलेको देखेर धेरै साथीहरु निराश हुनु भएको रहेछ, मैले तपाईहरुको आशिर्वाद पाएर फेरि पहिलाकै जस्तो गरी फिल्डमा आउनेछु ।’, रामकृष्णले भने ।

कमजोर आर्थिक अवस्थाका कारण ट्रान्सप्लान्ट र खानबस्नका लागि समस्या भोगिरहेका रामकृष्णको उपचारका लागि काँग्रेस कार्यकर्ता अशोक घलानको नेतृत्वमा आर्थिक संकलन कार्य पनि अघि बढिरहेको छ । तर, त्यो पर्याप्त छैन । रामकृष्णलाई काँग्रेस बागमती प्रदेश सभापति बानियाँले प्रदेश सरकारबाट उपचारको व्यवस्था मिलाउने आश्वासन दिएका छन् भने गाउँपालिका अध्यक्ष मल्लले पनि सहयोगको आश्वासन दिएका छन् । उनले मृगौला फेर्नका लागि स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगको अपेक्षा गरिरहेका छन् ।

टिप्पणीहरू