सरकारको एकतर्फी निर्णयपछि वायुसेवा संघ भड्कियो

सरकारको एकतर्फी निर्णयपछि वायुसेवा संघ भड्कियो

वायुसेवा सञ्चालक संघ, नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले गर्नुभएको निर्णय स्वेच्छादारी, अव्यवहारिक र तर्कहीन भएको आरोप लगाएको छ । अस्ति संसद् बैठकमा सुनाउनुभएको ‘प्रेसराइज्ड को हकमा वायुयानको अवधि १० वर्ष तथा ‘नन प्रेसराइज्डको हकमा १५ वर्षभन्दा पुराना हवाइजहाज भित्र्याउन बन्देज लगाउने’ निर्णय एकतर्फी भएको आरोप संघले लगाएको हो ।

विद्यमान प्रावधानमा प्रेसराइज्डको हकमा १५ र ननप्रेसराइज्डको हकमा २० वर्ष पुरानो जहाज भित्र्याउन सक्ने व्यवस्था छ । संघले आज प्रधानमन्त्रीको निजी सचिवालयलाई पत्र लेख्दै पर्यटनमन्त्री आलेले दिनुभएको अभिव्यक्तिको भत्र्सना गरेको हो । ‘एयरलायन्सजस्तो अति नै संवेदनशील विषयमा प्राविधिक तथा विज्ञसँग कुनै अन्तरक्रिया वा संवाद नै नगरी एकतर्फी रुपमा आएको अभिव्यक्तिप्रति यो संघ घोर भत्र्सना गर्दछ’, पत्रमा भनिएको छ ।

जहाजका हरेक पार्टपुर्जाको निश्चित अवधि हुने उल्लेख गर्दै त्यो अवधि पूरा भएपछि नयाँ पार्टपुर्जा स्वतः फेर्नुपर्ने संघको दाबी छ । नेपालका सबै वायुसेवा कम्पनीले जहाज मर्मतसम्भारमा अन्तर्राष्ट्रिय प्रावधान, विमान निर्माता कम्पनीको सशर्त नियमन र नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको मापदण्डभित्र रही सबै कार्य गरिरहेको संघले जनाएको छ ।

यसको चेकजाँचको निम्ति नियामक निकाय प्राधिकरणले नियमित गरेको र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) लगायत अन्य हवाइ सुरक्षा र हवाइ व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई अनुसरण तथा अक्षरशः पालना गरिरहेको संघको दाबी छ । जहाज दुर्घटनासँग विमानको उमेर दाँज्न नमिल्ने भन्दै हरेक दुर्घटनाको छानबिन प्रतिवेदन हेर्दा सबै प्रष्ट हुने संघको ठम्याइ छ ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/06/Letter-to-PM-1.pdf”]

टिप्पणीहरू