लोकतन्त्र र गणतन्त्रमा भिन्नतै छुट्टिन्न भने…

लोकतन्त्र र गणतन्त्रमा भिन्नतै छुट्टिन्न भने…

अमेरिकी लेखक रोबर्ट डाहलले ‘प्रजातन्त्र नागरिकले, नागरिकद्वारा नागरिकको लागि ल्याइने प्रणाली’ भनेका छन् । नेपालमा भने जनताले नेता, शक्तिशाली, ठूला वा घरानियाँको लागि ल्याइदिएको प्रणालीजस्तो बनाइएको कारण दलीय लोकतन्त्रप्रति नागरिक अपनत्वमा कमी आएको आभाष हुन थालेको छ । यसै कारण कतिपय सन्दर्भमा दलप्रति भन्दा स्वतन्त्रप्रति लगाव बढेको छ । लोकतन्त्रमा नागरिक अपनत्व बृद्धि हुन सकेन भने पञ्चायती व्यवस्था र गणतन्त्रमा तात्विक भिन्नता हुन्न ।

चुनावमा स्वतन्त्र उम्मेदवारी बढ्नु आफैँमा सकारात्मक भए पनि दलीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्य–मान्यतालाई भत्काएर स्वतन्त्र उम्मेदवारलाई जादुको मान्छे वा भारतीय फिल्म ‘नायक’ को हिरो अनिल कपुरजस्तो गरी पेश गरिने अनेक कुराले प्रश्न जन्माएको छ । काठमाडौँ महानगरपालिकामा कलाकार बालेनलाई दिईएको मतले यिनै–यस्तै कुरातर्फ संकेत गरिरहेका छन् । आखिर किन यस्तो भयो ? यसमा मूल धारका दलबाट के–कस्ता गल्ती कमजोरी भए ? राजनीतिक विश्लेषण खै !

शहरीकरण, सूचना तथा सञ्चार आदिको विकास र विस्तारसमेतको कारणले युवाका अनेकौं चाहना तथा आवश्यकता बृद्धि भएका छन्, हुँदै छन् । राज्य, दल र राजनीतिक नेतृत्वले बनाउने योजना, नीति र कार्यक्रमले युवालाई संबोधन गर्न नसक्दा भड्केको मनस्थितिको कारण पनि यस्ता खाले मत जाहेर हुने गरेका हुन् । शहरका मानिसमा व्यक्तिवाद र व्यक्तिगत स्वतन्त्रता बढेको संकेतको रूपमा पनि यसलाई लिन सकिन्छ ।

गणतन्त्र जनताको आफ्नो प्रणाली र व्यवस्था हो, हुनुपर्छ । लोकतान्त्रिक आचरण, संस्कृतिको विकास र समग्र प्रणाली सुदृढ बन्दै जाने कुराले नै प्रजातन्त्र जनताको आफ्नो बन्ने हो । व्यक्ति जति नै सक्षम, योग्य र क्रियाशील भएर पनि प्रणाली बन्न र स्थापित हुन सकेन भने त्यसले खास अर्थ राख्दैन । युरोप–अमेरिकामा शासन–सत्तामा को छ भन्नेले ठूलो अर्थ राख्दैन जति प्रणालीले राख्दछ ।

यसर्थ नेपालको लोकतन्त्रमा पनि स्वतन्त्रतर्फ लगाव बढ्ने कुरा आफैँमा सकारात्मक हुँदाहुँदै पनि लोकतान्त्रिक प्रणाली बलियो बन्न जनताको संगठन भएको दल बलियो र विश्वासिलो हुनै पर्छ । पिलरले ढलान घर बलियो भए जस्तै दलीय प्रणाली विश्वासपूर्ण र बलियो भए मात्र समग्र राजनीतिक प्रणालीमा सकारात्मक प्रभाव पर्ने हुन्छ ।

यसबीच नेपालका युवामा राजनीतिप्रति किन अलगाव बढेको हो ? यसको एउटा कारण विद्यार्थी राजनीति गतिविधि शून्य हुनु पनि हो । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नभएको दुई दशक भइसक्यो । यसरी विश्वविद्यालय र क्याम्पसमा स्ववियुको चुनाव र राजनीतिक–शैक्षिक गतिविधिमा कमी आउँदा विशेषगरी युवा–विद्यार्थीमा राजनीतिक–सामाजिक चेतना, अन्तरक्रिया तथा जागरण हुनै पाएका छैनन् ।

यसबीच, समावेशी, पारदर्शी र नागरिकमैत्री लोकतान्त्रिक गणतन्त्र तथा गणतान्त्रिक संविधान लागू भए पनि व्यवहारतः त्यसको सार्थक अनुभूति हुनेगरी मूल नेतृत्वबाट व्यवहार भएनन् । प्रमुख दलहरू (कांग्रेस–एमालेमा) आन्तरिक लोकतन्त्र तथा लोकतान्त्रिक संस्कृतिको साँचो अर्थमा अभ्यास हुनै सकेको देखिएन । यसको संकेत निर्वाचनमा हुने टिकट वितरणमा समेत देखिँदै आएको छ ।

पार्टी, गुट र आफ्ना मान्छे भए पुग्ने मापदण्ड लागू गर्दा नागरिकमा राजनीतिक प्रणालीप्रति वितृष्णा फैलने संकेत देखिएको छ । सक्षम, विषय विज्ञ, योग्य र जनतामा लोकप्रियलाई पाखा लगाएर स्वार्थ अनुकूलकालाई टिकट थोपर्ने गर्दा नागरिकमा असन्तुष्टी बढ्ने, स्वतन्त्र उम्मेदवारी संख्या बृद्धि हुने र दलकै मान्छेले उसकै दलमा भोट नहाल्ने प्रवृत्ति देखिएको छ । समृद्ध र सफल लोकतान्त्रिक गणतन्त्रको लागि यो खराब संकेत हो । कार्यक्षमता (मेरिटबेस) लाई पूरै पन्छ्याउँदा बहुसंख्यक सहरिया मतदातामा निराशा एवं आक्रोश उत्पन्न हुने गरेको छ ।

कलाकार बालेन साहले महानगरवासीको मत पाएर विजयी भएको कुरालाई अन्यथा भन्नु परेन । जनता र नागरिकले दिएको मत सम्मानयोग्य–स्वागतयोग्य कुरा हो । यद्यपि, लोकतन्त्र र दलीय प्रजातन्त्रमा बढी चिन्ता र चासोको विषयचाहिँ युवामा भएको चरम व्यक्तिवादी सोच तथा भीडतन्त्रप्रतिको समर्थन हो । अर्थात् भीडले जे भन्छ त्यो ठीक हो भन्ने खाले सोच र मनोविज्ञानबाट अघि बढ्दा राजनीतिक प्रणाली र प्रक्रिया कमजोर बन्नेतर्फ यसले संकेत गरिरहेको देखिन्छ ।

दल सलको मतलव छैन, गणतन्त्रप्रति रुचि छैन भन्नेखाले सोचले दलीय प्रणाली कमजोर बन्न पुग्दछ । त्यसमाथि दलीय प्रणालीमा एउटा व्यक्ति वा मानिस सक्षम, योग्य वा लोकप्रिय भएर पनि खासै केही परिवर्तन सम्भव हुँदैन । काठमाडौँको सन्दर्भमा हेर्दा पनि उपमेयर एउटा दलको, वडाध्यक्ष र सदस्यहरू अर्काे दलको हुँदा मेयरका कार्यक्रम आफँै लागू हुने होइनन्, हुन सक्दैनन् वा लागू गर्न कठिन हुन्छ । त्यति मात्र होइन कर्मचारी संगठनसमेत दलको आस्थाका आधारमा बनेका छन् । जसलाई रोक्न संविधानले पनि दिँदैन । अब दलीय प्रणालीको पर्वाह छैन भन्ने सोच राखियो भने त्यो मुलुक र समाजको लागि राम्रो संकेत होइन, हुँदैन ।

स्थानीय तहमा मेयर, उपमेयर, वडाध्यक्ष र वडासदस्य हुन्छन् । ती सहितको कार्यपालिका पालिका सभा हुन्छ । अर्काेतर्फ संघीय गणतन्त्रको मूल आधार र जनताको दैनिक काम पर्ने इकाइ वडा हो । बालेनले प्राप्त गरेका अधिकांश मत एकछापे छन् । अधिकांश मतदातामा आफ्नो वडाबाट कुन दल वा नेतृत्व चयन गर्ने भन्नेमा कुनै चासो र सरोकार नदेखिनु गम्भीर तथा खतरनाक संकेत हो । पानाभरिमा एउटा मेयरलाई एक छाप लगाएर कस्तो वडा र महानगरको परिकल्पना गर्न सकिएला ?

मेयरमा एकछापे मत आउनु, दलीय प्रजातन्त्रमा एउटा मेयर मात्र स्वतन्त्रबाट चल्न सक्ने सोचले मूलतः ठूला दलको संगठन, आधार र स्थानीय स्तरमा लोकतन्त्र र लोकतान्त्रिक अभ्यासमा कमी रहेको संकेत गर्छ । स्थानीय युवा, नागरिक तथा जनतामा लोकतन्त्र र दलीय प्रणालीप्रतिको प्रशिक्षण, साक्षात्कार तथा अन्तरक्रियाको समेत कमी भएको संकेतको रूपमा पनि यसलाई लिन सकिन्छ ।

यहाँ सर्वाधिक महत्वपूर्ण सवाल व्यक्ति कि प्रणाली भन्ने हो । व्यक्ति जति नै ठूलो, सक्षम र लोकप्रिय भए पनि मुलुकको संविधान, कानुन, विधि र प्रणालीभन्दा ठूलो तथा शक्तिशाली हुन सक्दैन । शहरका युवालाई प्रणाली भन्ने विषय महत्वपूर्ण कति हुन्छ भन्ने कुरा बुझाउन नसकिएको संकेत पनि बालेनको जितबाट देखिएको छ । प्रणालीबिनाको नेतृत्व भनेको फिल्मको कथा एकातिर, गीत अर्काेतिर र डान्स अर्काेतिर जस्तो हुन्छ । जसमा केही तालसुर मिल्दैन ।

टिप्पणीहरू