प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारी किन रक्षा मन्त्रालय र सेनाले गर्यो ? : भीम रावल

प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारी किन रक्षा मन्त्रालय र सेनाले गर्यो ? : भीम रावल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद डा.भीम रावलले नेपाल भ्रमणमा आएर फर्किएको अमेरिकी सेनाको इण्डो–प्यासिफिक कमाण्डरको भनाइप्रति आपत्ति जनाउनुभएको छ ।

१० सदस्यीय टोलीको नेतृत्व गर्दै चार दिने नेपाल भ्रमणपछि हिजो राति दोहा हुँदै आफ्नो कार्यस्थल फर्केका कमाण्डर चाल्र्स ए. फ्लिनले नेपाली सेनालाई भरपर्दो स्थल सेनाको दर्जा दिएकोप्रति रावलले आपत्ति जनाउनुभएको हो ।

अमेरिकी सेनाको एसिया–प्रशान्त क्षेत्र प्रमुख अर्थात् इण्डो–प्यासिफिक कमाण्डरले नेपाली सेनालाई भरपर्दो स्थलगत सेना भनेकोतर्फ आपत्ति जनाउँदै रावलले भन्नुभयो, ‘यस्तो भनाइले गम्भीर आंशका उत्पन्न गराएको छ ।’

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबोरमा संसदलाई जानकारी दिनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिलाई वर्तमान गठबन्धन सरकारका गतिविधिहरुले त्यो नीति र मान्यतालाई उल्लघंन गरेको आरोप पनि लगाउनुभयो ।

‘प्रधानमन्त्री अमेरिकाको भ्रमणमा जाने कुरा आएको छ । प्रधानमन्त्री भ्रमणमा जाने विषय संसदलाई जानकारी हुनुपर्छ की पर्दैन ?,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले अमेरिका भ्रमणबारे समितिलाई जानकारी गराउनुपर्छ ।’

उहाँले समितिमा प्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री पनि छलफलको निम्ति आउनु पर्ने माग गर्नुभयो । सांसद रावलले प्रधानमन्त्रीको भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले नगरेर रक्षा मन्त्रालय र सेनाले गर्नुले पनि गम्भीर भएकोतर्फ इंगित गर्नुभएको छ ।

यसैबीच समितिको बैठकले प्रधानमन्त्रीलाई छलफलको निम्ति बोलाउने निर्णय गरेको छ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे व्यापक कुरा उठेपछि यसको जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई समितिको बैठकमा बोलाउने निर्णय भएको समितिकी सभापति पवित्रा निरौला खरेलले जानकारी दिनुभएको छ ।

समितिको आजको बैठकले परराष्ट्र नीति कार्यान्वयनको विषयमा छलफल गर्न परराष्ट्र मन्त्री र प्रधानमन्त्रीलाई समितिमा बोलाउने निर्णय गरेको हो । ‘आगामी दिनमा परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई निमन्त्रणा गर्ने निधो गरेका छौं । समितिको बैठकमा बोलाएर समितिले व्यापक छलफल गर्ने छ,’ खरेलले भन्नुभयो ।

टिप्पणीहरू