प्रधानमन्त्रीसहित भएभरका ठूलाबडा गैरीधारामा

प्रधानमन्त्रीसहित भएभरका ठूलाबडा गैरीधारामा

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केहीबेर अघि गैरीधारास्थित एलिस ब्याङ्क्वेट पुग्नुभएको छ । पत्रकार ओम शर्मा प्रधान सम्पादक रहेको रातोपाटी अनलाइनको नवौँ वार्षिकोत्सवको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्रीसहित बहालवाला मन्त्री र नेताहरुको लावालस्कर लागेको हो ।

ओमको निम्तो मान्न कार्यक्रमका प्रमुख अतिथि रहनुभएका प्रधानमन्त्री देउवा अघिनै पुग्नुभएको हो । प्रधानमन्त्री पुगेको केहीबेरमा माओवादी अध्यक्ष प्रचण्ड पनि एलिस छिर्नुभएको बताइन्छ । आफ्ना पारिवारिक नातेदारसमेत रहेका ओमको निम्तो स्वीकार्दै अर्थमन्त्री जनार्दन शर्मा पनि कार्यक्रमस्थल छिर्नुभएको हो ।

त्यसैगरी, पूर्वप्रधानमन्त्री तथा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, पूर्वमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो, पूर्वमन्त्री तथा नेकमा एमालेका सचिव गोकर्ण विष्ट, माओवादी नेता वर्षमान पुन, पूर्वसभामुख तथा माओवादी नेता ओनसरी घर्ति पनि कार्यक्रममा जानुभएको हो । उद्योगपति शेखर गोल्छालगायत विभिन्न क्षेत्रका सयौं व्यक्ति कार्यक्रममा छन् ।

केही दिनअघि पत्रकार ऋषि धमलाको प्राइम टाइम टेलिभिजनको वार्षिकोत्सव कार्यक्रममा पनि यसैगरी ठूलाबडाको लर्को लागेको थियो । भाइको निधनको शोकमा भएकाले प्रधानमन्त्री देउवा अनुपस्थित रहनुभएको याक एण्ड यति होटलको उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनलाई प्रमुख अतिथिका रुपमा निम्त्याइएको थियो ।

ऋषिको कार्यक्रममा प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सभामुख अग्निप्रसाद सापकोटा, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुभासचन्द्र नेम्वाङलगायत दुई सय बढीको उपस्थिति थियो ।

टिप्पणीहरू