सर्वोच्चदेखि आलोकनगरसम्म बालुवाटार र सिंहदरबारको चर्चा

सर्वोच्चदेखि आलोकनगरसम्म बालुवाटार र सिंहदरबारको चर्चा

हिजो बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा सम्बन्धमा सर्वोच्च अदालतमा पेसी थियो । सरकारी जग्गा व्यक्तिको नाममा पास गराएर हड्पेको प्रकरणमा मुछिँदै थुनामा रहेका आरोपी शोभाकान्त ढकालविरुद्धको मुद्दा संयुक्त इजलासमा परेको हो ।

न्यायाधीशहरू सपना मल्ल प्रधान, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको पूर्ण इजलासमा तोकिएको उक्त मुद्दालाई ‘हेर्न नभ्याइने’ सूचीमा राखियो ।

यता हिजै बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनमा संलग्न दलका शीर्ष नेताहरुबीच भेटवार्ता भएको थियो । भेटवार्ताको निम्ति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पौने ४ बजे त्यहाँ पुग्नुभएको हो ।

उहाँहरुबीच ठ्याक्कै एक घण्टा भेटवार्ता भएको थियो । भेटपछि अध्यक्षद्वय दाहाल र नेपाल साँझ ५ बजे त्यहाँबाट बाहिरिनुभएको हो ।

हिजै नेकपा (एकीकृत समाजवादी) ले सरकारमा रहेका आफ्ना मन्त्रीहरू फिर्ता बोलाएर नयाँ पठाउने निर्णय अस्वीकार गर्ने अधिकार कसैलाई पनि नभएको बताएको छ । एकीकृत समाजवादीले पार्टीको निर्णयबमोजिमको सिफारिस कार्यान्वयन नभए सत्तारुढ गठबन्धनमा बस्नुको औचित्य नभएको ठहर गरेको हो ।

टिप्पणीहरू