उल्टो हिँडेर स्वर्ग पुगिन्न कमरेड !

उल्टो हिँडेर स्वर्ग पुगिन्न कमरेड !

कमरेड घनश्याम भुसाल एमालेका पूर्व उपमहासचिव, हालका स्थायी समिति सदस्य र देशले चिनेको नेता हुन् । उनले टेलिभिजन अन्तर्वार्तामार्फत आफ्ना कार्यकारी अध्यक्षको राजीनामा मागेका थिए । स्पष्ट कारण देखाएर यदि कसैको पनि राजीनामा मागिन्छ भने त्यो लोकतान्त्रिक कुरा नै हो । लोकतान्त्रिक पार्टीभित्र आलोचना, आत्मालोचना, पदबाट राजीनामा, स्पष्टीकरण माग्ने स्वतन्त्रता सबैलाई हुनुपर्छ ।

राजनीतिक नेतृत्वले यदि आफ्नो घोषित एजेण्डा लागु गर्न सकेन, अथवा भनौं हासिल गर्न चाहेको परिणाम प्राप्त गर्न असफल भयो भने राजीनामा दिने चलन सामान्यतया जताततै छ । पहिलो संविधानसभा सदस्यको चुनावमा पार्टीले नराम्रो पराजय ब्यहोरेपछि कमरेड माधवकुमार नेपालले कसैले नमागिकनै राजीनामा दिएको उदाहरण हामीसंग छ भने हालका अध्यक्षले पनि आफ्नै दलको नेता झलनाथ खनाल प्रधानमन्त्री भएको बखत उहाँको राजीनामा मागेकै हो । त्यसकारण राजीनामा माग्नु ठूलो कुरै होइन ।

यदि कमरेड घनश्याम भुसालको मूल्यांकनमा अध्यक्ष कमरेड आफ्नो एजेण्डामा पूरापूर असफल हुनुभएको हो भन्ने हो भने स्थायी समितिको सिनियर मोष्ट सदस्यको नाताले राजीनामा माग्न सक्नुहुन्छ । तर यो विषय उठाएर कमरेड भुसालले भयंकर ठूलो अपराध गरेजस्तो हल्ला गर्ने र उनलाई बिजातीय भएको आरोप लगाउने काम भएको छ ।

राजनीतिमा आफ्नो सहयोद्धा कमरेडलाई यो हदसम्मको ब्यक्तिगत तहमा तल खसेर अराजनीतिक, अमर्यादित आरोप लगाउन मिल्ने हो त उसोभए ? यो राजीनामा मागेको विषयलाई खास गरेर अध्यक्ष कमरेडले एकदमै स्वाभाविक रूपमा लिनुपथ्र्याे र उठेका प्रश्नहरू बारे आफू रहेको कमिटीभित्र तर्कसंगत जवाफ दिएर विषयलाई टुंगोमा पु¥याउने काम गर्नुपथ्र्याे ।

एमाले यो चुनावमा हारेको सत्य हो । हारको कारण जेसुकै भनिएता पनि (सार्वजनिक खपतका लागि), मूलकारण भनेको पहिलो, नेकपा (नेकपा) को विभाजन नै हो र दोस्रो कारण भनेको फेरि पनि नेकपा (एमाले)को विभाजन हो । अन्य कारणहरू पनि भेटिन्छन् खोजी गर्दा तर ती मुख्य होइनन् । यो कुरालाई नमान्ने हो र कमरेड घनश्यामलाई साइबेरियातिर पठाउने काममा अल्झिने हो भने यसले हारको मूल कारण पत्ता लाग्न सक्दैन ।

हारको मूल कारण पत्ता नलागेपछि पार्टी यथास्थितिमै रहन बाध्य हुन्छ । नेकपा (नेकपा) फुटाउने काम त ल अदालतले गरिदिएछ रे तर एमाले किन फुट्न गयो त ? यसको जवाफमा नै एमालेको आजको हारको कारण अन्तरनिहित छ । मेरो बिचारमा एमाले बिभाजन र हारको पनि कारण नेतामा पलाएको एकाधिकारवादी सोंच, दम्भ, स्वार्थ, लगातारको अलोकतान्त्रिक विधि नै हो ।

एमाले कुनै राजनीतिक, बैचारिक, सैद्धान्तिक र संगठनात्मक कारणहरूले फुटेको होइन । यो चुनावमा कस्ताले कसरी टिकट पाए र चुनावमा कसरी पराजित भए भन्ने कुराको एक नम्बरको उदाहरण त कपिलवस्तु र वीरगञ्ज नगरपालिका नै छन्, अरु खोज्नै पर्दैन । खोज्ने हो भने काठमाडौँतिर पनि भेटिन्छन् उदाहरण ।

यस प्रकारका उम्मेदवार रातारात तयार हुने र विपक्षीसँग प्रतिस्पर्धामा समेत नआउनेगरी हार्ने कुराको जिम्मेवारी कसले लिने ? सामूहिक निर्णय गरेर सही कार्यकर्तालाई उम्मेदवार बनाउन सकेको भए संभवतः यो किसिमको हार नहुन सक्ने ठूलो सम्भावना थियो । लोकतान्त्रिक भने पनि, जनवादी भने पनि, कुनै एउटा विधिको पालना गरिएको भए राजीनामा माग्ने परिस्थिति नै उत्पन्न हुने थिएन ।

अहिले त हारको मूल कारण खोज्नेतिर भन्दा पनि अपजसबाट जोगिन बहाना खोज्नेतिर लागेको देखिन्छ । हारको रिस आलोचना गर्नेमाथि पोखेर बच्ने उपाय टिकाउ हुन्न । यसखाले कामले पार्टीलाई थप कमजोर मात्रै बनाउँछ । यसरी हिँडेर स्वर्ग होइन कि नर्क पुगिन्छ ।

अन्त्यमा, हामीले बनाउने भनेको एमाले कस्तो एमाले हो ? अध्यक्षको आलोचना गर्दा साइबेरिया÷कालापानीतिर पठाइने हो कि भन्ने डरले मुख थुनेर बस्नुपर्ने पार्टी बनाउन खोजेको हो ?

टिप्पणीहरू