ओलीलाई उल्टो नहिड्न रावलको सुझाव

ओलीलाई उल्टो नहिड्न रावलको सुझाव

नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि कारवाहीको प्रक्रिया थालिएकोप्रति प्रतिक्रिया दिँदै उल्टो बाटो नहिंड्न नेतृत्वलाई सचेत गराउनुभएको छ ।

आयोगले नेता भुसाललाई कारवाहीका लागि पार्टीमा सिफारिस गरेपछि उत्पन्न विवादतर्फ लक्षित गर्दै रावलको यस्तो प्रतिक्रिया आएको हो । उहाँले एकतावद्ध भएर पार्टीलाई अघि बढाउन पनि सुझाउनु भएको छ । आज बिहान ट्विट गर्दै रावलले पार्टीमा भएका कमिकमजोरिको संस्थागतरुपमा गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिनुभएको हो ।

‘देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता, स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता हो,’ रावल भन्नुहुन्छ, ‘यसका लागि आगामी चुनाव जित्नुपर्छ । कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ । यसो नगरी उल्टो बाटो हिँड्दा झन् पराजय हुन सक्छ ।’

नेता भुसालले स्थानीय तह निर्वाचनमा एमाले पराजित हुनुको नैतिक जिम्मेवारी अध्यक्ष ओलीले लिनुपर्ने बताउनुभएको थियो । उहाँले पार्टी अध्यक्ष ओलीको ‘म’वादका कारण चुनावमा पराजय व्यहोर्नुपरेको पनि भन्नुभएको थियो । भुसालको यो अभिव्यक्तिपछि अध्यक्ष ओलीको आलोचना गरेको भन्दै अनुशासन आयोगले कारबाही सिफारिस गरेको हो ।

टिप्पणीहरू